मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडौं
२०७७ पौष २५ शनिबार ०७:३२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

अटोमोबाइल हब बन्दै नक्साल

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ पौष २५ शनिबार ०७:३२:००

दरबारमार्गबाट नागपोखरी हुँदै नक्साल नारायणचौर प्रवेश गर्नेबित्तिकै डुकाटी र बिएमडब्लूको सोरुम देख्न सकिन्छ । अलि अगाडिपट्टि फेयर अटो प्रालिको टेर्रा मोटर्सको सोरुम छ । पश्चिमतर्फ नारायणचौर मोडमा पुग्दा चिनियाँ इलेक्ट्रिक दुईपांग्रे टेल्जी र जिनियसको सोरुममा आँखैअगाडि ठोकिन आइपुग्छ । छेवैमा सिजी होल्डिङ्सले मारुती सुजुकी र एमएडब्लू इन्टप्र्राइजेजले जिपको सोरुम खालेको छ । केही अगाडि बढेर नक्साल चोक पुग्दा केटिएम डुक, हस्कभर्ना, एमजी मोटर्स, बेनेली, टिभिएस र कोरियन साङयोङ गाडीको सोरुम छ । केटिएम र हस्कभर्ना बाइक गोल्छा समूहले बिक्री गर्दै आइरहेको छ भने टिभिएस बाइक शंकर समूहले बिक्री गर्छ । आइएमएस ग्रुपले साङयोङ गाडी बिक्री गर्दै आइरहेको छ । नक्साल चोकबाट गैरीधारातिर लाग्दा बायाँतर्फ रेनोल्ट, कोबेल्को हेभी भेहिकल्स, प्रोटोन गाडीको सोरुम देखिन्छ । गैरीधारा चोकमा आइसर र क्याट ब्रान्डको हेभी भेहिकलको सोरुम छ । आइसर गाडीको नेपाली विक्रेता बतास अर्गनाइजेसनको कर्पोरेट अफिस पनि यहीँ छ । नारायणहिटी दरबारको उत्तरतर्फ किया, इसुजु, निशान र डाट्सन गाडीका भव्य सोरुम छन् । 

नक्सालको उत्तरतर्फ रहेको टंगालमा हुन्डाई गाडीको सोरुम छ । लक्ष्मणबाबु भवनमा महिन्द्रा कमर्सियल गाडी, भेस्पा, अप्रिलिया र रोयल इन्फिल्ड स्कुटर तथा बाइकको सोरुम छ । यी चारवटै ब्रान्डहरू एमभी दुगड ग्रुपले बिक्री गर्दै आइरहेको छ । लक्ष्मणबाबु भवनको ठ्याक्कैअगाडि पियुआरई ब्रान्डको इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ । त्यहाँबाट नक्साल भगवती मन्दिरतर्फ लाग्दा बायाँतर्फ महिन्द्रा गाडी र दायाँतर्फ मारुती सुजुकीको सोरुम खुलेका छन् । अग्नि समूहले महिन्द्राको सोरुम नक्साल क्षेत्रमा खोलेको हो ।

व्यावसायिक घराना शंकर समूहको जगदम्बा मोटर्सले २९ पुसमा प्रोटोन गाडी नेपाली बजारमा सार्वजनिक गर्दै छ । प्रोटोनका लागि कम्पनीले नक्साल गैरीधारामा करिब दुई रोपनी क्षेत्रफलमा एक्सक्लुसिभ सोरुम बनाएको छ । जापानिज ब्रान्ड माज्दा गाडीको सोरुम पनि नक्सालमा निर्माण भइरहेको छ । माज्दा गाडीको नेपालका लागि आधिकारिक विक्रेताको जिम्मेवारी पाएपछि पारामाउन्ट मोटर्सले सोरुम खोल्न नक्साल नै रोजेको छ । 

एमएडब्लू लाइफले अमेरिकन ब्रान्ड जिपको एक्सक्लुसिभ सोरुम पनि नक्साल नारायणचौरमा खोलेको छ । यस्तै, कोभिड महामारीकै बीचमा चिनियाँ इलेक्ट्रिक स्कुटर टेल्जी र जिनियस बाइकको सोरुम पनि नारायणचौरमा खुल्यो । उक्त सोरुम चर्चित हस्तीहरू कुलमान घिसिङ र महावीर पुनले संयुक्त रूपमा उद्घाटन गरेका थिए । दुईपांग्रेका क्रेजी युवाहरू विश्वका बहुचर्चित मोटरसाइकल हस्कभर्ना, बिएमडब्लू र डुकाटी खरिद गर्न पनि नक्साल नै धाउनुपर्छ । 

पछिल्लो समय नक्सालले अटो हबका रूपमा आफ्नो परिचय बनाउँदै छ । नेपालमा भित्रिएका पुराना स्थापित ब्रान्डहरू मात्र होइन, नयाँ ब्रान्डले पनि सोरुम राख्न नक्साल नारायणचौर र गैरीधारा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न थालेका छन् । एमभी दुगड ग्रुपका प्रबन्ध निर्देशक विवेक दुगड भन्छन्, ‘नक्साल सहरको सेन्टरमा पर्नुका साथै खुलापन हुनाले पनि अटो व्यवसायीको रोजाइमा पर्न थालेको हो ।’ अमेरिकन चर्चित मोटरसाइकल ब्रान्ड हार्ले डेभिड्सनको सोरुम गैरीधारामा छ । 

यसअघि अटोमोबाइल हबका रूपमा टेकु, त्रिपुरेश्वर र थापाथली मात्र चिनिन्थ्यो । यी क्षेत्रहरूमा भिडभाड बढ्दै गएपछि नक्साल र गैरीधाराआसपासको क्षेत्र अटो हबका रूपमा उदाउन थालेको व्यवसायीहरू बताउँछन् । नक्साल र आसपासको क्षेत्र गाडी विक्रेताहरूको रोजाइमा पर्न थालेको धेरै समय भएको छैन । इटालिन ब्रान्ड डुकाटी र बिएमडब्लू बाइक विक्रेता सौरभ राणाका अनुसार भूकम्पपछि नक्साल क्षेत्रमा बाइक र गाडीका सोरुम खुल्ने क्रम बढेको हो । उनले सन् २०११ मा नक्साल नारायणचौर अगाडि डुकाटी बाइकको सोरुम खोलेका थिए । त्यसपछि नारायणचौरमै बेनेली र बिएमडब्लूको सोरुम पनि सञ्चालनमा ल्याइसकेका छन् उनी । उनी भन्छन्, ‘टेकु र थापाथलीपछि नक्साल क्षेत्र अटोको हबका रूपमा उदाइरहेको छ ।’

आधा दर्जन बाटोको मिलनबिन्दु नक्साल

नक्साल क्षेत्र दरबारमार्गबाट नजिकै पर्छ । पैदल हिँडेरै दरबारमार्ग–नक्साल आवतजावत गर्न सकिन्छ । भगवती बहाल, जयनेपाल हल, बालुवाटार, टंगाल, गैरीधारालगायत आधा दर्जन बाटोले नक्साल जोडिन्छ । नक्सालमा ‘इन्ट्री र एक्जिट’ पनि राम्रो रहेको स्थानीय बासिन्दा शंकर रिमाल बताउँछन् । नक्साल क्षेत्रमा अझै भिडभाड बढिसकेको छैन, खुलापन छ । नारायणचौरलाई पनि व्यवस्थित गरेर आकर्षक पार्कमा विकास गरिएको छ । त्यस क्षेत्रमा पार्किङको पनि राम्रो सुविधा छ । गाडी र मान्छेको अनावश्यक भिडभाड पनि छैन । खानका लागि राम्रा रेस्टुरेन्ट खुलेका छन् । ‘नक्साल आइपुग्दा भिआइपी क्षेत्रमा छिरेको महसुस हुन्छ, भिडभाड नहुँदा मान्छेले हैरानी पनि व्यहोर्नुपर्दैन’ जगदम्बा मोटर्सका विवेक बलामी भन्छन्, ‘अहिलेका लागि सबैभन्दा राम्रो ठाउँ भनेकै नक्साल हो ।’ टेकु र थापाथलीमा पार्किङको ज्यादै ठूलो समस्या छ । त्यहाँ उभिने ठाउँ पनि छैन । यी क्षेत्र धेरै साँघुरो भइसकेको हुनाले पनि अटो विक्रेताले नक्साललाई नयाँ गन्तव्य बनाएको उनको बुझाइ छ ।

विवेक दुगडका अनुसार टेकु र थापाथलीमा पुराना भवन छन् । नयाँ एक्सक्लुसिभ सोरुम खोल्न पर्याप्त ठाउँ पाइँदैन । तर, नक्सालमा सोरुम खोल्न ठाउँको त्यति अभाव छैन । त्यसमाथि इमर्जिङ हटस्पट भएको हुनाले घरभाडा पनि त्यति महँगो छैन । ‘पुराना हबहरू साँघुरिँदै गएपछि नयाँ ठाउँको खोजी भइहाल्छ,’ उनी भन्छन्, ‘भोलिका दिनमा भक्तपुर अटो हबका रूपमा पनि उदाउन सक्छ ।’ उनका अनुसार अहिले नक्साल ब्रान्ड स्थापित गर्न बढी उपयोग भइरहेको छ । ठूला कर्पोरेट हाउसका अफिस र बैंकहरू पनि नक्सालमा खुल्न थालेपछि अटोको बजार पनि बढ्दै गइरहेको उनको भनाइ छ । त्यसमाथि घरानियाँ परिवारहरूको आवास क्षेत्र पनि हो नक्साल । सहरको केन्द्रमा हुनाले नक्साल सबैको पायक पर्ने ठाउँ पनि भयो । त्यसमाथि साना पसलहरू नहुनाले अनावश्यक भिडभाड पनि छैन । त्यहाँ गाडी तथा बाइकका सोरुम, कर्पोरेट हाउसका अफिस, बैंक, रेस्टुराँ, होटेल, ब्रान्डेड पसल मात्र सञ्चालनमा छन् । नजिकै प्रहरी मुख्यालय हुनाले सुरक्षित ठाउँ पनि भयो । 

खासगरी नारायणचौर, नक्साल, गैरीधारा, टंगाल, नक्साल भगवती मन्दिर क्षेत्रमा व्यावसायिक गतिविधि बढ्दै गइरहेका छन् । अटोको हबका रूपमा विकास भइरहेको नक्साल क्षेत्रमा रेस्टुरेन्टको पनि बाढी आइरहेको छ । त्यो क्षेत्रमा दर्जनौँ प्रिमियम रेस्टुरेन्ट खुलिसकेका छन् । सहरका एलिट वर्गको आवतजावत भइरहने नक्साल क्षेत्रलाई व्यवस्थित व्यावसायिक हबका रूपमा विकास गर्नुपर्ने देखिन्छ । एलिट वर्गको जक्सन भएर पनि अटो विक्रेताको नजर नक्सालमा परेको हुन सक्ने स्थानीय बताउँछन् ।

अहिले पनि टेकु र थापाथलीमा गाडी र बाइकका सोरुम भने नभएका होइनन् । टेकुमा बाइक तथा स्कुटर र थापाथलीमा गाडीका लस्करै सोरुम देख्न सकिन्छ । तर, हिजोका दिनमा गाडी र बाइक किन्ने भन्नेबित्तिकै टेकु र थापाथली सम्झिहाल्ने उपभोक्ताले अहिले नक्सालको पनि नाम लिन थालेका छन् । जिप, प्रोटोन, हस्कभर्ना, बिएमडब्लू, डुकाटी, हार्ले डेभिड्सनलगायत खरिद गर्नका लागि नक्साल नगई सुखै छैन, किनभने यी ब्रान्डहरूको एक मात्र एक्सक्लुसिभ सोरुम नक्सालमा मात्र छ ।