खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले पार्टीभित्रबाट प्रधानमन्त्रीमाथि कु गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाट प्रधानमन्त्रीलाई हटाएर कु गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन् ।
देशलाई कुको बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोज्नु भएकाले अब चुनावको विकल्प नभएको उनले बताए ।
मन्त्री थापाले आफू मन्त्री पद पाउनकै लागि पुष्पकमल दाहाल प्रचण्डलाई धोका नदिएको समेत बताए ।
उनले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको समेत बताए । उनले जुन विश्वासका साथ पार्टी एकता भएको थियो त्यस विश्वासलाई प्रचण्डले धोका दिएको बताए ।
प्रतिनिधिसभा विघटनसम्बन्धी कदम कानुनीभन्दा पनि राजनीतिक निर्णय भएको उनको भनाइ छ ।
राजनीतिक निर्णय गर्ने अधिकार लोकतन्त्रमा प्रधानमन्त्रीलाई हुने दाबीसमेत उनले गरे ।