मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७७ पौष २४ शुक्रबार १२:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दक्षिण कोरियामा नेपाली विद्यार्थीले पनि ई- ९ भिसा पाउने

Read Time : > 1 मिनेट
रासस
२०७७ पौष २४ शुक्रबार १२:१२:००

दक्षिण कोरिया सरकारले त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि ई– ९ भिसा उपलब्ध गराउने तयारी थालेको छ।

ई– ९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । 

यहाँ अध्ययनरत विज्ञान र इन्जिनियरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए । 

यहाँको  रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानुन मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानुन कार्यान्वयनमा ल्याउने गरी काम सुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानुन मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ ।

इपिएस प्रक्रियामार्फत रोजगारीका लागि कोरिया आउने प्रवासी श्रमिकले पहिलोपटक चार वर्ष १० महिनाका लागि भिसा प्राप्त गर्दछन् र सो अवधिको समाप्तिपछि श्रमिक अनिवार्य स्वदेश फर्किनुपर्ने प्रावधान छ । 

प्रवासी विद्यार्थीलाई प्रदान गर्ने भनिएको भिसामा भने विद्यार्थीका लागि पनि एउटै नियम हो या अन्य नियम हो भन्ने कुरा भने थाहा हुन सकेको छैन । यस विषयमा यहाँको कानुन मन्त्रालय र रोजगार मन्त्रालयले संयुक्त रूपमा निर्णय गरी लागू गर्नेछन् । 

हाल इपिएसमार्फत ई– ९ भिसामा आएका नेपाली औद्यौगिक र कृषि क्षेत्रमा श्रम गरिरहेका छन् । विद्यार्थीका लागि पनि दिने भनिएको भिसा सोही क्षेत्रमा हुनेछ । यदि यस अवधारणा कार्यान्वयन भएमा दक्षिण कोरियामा एक हजार पाँच सयको संख्यामा रहेका स्नातक प्राप्त नेपाली विद्यार्थीले इपिएस प्रक्रियामार्फत कोरियामा आएर श्रम गरिरहेका श्रमिकले झैँ रोजगारीको अवसर पाउनेछन् ।

यहाँका केही विद्यार्थीले भने यो अवधारणा स्वागतयोग्य नभएको बताएका छन् । अध्ययन गरेर दक्ष भएका विद्यार्थीलाई उनीहरूको अध्ययनकै क्षेत्रमा अवसर दिनुपर्नेमा मजदुरको भिसा दिने अवधारणा उचित नभएको भनाइ उनीहरूको छ ।