Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तस्वीर : आचार्यकाे फेसबुकबाट
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २४ शुक्रबार १५:५४:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिमा पात्र फेरिए, तर प्रवृत्ति फेरिएन, चप्पल लगाउन नसक्नेहरू नेता बनेर गाडी चढी हिँड्ने अवस्था मात्र भयो : वरिष्ठ कलाकार हरिवंश आचार्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २४ शुक्रबार १५:५४:००

वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहाेरी खेलले जनतालाई दुःख दिइरहेको टिप्पणी गरेका छन् । 

शुक्रबार पत्रकारसँग कुराकानी गर्दै कलाकार आचार्यले ४० वर्षअगाडि आफूहरूले कलाकारिता सुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको बताएका हुन् । 

उनले राजनीतिक विसंगतिले गुण्डा प्रवृत्तिका व्यक्ति संसदमा छिरेको पनि टिप्पणी गरे ।

कलाकार आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यंग्यमिश्रित गीत पनि सार्वजनिक गरेका छन् । 

गीतमा वरिष्ठ कलाकार आचार्यले ‘एउटा कुरा कसैलाई भन्नुहुँदैन, यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन, हेर भाइ घने कुरो के छ भने टुँडिखेलमा हात देखाउँदा ज्योतिषीले धनी हुन्छौ भने, चुनाव लड्नु भने’ भन्ने व्यंग्य समसामयिक राजनीति माथि कसेका छन् । 

नेपालमा बढ्दै गएको भ्रष्टाचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताए । 

उनले भने, ‘यो गीत कुनै व्यक्ति नेतालाई तोकेर भनेको पनि होइन । कुनै दललाई तोकेर भनेको पनि होइन । युट्युबमा कमेन्टहरू आउँदाखेरि फलानोको नाम लिएर यसलाई भनेको यस्तो भनेको भनेर कमेन्टहरू आउँछ । तर, प्रवृत्तिलाई भनेको हो । जुन नेपालमा दण्डहीनताको प्रवृत्ति छ त्यो प्रवृत्तिमाथि व्यंग्य गर्ने हो । हाम्रो आकांक्षा, चिताएको कुरा के हो भने देशमा सुशासन होस्र । विधिको शासन होस । भ्रष्टाचार संसारमा जहाँ पनि हुन्छ । तर, त्यसको पनि मापदण्ड हुन्छ । हाम्रो मापदण्ड एकदमै नाघेकोजस्तो लाग्छ । हुन त सरकारले भ्रष्टाचार गर्न दिन्नँ गर्न हुँदैन भनिराखेको छ । तर, हामीले गरेको पनि देखिराछौँ । कुनै व्यक्तिले नहोला, तर समूहमा कसैकसैले गरेको देखिराखेका छौँ ।’

कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार गाडिएको पनि बताए । 

उनले भने, ‘चुनाव भन्ने एउटा कस्तो माध्यम भयो भनेदेखि अब खुट्टामा चप्पल पनि लगाउन नसक्नेहरूले चुनाव लडिसकेपछि केही वर्षमा गाडी चढेर हिँडेको हामीले देखेका छौँ । तर, सबै नेतालाई भनेको होइन । गीतमा पनि त्यही भनिएको छ ।’

राजनीतिमा लागेर धेरै व्यक्ति अर्बपति भएको र रहनसहनमा ठूलो परिवर्तन आएको देखिएको कुरालाई गीतले देखाएको पनि आचार्यले बताए ।

राजनीतिलाई नै उद्योग बनाउन भएन, व्यापार बनाउन भएन भनेर गीतमा देखाउन खोजिएको छ । नेपालमा यही प्रवृत्ति रहेका कारण जनतामा निराशा आएको बताए । 

उनले भने, ‘जनतामा बढी निराशा छाएको कारण पनि त्यही हो कि यो प्रवृत्ति, भ्रष्टाचारको प्रवृत्ति रोकियोस् । राजनीतिमा मात्रै होइन कि प्रशासनिक क्षेत्रमा पनि त्यत्तिकै छ । जनतालाई सानो काम गर्न पऱ्याे भने पनि केही राहत नदिईकन त्यो काम फत्ते होला भन्ने आश नै गर्नुपर्दैन ।’

देशको राजनीतिक नेतृत्वले देशको पूरै राजनीतिक प्रणालीलाई आफूजस्तै बनाएको विषयलाई पनि गीतमा देखाउन खोजिएको बताए । 

‘मैले वेलावेलामा भन्ने पनि गर्छु कि घरमा बाउ जँड्याहा भयो भने छोराछोरीहरू पनि जँड्याहा हुन सक्छन् । बिग्रिन सक्छन् । बाउ नै अनुशासन, आमा अनुशासनमा छैनन् भनेदेखि छोराछोरीलाई अनुशासनमा बस भनेर भएन । हाम्रो राजनीतिको अभिभावकत्व नै बिग्रिएको जस्तो लाग्छ । तर, मैले एउटा व्यक्ति कसैलाई भनेको होइन । यो प्रवृत्तिलाई भनेको हो मैले । त्यही प्रवृत्तिमाथि बनाएको गीत हो,’ उनले भने । 

देशको प्रजातन्त्र एउटा प्रजातान्त्रिक प्रवृत्तिमा भन्दा पनि राजनीतिक नेतृत्व गर्ने व्यक्तिको प्रवृत्तिमा निर्भर गरेको बताए । 

उनले भने, ‘हाम्रो देशको डेमोक्रयासी अब बाँदर नभनौँ जस्तोजस्तो मान्छेले सञ्चालन गर्नुभएको छ, त्यस्तै त्यस्तै भइदिएको छ । जुन भाँडामा पानी हालिन्छ त्यही आकारजस्तो भयो ।’

उनले थपे, ‘चुनाव दलहरूले पनि जितेका छन्,  सानाहरूले पनि जितेका छन् । काला व्यापारीहरूले पनि जितेका छन् । त्यस्तो प्रवृत्ति भएका मान्छेको साथ लिएर प्रधानमन्त्री हुनुपर्ने, राष्ट्रपति हुनुपर्नेछ । मान्छेको चरित्र, आचरण नबुझीकन जो पायो त्यसलाई राजनीतिक पार्टीले टिकट दियो भनेदेखि फेरि चुनाव जितेर आउने डनहरू नै हुन् । डनहरूले छानेको मान्छेलाई स्वच्छ शासन गर्न गाह्रो हुन्छ । ती व्यक्तिहरूसँग डर भइरहन्छ । त्यो कारणले गर्दा राजनीतिक संस्कार नै परिवर्तन हुनुपर्छ ।’