१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर : रोशन सापकोटा/रासस
२०७७ पौष २६ आइतबार ०६:०९:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनाव नगरे ओलीलाई नेपालमै बस्न नदिने अवस्था पनि आउन सक्छ : देउवा

Read Time : > 5 मिनेट
२०७७ पौष २६ आइतबार ०६:०९:००

संसद् विघटनविरुद्ध कांग्रेसको ३३० स्थानमा विरोध 

कांग्रेसले शनिबार देशभरका तीन सय ३० प्रादेशिक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा विघटनको विरोध गरेको छ । ७७ वटै जिल्लाका प्रादेशिक निर्वाचन क्षेत्रका मुकामबाट कांग्रेसले शक्ति प्रदर्शनसहित प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमका विरुद्ध शक्ति प्रदर्शन र विरोध सभा गरेको हो ।

कांग्रेसले यसअघि १३ पुसमा एक सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन र विरोध सभा गरेको थियो । १९ पुसमा बसेको केन्द्रीय समिति बैठकले तल्ला तहमा समेत विरोधका कार्यक्रम गर्नुपर्ने ठहर गर्दै दोस्रो चरणमा प्रादेशिक निर्वाचन क्षेत्र, पालिकास्तर र वडास्तरमा छुट्टाछुट्टै विरोधका कार्यक्रम बनाएको थियो । 

प्रादेशिक क्षेत्रीय विरोध सभाहरूमा भने थोरै मात्र केन्द्रीय नेता गएका छन् । अधिकांश सभामा जिल्ला र स्थानीय नेताले नै सम्बोधन गरेका छन् । शनिबारको विरोधका क्रममा नेताहरूले सरकारको आलोचनासँगै आमनिर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेताहरूले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधसँगै कोभिड– १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासन, व्याप्त भ्रष्टाचारको विरुद्धमा चर्को बोलेका छन् । 

काठमाडौं क्षेत्र नं. ५ (ख) ले बुढानीलकण्ठमा गरेको विरोध सभामा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले चुनाव नगराए उनलाई नेपालमै बस्न नदिने अवस्था आउने बताए । ‘मलाई विश्वास छ, ओलीले चुनाव गराउँछन्, गराएनन् भने सबै जनता मिलेर ओलीलाई नेपालमै बस्न नदिने अवस्था पनि आउन सक्छ,’ उनले भने, ‘चुनाव भयो भने अरू पार्टी र साथी पनि चुनावमा आउनुहुन्छ ।’

देउवाले सर्वोच्च अदालतभन्दा पनि ठूलो अदालत जनता भएको भन्दै जनतामाझ जाने मौका पाए कांग्रेस जान तयार रहेको बताए । देउवाले कार्यकर्तालाई जनतामाझ जान निर्देशन दिए । ‘प्रधानमन्त्रीको पार्टी चुनावको प्रचारमा जाने, हामी बसिरहने कुरा हुँदैन,’ उनले भने, ‘त्यसैले जनतामा जानुस् अहिले नभए कुनै न कुनै वेला चुनाव त हुन्छ नै । ५–६ महिनामा चुनाव हुन्छ, नभए पनि दुई वर्ष पछाडि चुनाव हुन्छ, कांग्रेस चुनावमा जाने पार्टी हो । त्यसकारण चुनावमा जान सधैँ तयार हुनुपर्छ ।’ 

जुलुसको आधारमा सर्वोच्च अदालतले निर्णय गर्न नहुने बताए । ‘अदालतले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ, अदालतलाई प्रभावित गर्नुहुँदैन, जुलुसको भरमा अदालतले निर्णय गर्नुुहुँदैन, अदालतले विवेक पु¥याउने हो,’ देउवाले भने, ‘हामीले संवैधानिक मूल्य र मान्यतालाई पालना गर्ने हो, यही गर, ऊ गर भन्न मिल्दैन, संसद् पुनस्र्थापना भएन भने चुनाव हुने अवस्था आउँछ, चुनाव गराउन दबाब दिनुपर्छ, हामी चुनाव लड्नका लागि तयार हुनुपर्छ ।’ 

देउवाले अदालतमा विचाराधीन मुद्दाका विषयमा बोल्न नहुने दोहो¥याए । ‘संविधानमा के लेखिएको छ, के भन्छ ? भन्ने कुरा अदालतले भन्ने हो । तर, हामीले ओलीको प्रतिनिधिसभा विघटनको कदम प्रजातन्त्रविरुद्धको कदम हो, संविधानविरुद्धको कदम हो भनेका छौँ,’ देउवाले भने । देउवाले कांग्रेस अदालतको निर्णय मान्छ भनेर बोल्दै गर्दा नजिकैबाट कार्यकर्ताले प्रतिकार गरे । देउवा अकमकिए । र केहीबेर रोकिए पनि । 

काठमाडौं क्षेत्र नं. १ (क) ले गरेको विरोध सभामा नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताए । उनले ओलीले आफूले हार्ने निर्वाचन कुनै हालतमा नगराउने बताए । ‘दुईतिहाइ मत पाएको प्रधानमन्त्री भन्ने, तर, संसद्मा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ ?’ सिंहले प्रश्न गर्दै भने, ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ ? त्यसैले, संसद् विघटनको असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन ।’ 

उनले करिब दुईतिहाइ मत प्राप्त गरेको नेकपाको सरकारले देश र जनताले आशा गरेको बाटोमा नहिँडेर देशलाई भड्खालोमा हालेको बताए । ‘०४७ सालको संविधानअनुसार बनेका सरकार अस्थिर बनेपछि प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार नदिइएको हो, प्रधानमन्त्रीले संविधानको बाटो हिँडेको भए अस्थिरताको भुमरीमा देशको राजनीति फस्दैनथ्यो,’ उनले भने । नेता सिंहले प्रधानमन्त्री ओली पार्टीभित्रको कलह व्यवस्थापन गर्न नसक्दा त्यसको रिस संसद्मा पोखेको आरोप लगाए । 

नुवाकोट क्षेत्र नं. १ (ख) को विरोध सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले नेकपाको आन्तरिक लुछाचुँडीका कारण संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताए । ‘प्रचण्ड र माधव नेपाललाई सत्ता नभई नहुने, ओलीजीले कुनै हालतमा नछाड्ने । कोभिड महामारीका वेला समेत उहाँहरूको ध्यान जनताको उपचारमा भन्दा कुर्सीको झगडामा बित्यो,’ नेता महतले भने, ‘उहाँहरूको सत्ता र शक्तिको लुछाचुँडीका कारण संविधान र लोकतन्त्रमाथि ‘कु’ भएको छ, यो सर्वोच्च अदालतले सच्याउनुपर्छ ।’ 

महतले ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा लिप्त बनेको आरोप लगाए । ‘अहिले भ्रष्टाचार यति अकासिएको छ कि लाख–करोडको कुरै छैन, अर्बको मात्रै हिसाबकिताब हुन्छ, यतिसम्म कि महामारीका वेला औषधि र उपकरण ल्याउँदासमेत उहाँहरूले कमिसन नखाई काम गर्न सक्नुभएन,’ महतले भने ।

उनले कम्युनिस्टसँग जनता वाक्कदिक्क भएको बताए । ‘जनता पछुताइरहेका छन्, अहिले संविधान र लोकतन्त्रमाथि नै प्रहार हुन थालेपछि हामीले कांग्रेसलाई नै निर्वाचित गर्नुपर्ने रहेछ भन्ने अनुभूति जनताले गरेका छन्,’ उनले भने, ‘हामी जनताको भरोसालाई तोड्दैनौँ, सर्वोच्च अदालतले के निर्णय गर्छ ? त्यसको आधारमा हामीले आगामी बाटो तयार गर्नुपर्छ ।’

उनले सर्वोच्चको फैसला कांग्रेसले स्वीकार गर्ने बताए । ‘सर्वोच्चले संसद् पुनस्र्थापना गरेन भने हामी निर्वाचनमा केन्द्रित हुन्छौँ । त्यसपछि हामी समयमा चुनाव गर्नका लागि सरकारलाई दबाब दिन्छौँ । होइन, संसद् पुनस्र्थापना भयो भने पनि हामी संविधानलाई मान्ने पार्टी, हामी स्वीकार गर्छौं । आगामी दुई वर्ष फेरि हामीले कम्युनिस्टकै शासन झेल्नुपर्ने हुन्छ,’ डा. महतले भने ।

काठमाडौं क्षेत्र नं. ८ (क) ले गरेको विरोध सभामा नवीन्द्रराज जोशीले ओली सरकारले संविधान कुल्चिएर लोकतन्त्रमाथि प्रहार गरेको बताए । ‘यो संविधान र लोकतन्त्र यसै प्राप्त भएको होइन, कांग्रेसले ७० वर्षसम्म लडेर ल्याएको लोकतन्त्रलाई क्षणभरमै तहसनहस पार्ने दुष्प्रयास भएको छ,’ उनले भने, ‘यो असंवैधानिक छ, अलोकतान्त्रिक र प्रतिगमनकारी छ ।’ 

नेता जोशीले फेरि एकपटक लोकतन्त्रवादीहरू उठ्ने वेला भएको बताए । ‘फेरि एकपटक लोकतन्त्रवादीहरू उठ्ने वेला भएको छ, संविधानको रक्षाका निमित्त काठमाडौंका जनता फेरि एकपटक सडकमा निस्किनुपर्ने भएको छ,’ जोशीले भने । 

नेता जोशीले कम्युनिस्टहरू सत्तामा बसेर जनताको अधिकार कुण्ठित गर्न उद्यत देखिएका आरोप लगाए । ‘कम्युनिस्टहरू कसरी अवसर लिएर जनताको अधिकार कुण्ठित गर्ने भन्नेमै केन्द्रित छन्, कांग्रेस कसरी जनतालाई अधिकार सम्पन्न बनाऔँ ? भनेर लड्दै आएको छ,’ उनले भने । 

मोरङ क्षेत्र नं. ४ (क) ले गरेको सभामा केन्द्रीय सदस्य गुरुराज घिमिरेले अदालतले सरकारको असंवैधानिक कदम नसच्याए जनताको अदालतमा जाने बताएका छन् । ‘संविधानमा प्रधानमन्त्रीले यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार छैन, यो कदम असंवैधानिक हो, अलोकतान्त्रिक र स्वेच्छाचारी हो,’ नेता घिमिरेले भने । उनले सरकारको गलत कदमलाई सर्वोच्च अदालतले सच्याउने आशा व्यक्त गरे । ‘सरकारको कदम अदालतले सच्याउनुपर्छ, संविधानको मर्मअनुसार मौजुदा व्यवस्थालाई सम्मान गर्दै अदालतले निर्णय गर्छ भन्ने विश्वास छ, यदि अदालतले संसद् पुनस्र्थापना गरेन भने हामी जनताको अदालतमा जान पनि तयार छौँ, त्यो भनेको चुनाव हो,’ नेता घिमिरेले भने । 

तनहुँमा भएको कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधिसभा विघटन गर्ने कदम सच्याउन माग गरे । ‘जबजब देशलाई संकट पर्छ, कांग्रेसको भूमिका आवश्यक हुन्छ, अहिले त्यस्तै अवस्था आएको छ र कांग्रेस सडकमा निस्किएको छ,’ नेता पौडेलले भने, ‘ओलीको यो कदम असंवैधानिक छ, अलोकतान्त्रिक छ, यो सच्चिनुपर्छ ।’ 

उनले कोरोना महामारीका वेला समेत सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । ‘कम्युनिस्टहरू राज्य कब्जा गर्ने आफ्ना कार्यकर्ता भर्ती गर्ने, दलाललाई संरक्षण गर्ने, बिचौलियालाई संरक्षण गर्ने, तर किसानलाई समयमा मल उपलब्ध नगराउने गरिरहेका छन्,’ उनले प्रश्न गरे, ‘दुईतिहाइको सरकारलाई उखु किसानको समस्या समाधान गर्न कसले रोक्यो ?’ 


संविधान पढ्न प्रधानमन्त्रीलाई शर्मा र थापाको सुझाब 

काठमाडौं क्षेत्र नं. ६ ले प्रदर्शनीमार्गमा गरेको विरोध सभामा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई राम्ररी संविधान पढ्न सुझाबसहित संविधान उपहार पठाए । ‘आफैँले नपढी उहाँले धनगढी पुगेर संविधान पढ्न सुझाब दिनुभयो, म उहाँलाई चाहिँ राम्ररी संविधान पढ्न आग्रह गर्छु, त्यसैले यो संविधान बालुवाटारलाई उपहारस्वरूप पठाउँद छु,’ उनले भने । प्रवक्ता शर्माले संविधानसँगै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त, भोकै सडकमा मृत्युवरण गरेका सूर्यबहादुर तामाङ र उपचार नपाएर मृत्युवरण गरेका राजु सदाको तस्बिरसमेत राखेर प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालमार्फत प्रधानमन्त्रीलाई उपहार पठाए । 

कार्यक्रममा प्रवक्ता शर्माले नेपाली कम्युनिस्टहरूमा भ्रम मात्रै भएको टिप्पणी गरे र अमेरिकी राष्ट्रपति ट्रम्प र ओलीका समानता केलाए । ‘ट्रम्प बिदा भए, अब ओलीको पालो आएको छ । पल्लो कुनामा ट्रम्पवादले बिदाइ लिएको छ र वल्लो कुनामा भ्रमवादको अन्त्यको सुरुवात भएको छ,’ उनले भने ।

प्रवक्ता शर्माले नेकपा, प्रधानमन्त्री ओली र नेकपा नेताहरूलाई लक्षित गर्दै दर्जनौँ प्रश्न गरे । ‘सूर्यबहादुर तामाङको भोक नचिन्ने ? किन मरे अस्पतालमा छट्पटाउँदै राजु सदा ? निर्मला पन्तको बलात्कारी खोइ ? धनमाया गुरुङको मृत्यु किन भयो ?’ उनले प्रश्न गर्दै भने, ‘अनि यो सर्वहाराको सत्ता कसरी भयो ? अहिले संसद् मात्रै भंग भएको छैन, नेकपाले हिजो देखाएका सबै सपनाहरू भंग भएका छन् । र लोकतन्त्र बलियो बन्छ भन्ने सपना भत्किएको छ ।’

उनले नेकपाभित्रको झगडाले मुलुकको सपनामा आगो लागेको बताए । ‘कमरेडहरूको घरझगडाले मुलुकको सपनामा आगो लगाउने ? मुलुकको प्रक्रियालाई अवरुद्ध गर्ने ? सिंहदरबारलाई भत्काइदिने ? के यही हो स्थिरता ?’ उनले भने । 

काठमाडौं क्षेत्र नं. ४ ले कपनमा गरेको विरोध सभामा नेता गगन थापाले प्रधानमन्त्री ओलीलाई सँगै बसेर संविधान पढ्न प्रस्ताव गरे । ‘प्रधानमन्त्री ओलीले हिजो धनगढीमा गएर संविधान पढ भन्नुभएको रहेछ । कमरेड ओली, आउनुस् ! सँगै बसेर संविधान पढौँ । तपाईं मैदान छाडेर भागेर लुकेर बस्नुभएका सुुवास नेम्वाङलाई लिएर आउनुस्, म संविधान ढोगेर जारी गर्ने पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई लिएर आउँछु, खुलामञ्चमा सँगै बसेर संविधान पढौँ,’ नेता थापाले भने । 

उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्रै नभएर चरम गैरजिम्मेवारीपूर्ण भएको टिप्पणी गरे । ‘संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ भनेर अदालतले फैसला गर्‍यो भने प्रधानमन्त्रीज्यू, अदालत पनि विघटन गरिदिए हुन्छ,’ उनले भने, ‘किनभने संविधानमा नलेखिएको कुरा गर्न पाइन्छ भनेपछि त त्यो पनि पाइन्छ ।’