मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष २१ मंगलबार १३:४३:००
Read Time : > 2 मिनेट
फिचर

बेलायतमा मध्यफेब्रुअरीसम्म लकडाउन घोषणा

बेलायतमा सोमबार मात्रै ५८ हजार सात सय ८४ जना संक्रमित थपिए

Read Time : > 2 मिनेट
२०७७ पौष २१ मंगलबार १३:४३:००

कोरोना भाइरस (कोभिड– १९) सँगै यसको नयाँ संस्करणको भाइरस अनियन्त्रित रूपमा फैलन थालेपछि बेलायतमा सात साताका लागि सोमबार लकडाउन घोषणा भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले सन् २०२१ को मार्चसम्म देशभर कडा लकडाउन रहन सक्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री जोनसनले सबै जनताले लकडाउन अवधिमा कडा रूपमा नियम पालना गर्ने विश्वास व्यक्त गरेका छन् । कोरोना भाइरसका कारण बेलायतमा एक लाख व्यक्तिको निधन हुन नदिन पनि लकडाउन आवश्यक रहेको प्रधानमन्त्री जोनसनको भनाइ छ । अहिलेसम्म बेलायतमा कोरोना भाइरसबाट २७ लाख १३ हजार संक्रमित भएका छन् । साथै ७५ हजार तीन सय ४१ जनाको निधन भइसकेको छ । 

बेलायतमा मध्यफेब्रुअरीसम्म सबै स्कुल बन्द हुनेछन् । तर, प्रधानमन्त्री जोनसनले ग्रामीण भेगका स्कुल तथा कलेजका विद्यार्थीलाई पठनपाठन गराउन सकिने अनुमति दिएका छन् । यस्तो अवस्थामा विद्यार्थीको संख्या आधा मात्र हुनुपर्नेछ ।

स्वास्थ्य र फिटनेस कायम राख्न सातामा एक दिन मात्र बाहिर आउन पाउने अनुमति छ । बिहान र साँझ मात्र एक्सरसाइज गर्न मिल्नेछ । लकडाउन घोषण भएकै दिन ४ जनवरीदेखि रात्रिकालीन पसलहरू बन्द भइसकेका छन् ।

बेलायतमा सोमबार मात्र ५८ हजार सात सय ८४ जना संक्रमित थपिएका थिए । पछिल्लो २८ दिनमा चार सय सातजनाको निधन भएको छ । ‘हामीलाई कोरोना नियन्त्रण गर्न निकै दबाब बढेको छ,’ प्रधानमन्त्री जोनसनले भने, ‘पहिलोभन्दा अहिले संक्रमित बढिरहेका छन्, यसैकारण सरकारमाथि दबाब बढेको हो ।’ यसैगरी ७० वर्षमाथिका व्यक्तिलाई घरबाहिर ननिस्कन भनिएको छ । फ्रन्टलाइनमा काम गर्ने सबैलाई आपतकालीन अवस्थामा रहन प्रधानमन्त्री जोनसनले निर्देशन दिएका छन् । फेब्रुअरीको मध्यसम्म सबैले भ्याक्सिन पाउन सक्ने उनको भनाइ छ । 

स्कटल्यान्डमा पनि लडडाउन
यसैगरी सोमबार नै स्कटल्यान्डका फस्र्ट मिनिस्टर निकोला स्टुगनले सबैलाई घरमै बस्न आग्रह गरेका छन् । स्कटिस सरकारले लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई कम्तीमा जनवरी महिनाभर बाहिर ननिस्कन आग्रह गरेको छ । 

स्कटल्यान्डमा स्कुल, सार्वजनिक स्थल, धार्मिक तथा डिस्को बार बन्द भएका छन् । ‘यो अवस्था जटिल छ, हामी सबै समाधानको बाटोतर्फ लागिरहेका छौँ, गत वर्ष मार्च महिनामा लकडाउन गरिएको थियो,’ मन्त्री स्टुगनले भने, ‘गत वर्षभन्दा यसपटक फैलिरहेको भाइरस अलि फरक पाएका छौँ ।’

वेल्समा भने २९ डिसेम्बरमा नै लकडाउन भइसकेको थियो । यहाँ १८ जनवरीसम्म कलेज तथा स्कुल बन्द छन् । उत्तरी आयरल्यान्डमा २६ डिसेम्बरबाट ६ साता लकडाउन घोषणा भएको थियो । 

न्युयोर्क पुग्यो नयाँ भाइरस
अमेरिकाको न्युयोर्कमा पनि कोरोनाको नयाँ संस्करणको भाइरस देखिएको बिबिसीले जनाएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु क्युमोले नयाँ संक्रमित देखिएको स्पष्ट पारेका छन् । 
यसअघि अमेरिकाको कोलोराडो तथा क्यालिफोर्नियामा पनि नयाँ भाइरस देखिएको थियो । बिबिसीका अनुसार विश्वभर अहिलेसम्म आठ करोड ६१ लाख संक्रमित भइसकेका छन् । कोरोना भाइरसका कारण १८ लाख ६० हजार चार सयजनाको निधन भएको छ । यसैबीच ६ करोड ५४ लाख तीन सय ७९ व्यक्ति निको भएका छन् । 

जर्मनी तथा डेनमार्कमा दोस्रो डोजको खोप
एकातिर बेलायतले कोरोना तथा नयाँ भाइरसविरुद्ध लड्न लकडाउन घोषणा गरेको छ भने युरोपका केही राष्ट्रहरूले कोभिड– १९ विरुद्धको खोपलाई तीव्रता दिएका छन् । यसैबीच जर्मनी तथा डेनमार्कमा भ्याक्सिनको दोस्रो डोज खोप सुरु भएको छ । जर्मनीमा अहिलेसम्म १७ लाख ९६ हजार दुई सय १६ र डेनमार्कमा एक लाख सात हजार ८७ नागरिकले खोप लिएको एजेन्सीहरूले जनाएका छन् । यी सबै राष्ट्रमा एक्ट्राजेनिका र फाइजर खोप दिइएको छ । 

क्यानडामा मनोरञ्जन गर्न प्रतिबन्ध 
क्यानेडियन सरकारले कोरोना भाइरस नियन्त्रण नहुँदासम्म बिदामा रहेका कर्मचारीलाई मनोरञ्जन गर्न प्रतिबन्ध लगाएको छ । सरकारको अनुमतिविना यस्तो कार्य गर्नेविरुद्ध कारबाहीको तयारी पनि भइरहेको छ ।

यसैबीच सरकारका केही पदाधिकारी छुट्टी मनाउन निस्कँदा बर्खास्त परेका छन् । एल्बर्टो राज्यका मुख्य मन्त्री जेनसन केनीले आफ्ना राज्यका सबै मन्त्री तथा सरकारी पदाधिकारीलाई छुट्टी नमनाउन आग्रह गरेका छन् ।

दक्षिण कोरियामा कोरोना नियन्त्रण
कोरोना भाइरसविरुद्ध एसियन राष्ट्र दक्षिण कोरियाले उत्कृष्ट रणनीति अपनाएको थियो । यसैकारण दक्षिण कोरियामा कोरोना भाइरस त्यति फैलन पाएन । अहिले दक्षिण कोरियामा दोस्रो चरणको कोभिड– १९ चलिरहेको छ । सिवल, इन्चोन र बुसानजस्ता सहरका अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको विशेष जाँचपछि मात्र प्रवेश दिइएको छ । दक्षिण कोरियाको जनसंख्या साढे पाँच करोड छ । अहिलेसम्म यहाँ ६४ हजार नौ सय ७९ जनामा भाइरस देखिएको छ । दोस्रो चरणमा केवल १२ सय ५३ जना मात्र संक्रमित भएका छन् । कोरियन सरकारले विमानस्थलबाट बाहिरिने यात्रुहरूलाई अनिवार्य रूपमा केएफ ९४ मास्क लगाउन भनेको छ । साथै उनीहरूले प्रत्येक दिन शरीरको तापक्रम प्रहरी प्रशासनलाई बुझाउन भनिएको छ । 

–एजेन्सीको सहयोगमा