मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रवीण आचार्य 
२०७५ माघ २८ सोमबार ०८:००:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

काठमाडौंमा तहगत पार्किङ

खुला स्थानको कमी रहेको काठमाडौंजस्तो जनघनत्व र सवारी घनत्व बढी भएको सहरमा बेसमेन्ट पार्किङले मात्र सवारी चाप धान्न सक्दैन

Read Time : > 4 मिनेट
प्रवीण आचार्य 
२०७५ माघ २८ सोमबार ०८:००:००

सवारीसाधनको बढ्दो चाप

काठमाडौं उपत्यकाको जनघनत्व बढ्दो क्रममा छ । देश संघीय संरचनामा गइसक्दा पनि काठमाडौं भित्रिने जनसंख्यामा कमी आएको छैन । बढ्दो जनसंख्या र फितलो सार्वजनिक सवारीसाधनको व्यवस्थापनले गर्दा निजी सवारीसाधनप्रति जनताको चाहना बढिरहेको छ ।

ई. प्रवीण आचार्य

चारपांग्रे र दुईपांग्रे निजी सवारीसाधन बढिरहेका छन् । सानो काठमाडौं उपत्यकामा रहेको जनसंख्यालाई धान्न हाम्रा भौतिक संरचनालाई हम्मेहम्मे परिरहेको आभास आमजनतालाई हुने गरेको छ । यस्तो स्थितिमा नयाँ संरचना बन्ने गतिमा कमी आएको छैन र खुल्ला स्थान क्रमशः घट्दै गइरहेका छन् ।

खुल्ला स्थानको कमी हुनु र व्यवस्थित पार्किङ सुविधा नहुनाले मुख्यतः भित्री सहरी क्षेत्रमा आवतजावतमा समस्या पैदा हुने गरेको छ । काठमाडौं उपत्यकामा खुला स्थानको कमीले गर्दा निजी सवारीसाधनको पार्किङमा भइरहेको समस्यालाई तहगत पार्किङ प्रविधिमार्फत समाधान गर्न सकिने विषयमा यो आलेख तयार गरिएको छ ।

ठाडो पार्किङ प्रविधि

हाल काठमाडौं उपत्यकामा खुल्ला स्थानमा सवारीसाधन पार्किङ गर्ने चलन रहेको छ, जसलाई हामी तेर्सो (होरिजेन्टल) पार्किङ प्रविधि भन्छौँ । विगत केही वर्षदेखि मुख्यतः ठूला भवनमा बेसमेन्ट पार्किङ गर्ने प्रविधि पनि बढेको छ ।

तर, खुला स्थानको कमी रहेको काठमाडौंजस्तो जनघनत्व र सवारी घनत्व बढी भएको सहरमा बेसमेन्ट पार्किङले मात्र सवारी चाप धान्न सक्दैन । यसका लागि सानो क्षेत्रफलमा पनि धेरै सवारीसाधन अट्ने तहगत अथवा ठाडो पार्किङ प्रविधि विकास गर्न जरुरी देखिन्छ ।

तहगत पार्किङ प्रणाली भन्नाले एउटा संरचनाको विभिन्न तह वा तलामा सवारीसाधन पार्क गर्ने प्रविधिलाई जनाउँछ । यसरी पार्किङ गर्दा तेर्सो पार्किङ गर्ने प्रविधिभन्दा जति तह वा तला बढाउन सक्यो त्यति गुणा धेरै सवारीसाधन पार्क गर्न सकिन्छ । जसले गर्दा सानो क्षेत्रफलमा पनि धेरै सवारीसाधन अटाउँछन् ।

यस प्रणालीबाट सवारीसाधन पार्क गर्ने प्रविधिको सुरुवात सन् १९०१ मा लन्डन सहरबाट भएको पाइन्छ । यसैगरी, अमेरिकामा सिकागो सहरबाट सन् १९१८ देखि तहगत पार्किङ प्रणालीको सुरुवात भएको पाइन्छ ।

हाल विश्वभरि नै तहगत पार्किङ प्रणाली प्रयोग गरेर सवारीसाधन पार्क गर्ने चलन रहेको छ भने सवारीसाधनको चाप उच्च भएका र विकसित देशमा स्वचालित तहगत पार्किङ प्रविधिको व्यापक प्रयोग भएको पाइन्छ । यसैगरी, खुला स्थान धेरै भएमा, सवारी  चाप र जनघनत्व कम भएमा र ठूला सवारीसाधन पार्क गर्नुपरेमा मात्र खुला स्थानको प्रयोग गर्ने गरेको पाइन्छ ।

सडकमै पार्किङ गर्नुपर्ने बाध्यता

काठमाडौं उपत्यकाको सवारी चाप तीव्र गतिमा बढ्दो क्रममा छ । यातायात व्यवस्था विभागको तथ्यांकलाई आधार मान्दा हाल १० लाखभन्दा बढी मोटरसाइकल र दुई लाखभन्दा बढी निजी सवारीसाधन काठमाडौं उपत्यकामा गुडिरहेका छन् ।

विगत पाँच वर्षमा करिब पाँच लाखभन्दा बढी मोटरसाइकल र एक लाखभन्दा बढी निजी गाडी काठमाडौं उपत्यकामा थपिएका छन् । यो संख्या हरेक वर्ष मोटरसाइकलतर्फ एक लाख र निजी सवारीतर्फ ४० हजारभन्दा धेरैले बढिरहेको छ ।

यसैगरी, सार्वजनिक सवारीसाधन पनि बढ्ने क्रम तीव्र रहेको छ भने सोही मात्रामा काठमाडौंका सडकको विकास भएको देखिँदैन । यस्तो स्थितिमा खुला स्थान पनि क्रमशः घट्दै गइरहेका छन् । भएका खुल्ला स्थानमा गरिने पार्किङले पनि सवारी चाप धान्न सकिरहेका छैनन् भने बेसमेन्ट पार्किङहरू पनि सवारी चाप धान्न नसक्ने स्थितिमा छन् ।

त्यसैले सडकमै वा सहरका साँघुरा गल्लीमा सवारीसाधन पार्किङ गर्नुको विकल्प छैन । काठमाडौंमा व्यस्त सरकारी कार्यालयवरपर, मुख्य सडकछेउ, व्यस्त बजार क्षेत्र आदि स्थानमा मूल सडक नै छेकिने गरी गरिने अव्यवस्थित पार्किङ अनि वेलाबखतमा हुने सभा, सम्मेलन, सेमिनार, खेलकुद प्रतियोगिता आदिका दौरानमा पार्किङको समस्याले हुने अस्तव्यस्तताले नै काठमाडौं उपत्यकामा यसको समस्या कति जटिल छ भन्ने प्रस्ट पार्ने गरेको छ ।

अव्यवस्थित पार्किङले सहरी सुन्दरतामा ह्रास

काठमाडौं उपत्यकाका अति व्यस्त स्थानहरू, जस्तैः लगनखेल, कलंकी, नयाँ बसपार्क, रत्नपार्क, नयाँ सडक, ठमेल, असन क्षेत्र, बानेश्वर, कोटेश्वर, एयरपोर्ट, मंगलबजार, हनुमानढोका, भक्तपुर दरबार क्षेत्रलगायत स्थानमा व्यवस्थित निजी सवारी पार्किङ गर्ने स्थानको अभाव देखिन्छ ।

यी क्षेत्रमा खुला स्थानको पनि अभाव रहेको पाइन्छ भने सडकमै अथवा फुटपाथमा सवारी पार्क गर्दा सहरी सुन्दरतामा असर पुग्नुका साथै पैदल यात्री र मूल सडकमा गुड्ने सवारीले पनि सास्ती बेहोरिरहेको देख्न सकिन्छ ।

एकातर्फ पैदलयात्रीका लागि काठमाडौं उपत्यकामा फुटपाथ निकै कम चौडाइको हुनु र त्यस्ता कम चौडाइका फुटपाथमा पनि सवारी साधन रोक्नाले पैदलयात्रुलाई सास्तीका साथसाथै जोखिम पनि बढिरहेको देख्न सकिन्छ । यसैगरी उल्लिखित केही स्थान काठमाडौंबासीका लागि मुख्य व्यापारिक केन्द्र पनि हुन् ।

यस्ता स्थानमा आममान्छेको आवतजावत उच्च हुने गरेको छ र यी स्थानमा सामान्य स्थितिमा पनि पैदल छिचोल्न अत्यन्त कठिन हुने गर्दछ । यस्ता स्थानका साँघुरा बाटोमा सवारी पार्क गर्दा समस्या झन् जटिल हुने गरेको छ ।

यसैगरी सवारीचालकलाई उचित पार्किङ स्थानको खोजी गर्न कठिनाइ हुने र समय पनि खेर जाने गरेको छ भने अव्यवस्थित पार्किङले गर्दा पर्यटकीय क्षेत्रमा नकारात्मक प्रभाव पनि परिरहेको देखिन्छ । त्यसैले तहगत पार्किङ प्रणालीको विकासले मात्र काठमाडौंको अव्यवस्थित पार्किङको समाधान गर्न सक्ने देखिन्छ ।

सानो क्षेत्रफलमा पनि धेरै सवारीसाधन अट्ने तहगत अथवा ठाडो पार्किङ प्रविधि विकास गरी एउटै संरचनाका विभिन्न तह वा तलामा सवारीसाधन पार्क गर्दा जति तह वा तला बढाउन सक्यो त्यति नै बढी सवारी साधन पार्क गर्न सकिन्छ

कसरी गर्ने तहगत पार्किङ ?

विश्व तथ्यांक हेर्दा तहगत पार्किङ प्रणालीको विकास भएको एक शताब्दी बितिसकेको छ । हाल तहगत स्वचालित प्रणालीले विश्वमा चर्चा कमाइरहेको छ । तर, नेपाल अनि विशेषतः काठमाडौं उपत्यकामा यो प्रणालीको सुरुवात आजसम्म हुन सकेको छैन ।

विभिन्न प्राविधिक कारणले पूर्ण स्वचालित प्रणाली हाललाई अपनाउन कठिन भए पनि सामान्य तहगत पार्किङ प्रणाली अवलम्बन गर्न कठिन छैन । एक तह वा तलाबाट अर्कोमा जान ¥याम्प (भिरालो बाटो)को व्यवस्था गर्न सकिन्छ भने अहिले भवन निर्माण गरिरहेको प्रविधि नै प्रयोग गरी पार्किङ गर्ने भवन बनाउन सकिन्छ ।

यस्ता भवनमा मोटरसाइकल र चारपांग्रे गाडीका लागि छुट्टाछुट्टै पार्किङ स्थानको व्यवस्था गर्न सकिन्छ । सामान्यतः एउटा चारपांग्रे सवारीको पार्किङका लागि करिब १६२ वर्गफिट क्षेत्रफल आवश्यक पर्छ भने एउटा मोटरसाइकल पार्किङका लागि १८ वर्गफिट क्षेत्रफल आवश्यक पर्छ (एउटा चारपांग्रे सवारी पार्किङ गर्ने स्थानमा ९ वटा मोटरसाइकल पार्क गर्न सकिन्छ) ।

यसलाई सजिलो गरी बुझ्नका लागि एउटा उदाहरण हेरौँ, यदि ५ हजार वर्ग फिट क्षेत्रफल रहेको कुनै ठाउँ छ भने त्यस्तो स्थानमा करिब ३० वटा चारपांग्रे सवारी अथवा करिब २ सय ७५ वटा मोटरसाइकल पार्क गर्न सकिन्छ ।

तर, यदि तहगत पार्किङ प्रणालीको विकास गरी दुई तहमा पार्किङ गरेमा माथि उल्लिखित संख्या भन्दा दोब्बर संख्यामा पार्किङ गर्न सकिन्छ भने तीन तहमा पार्किङ गरेमा तेब्बर संख्या अर्थात् ९० वटा चारपांग्रे सवारी वा ८ सय २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिन्छ । यसले गर्दा सानो स्थानमा पनि अहिले भइरहेको क्षमताभन्दा धेरै संख्यामा पार्किङ गर्न सकिने देखिन्छ ।

काठमाडौंमा तहगत पार्किङ किन ?

काठमाडौंमा तहगत पार्किङ प्रणाली अवलम्बन गरिनुपर्छ भन्ने बहस वेलाबखतमा हुने गर्छ । काठमाडौं महानगरपालिकाले पनि करिब २ वर्षअगाडि लैनचौर, नयाँ सडक र खुलामञ्चमा तहगत पार्किङ प्रणाली विकास गर्न प्रक्रिया अगाडि बढाएको थियो । तर, त्यो प्रक्रियाले मूर्त रूप पाउन सकेको देखिन्न ।

नयाँ संरचना निर्माण गर्दा महानगरपालिकाले बेसमेन्ट पार्किङ प्रणालीलाई प्रोत्साहन गर्ने गरेको छ । सो पार्किङ पद्धतिले पार्किङको समस्यालाई सामान्य अवस्थामा केही हदसम्म समाधान गरेको पनि पाइन्छ । तर, यस प्रणालीले मात्र बृहत् रूपमा काठमाडौंका भित्री सहरको समस्यालाई समाधान गर्न सक्ने देखिँदैन ।

काठमाडौंमा पार्किङको समस्या जटिल छ भन्ने बुझ्नका लागि दरबार हाइस्कुलको पुनर्निर्माणमा भएको ढिलाइलाई पनि लिन सकिन्छ । सो विद्यालय पुनर्निर्माणको काममा बेसमेन्ट पार्किङको व्यवस्था गर्ने कि नगर्ने भन्ने विषयले गर्दा ढिलाइ हुन पुगेको चर्चा केही समयअगाडि चल्ने गरेको थियो । यसले गर्दा पार्किङको समस्या जटिल रहेको र समाधानका उपायको खोजी भइरहेको देखाउँछ ।

निष्कर्ष

हाल सार्वजनिक सवारीसाधनका लागि सानै भए पनि निश्चित स्थानमा बसपार्कको व्यवस्था रहेको छ । तर, थोरै समय प्रयोग भई लामो समय पार्क गर्नुपर्ने निजी सवारीसाधनका लागि निश्चित पार्किङस्थलको उचित व्यवस्था हुन सकिरहेको छैन ।

यसले गर्दा मूल सडक वा फुटपाथमै पार्किङ गर्नुपर्ने अवस्था रहेको छ । सवारी चाप दिनानुदिन बढ्दै जानु तर खुला स्थान क्रमशः घट्दै गइरहेको स्थितिमा तहगत पार्किङ पद्धतिको विकास काठमाडौं उपत्यकाबाट चाँडोभन्दा चाँडो सुरुवात गर्नुपर्ने देखिन्छ ।

तहगत पार्किङ प्रणालीको अवलम्बनले पार्किङको समस्याको मात्र हल नगराई समस्त सहरी सौन्दर्यको विकास, सडक जाम कम, पैदल यात्रीको सहज आवतजावत, समयको बचत, पर्यटकीय क्षेत्रमा सरल आवतजावतका लागि पनि टेवा पु-याउने देखिन्छ ।

त्यसैले मुख्यतः काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकालगायत काठमाडौं उपत्यकाका स्थानीय तह र सरकारले सहकार्य गर्दै तहगत पार्किङ प्रणाली सकेसम्म छिटो अवलम्बन गर्न जरुरी देखिन्छ ।