Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २३ बिहीबार १६:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली हिटलर बन्न खोजेको सांसद रायमाझीको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २३ बिहीबार १६:१७:००

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी ओली हिटलर बन्न खोजेको टिप्पणी गरेका छन् । 

बिहीबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओलीले संविधान नमानेर हिटलर प्रवृत्ति देखाएको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले आफूले संविधान मान्न नपर्ने, तर अरू सबैले मान्नुपर्ने सोचाइ राखेको भन्दै सांसद रायमाझीले हिटलरजस्तो तानाशाह बन्न खोजेको संज्ञा दिए । 

उनले भने, ‘असंवैधानिक कदम चालिसकेपछि निर्वाचनको कुरा गरिएको छ  । अगाडि के हुन्थ्यो भने निर्वाचनमा जाने भएपछि त्यो कामचलाउ प्रधानमन्त्रीको रूपमा लिइन्थ्यो । अहिले प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरिराख्नुभएको छ । निर्वाचन हारेका मान्छेलाई, निर्वाचनमा पराजित भएका मान्छेलाई ल्याएर मन्त्री बनाइराख्नुभएको छ । संविधान प्रधानमन्त्रीले मान्नु नपर्ने ? अरू राजनीतिक दलले संविधान मानिदिनुपर्ने । प्रधानमन्त्री को हो ? हिटलर हो यो मुलुकको ? उहाँले जे मनलाग्यो त्यही गर्ने ?’

यस्तै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदमा रहने आफ्नो योग्यता गुमाइसकेको समेत सांसद रायमाझीले तर्क पेस गरे । 

संविधानअनुसार प्रधानमन्त्री रहन प्रतिनिधिसभाको सदस्य हुनुपर्ने, बहुमत सांसदको समर्थन हुनुपर्ने र मानिसिक अवस्था ठीक भएको हुनुपर्ने रहेको, तर अहिले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकाले मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने कि नमिल्ने भन्दै प्रश्न गरे । 

उनले भने, ‘एउटा प्रधानमन्त्री हुनका लागि योग्यता चाहिन्छ । प्रतिनिधिसभाको सदस्य हुनुपर्छ पहिलो योग्यता । दोस्रो बहुमत सदस्यहरूको सदस्य हुनुपर्छ । तेस्रो मानसिक सन्तुलन ठीक भएको हुनुपर्छ । अब अहिले प्रधानमन्त्री भन्ने कि नभन्ने उहाँलाई । उहाँ यो मुलुकको प्रतिनिधिसभाको सदस्य हुनुहुन्न । बहुमत सदस्यहरूको समर्थन उहाँलाई देखिँदैन । यो खालको संविधान मिचेर काम गर्ने प्रधानमन्त्रीलाई अर्को मानसिक सन्तुलन गुमेको मान्छे प्रधानमन्त्री हुन पाउनेछैन भनेर हाम्रो संविधानमा भनेको छ । त्यसकारणले असंवैधानिक कार्य गर्ने मान्छे मुलुकको प्रधानमन्त्री हुन्छ कि हुँदैन । मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्छ कि मिल्दैन ।’

सांसद रायमाझीले सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको बदनाम गरेकोसमेत बताए । 

प्रधानमन्त्रीले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाएकोसमेत उनको ठहर छ ।