Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २१ मंगलबार ०७:४९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ढल्केबर सबस्टेसनको क्षमता बढाइयो थप सय मेगावाट विद्युत् आयात गर्न सकिने

Read Time : > 1 मिनेट
२०७७ पौष २१ मंगलबार ०७:४९:००

 धनुषामा रहेको देशकै ठूलो ढल्केबर सबस्टेसनको क्षमता बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०/१३२/३१५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर थप गरेको हो । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसनमा जडान गरिएको ३ सय १५ एमभिएको थप पावर ट्रान्सफर्मर आइतबार राति साढे १० बजे चार्ज गरिएको बताए । अब सबस्टेसनको क्षमता ६ सय ३५ एमभिए पुगेको छ । 

ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३ सय १५ एमभिएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरिएको हो । बाँकी एउटा ट्रान्सफर्मरको जडान भइरहेको छ । ‘३ सय १५ एमभिएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप १ सय मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ भने ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आएपछि आन्तरिक रूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको छ,’ शाक्यले भने । 

केही महिनाअघि सञ्चालनमा आएको ४००/२२० केभी ढल्केबर सबस्टेसनमा ३ सय १५ एमभिए क्षमताका तीन वटा गरी ९ सय ४५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर छन् । जसले करिब ९ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्छन् ।  
प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठका अनुसार अब आवश्यक परेमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप करिब १ सय मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।

प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत् निगम लिमिटेड (एनभिभिएन)बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २ सय ५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३ सय ५० मेगावाटसम्म र मे–जुनमा २ सय मेगावाटसम्म विद्युत् खरिद–बिक्री (पिपिए) सम्झौता भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ । 

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४ सय केभीमा चार्ज भइसकेको छ । नेपालभित्र विद्युत् प्रवाहका लागि ४ सय केभी र २ सय २० केभीको संरचना तयार भइनसकेकाले ४ सय केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १ सय ३२ मा कन्भर्ट गरी प्रवाह भइरहेको छ ।