मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७७ पौष २० सोमबार २१:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संवैधानिक विवादका लागि गठित ‘एमिकस क्युरी’मा पहिलोपटक महिला समावेश  

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ पौष २० सोमबार २१:२०:००

नेपालमा गठित एमिकस क्युरीमा लैंगिकताका विषयमा राय चाहिए महिलालाई समावेश गरिने भए पनि संवैधानिक र देशका लागि यस्तो महत्वपूर्ण विषयमा पहिलोपल्ट महिलालाई समावेश गरिएको छ । सर्वोच्च बार एसोसिएसनबाट गीता पाठक संग्रौला एमिकस क्युरीमा जाने तय भएको सर्वोच्च बार स्रोतले बतायो । 

उनी काठमान्डु स्कुल अफ लमा मानव अधिकार विषयको प्राध्यापन गर्छिन् । यसअघि बारले खगेन्द्र अधिकारीको नाम चयन गरेको थियो । तर, उनमा कोरोना देखिएकाले उनी आइसोलेसनमा छन् । ‘हामीले गीता पाठकको नाम चयन गरेका छौँ,’ सर्वोच्च बार स्रोतले भन्यो, ‘खगेन्द्रजी अहिले आइसोलेसनमा हुनुहुन्छ । अदालत आउन पाउनुहुन्न । त्यसैले उहाँको स्थानमा गीताजीलाई पठाउँदै छौँ ।’

लामो समय अदालती अभ्यास गरेकी पाठक एक कार्यकाल बारको केन्द्रीय सदस्य पनि भएकी थिइन् । उनले प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएकी थिइन् । डेढ दशकभन्दा पनि अघि उपाध्यक्षमा उठे पनि पराजित भएकी थिइन् । 

प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको भन्दै सर्वोच्चमा १४ मुद्दा विचाराधीन छन् । यसैमाथि राय लिन सर्वोच्चको पुस १० गतेको इजलासले पाँच सदस्यीय एमिकस क्युरी गठन गर्ने अदेश दिएको थियो । यसका लागि बार एसोसिएसनबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली चयन भएका छन् भने सर्वोच्च बारले पाठकसहित वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको छ ।