मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शेषाद्री चारी
२०७७ पौष २१ मंगलबार ०८:३२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रजनीकान्त राजनीतिमा नआउँदा फाइदा कसलाई ? 

Read Time : > 2 मिनेट
शेषाद्री चारी
२०७७ पौष २१ मंगलबार ०८:३२:००

रजनीकान्तले राजनीतिमा कदम नराखीकनै त्यसबाट बिदाइ हुन्छन् भन्ने पहिल्यै पक्काजस्तो मानिएको थियो

रजनीकान्तले पुनः एकपटक राजनीतिमा नजाने फैसला गरे । यसअघि रजनीकान्तले तमिलनाडु विधानसभा २०२१ चुनावअघि पार्टी खोल्ने घोषणा गरेका थिए । घोषणापछि केही हप्तासम्म मानिसलाई द्विविधामा राखेपछि सुपरस्टार रजनीकान्तले फिल्मी स्टाइलमा स्टन्ट गरेर युटर्न लिए । तर, राजनीतिमा कदम नराखीकनै त्यसबाट उनको बिदाइ हुन्छ भन्ने पहिल्यै पक्का जस्तो मानिएको थियो । डिसेम्बर ३ मा एक ट्विटमार्फत उनले राजनीतिमा आउन लागेको बताएका थिए । उनले पार्टी सुरु गर्ने फैसलाबाट पछि हटेको यो दोस्रोपटक हो । सन् २०१७ मा पनि पार्टी सुरु गर्ने घोषणा गरेर पछि हटेका थिए । 

‘भगवान्को चेतावनी’मा ध्यान दिने रजनीकान्तको निर्णयपछि तमिलनाडुका दुवै द्रविड पार्टी द्रविड मुनेत्र कडगम (डिएमके) र अल इन्डिया अन्ना मुनेत्र कडगम (एआइएडिएमके)ले राहतको सास फेरेका होलान् । डिएमके तथा पेरियार इवी रामासामीको द्रविड कडगम आन्दोलनबाट उदाएका अन्य संगठनका अनिश्वरवादी गुटसमेत रजनीकान्त राजनीतिबाट परै रहून् भनेर प्रार्थना गरिरहेकै होलान् । 

राजनीतिमा प्रवेश गर्ने रजनीकान्तको प्रस्ताव डिएमकेलाई चिन्ताको विषय बनेको थियो । विद्यमान परिदृश्यको कुरा गर्ने हो भने सत्तारुढ पार्टी एआइएडिएमके आक्रोशको सामना गरिरहेको छ । यसको सीधा लाभ डिएमकेलाई हुन्छ । तमिलनाडुमा देशव्यापी पार्टीको जितको सम्भावना निकै कम छ । डिएमकेका चुनाव प्रबन्धक र रणनीतिकारहरू रजनीकान्त राजनीतिमा आए पार्टीको विधानसभा चुनावमा हुन सक्ने घाटाको आकलनमा जुटिसकेका थिए । तर, यो खतरा अब टरेको छ । 

रजनीकान्तको पार्टी सुरु नगर्ने फैसलाको मुख्य कारण रहस्यमय छ, तर एउटा कारण उनलाई आफ्नो नयाँ पार्टीले सरकार बनाउन लायक सिट ल्याउन सक्दैन भन्ने लागेको हुन सक्छ । उनलाई आफ्नो पार्टीले बाँकी दलको भोट काट्ने र त्रिशंकु विधानसभा बन्न सक्ने आशंका भएको हुन सक्छ, जुन बोझ उनी जीवनभर बोक्न चाहँदैनथे । 

चुनावी पण्डितहरूका अनुसार राजनीकान्तका लागि चुनावमा झन्डा गाड्न सम्भव थिएन । रजनीकान्तको मूल नाम शिवाजी राव गायकवाड हो र उनका पूर्वज महाराष्ट्रका थिए । रामकृष्ण मठमा आध्यात्मिकताको पाठ पढ्ने उनी लोकप्रियताको शिखरमा छन् । उनको लोकप्रियता विशेष द्रविड पार्टीका समर्थकबीचमा छ, जो त्यति आस्तिक नहुने बताइन्छ । त्यसैले १९९६ को विधानसभा चुनावमा रजनीकान्तले डिएमके टिएमसी गठबन्धनलाई समर्थन गर्नु आश्चर्यको कुरा थियो । फेरि २००४ को लोकसभा चुनावमा उनले भाजपाको समर्थन गरे । तर उनी भाजपालाई तामिलनाडुमा एक सिट पनि दिलाउन सफल भएनन् । सन् २०१४ मा लोकसभाको चुनावमा नरेन्द्र मोदीको सानदार जितपछि उनी अझै भाजपाको पक्षमा उभिए । यहाँसम्म कि उनले राजनीतिमा आध्यात्मिकता छिराउने विचार पेस गरे । भाजपाको हिन्दुत्ववादी धारको समर्थकको रूपमा उनलाई मानियो । 

रजनीकान्तको राजनीतिक भविष्य सधैँ अलमलजस्तो थियो । पूर्णकालीन रूपमा सिनेमासँग जोडिएका रजनीकान्तले आफ्नो लोकप्रियतालाई भोटसँग साट्न सकेनन् । उनको लोकप्रियताकै आधारमा उनका साथीले राजनीतिमा कदम राख्ने सल्लाह दिएका होलान् र २०१७ मा उनले त्यसै गर्ने घोषणा गरे । असंगठिक फ्यान क्लबमा जोडिएका उनका लाखौँ प्रशंसकलाई रजनी मक्कल मन्द्र (आरएमएम) नामक एक अस्थायी मञ्चमा जोडियो । जसलाई राजनीतिक पार्टीको रूपमा ल्याउनु थियो । सन् २०१७ मा रजनीकान्तका लागि साँच्चै अवसर थियो । तर, उनले त्यतिवेला पनि आफ्नो कदम पछि हटाए । 

कोरोनाको महामारी र सुटिङको व्यस्त सेडुयलका कारण रजनीकान्तका लागि स्वास्थ्य मुख्य कुरा हो नै । तर, यो कुरा उनलाई पहिला पनि थाहा थियो । त्यसैले पार्टी सुरु नगर्ने फैसलाको मुख्य कारण रहस्यमय छ । एउटा कारण उनलाई आफ्नो नयाँ पार्टीले सरकार बनाउन लायक सिट ल्याउन सक्दैन भन्ने लागेको हुन सक्छ । उनलाई आफ्नो पार्टीले बाँकी दलको भोट काट्ने र जसको कारण त्रिशंकु विधानसभा बन्न सक्ने स्थिति आउन सक्ने शंका लागेको हुन सक्छ । सायद उनी पूरा जीवन यो बोझ लिन चाहँदैनथे । 

तमिलनाडुमा अहिले डिएमके र एआइडिएमके आफ्नो बलमा सरकार बनाउने पर्याप्त सिट जित्ने कुरामा विश्वस्त छैनन् । भाजपाले आफ्नो प्रभाव बढाइरहेको देखिन्छ, तर त्यो वृद्धि विधानसभामा जादुमय संख्यामा पुर्‍याउने स्थितिमा छैन । कांग्रेस र अन्य दल दुई सिट जित्नुलाई नै आफ्नो भाग्य सम्झिने अवस्थामा छन् । तर, के कुरा अस्वीकार गर्न सकिँदैन भने हरेक पार्टीमा रजनीकान्तको आशीर्वाद पाउने होड भने देखिनेछ । 

(लेखक ‘अर्गनाइजर’का पूर्वसम्पादक हुन्)
द प्रिन्टबाट