मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष १९ आइतबार १२:१५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध युवा तथा विद्यार्थी संगठनले आन्दोलन चर्काउने

Read Time : > 1 मिनेट
२०७७ पौष १९ आइतबार १२:१५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका युवा तथा विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधान च्यात्ने काम गरेको भन्दै नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षनिकटका युवा तथा विद्यार्थी संगठनले आन्दोलन तीव्र पार्ने चेतावनी दिएका हुन् ।

आइतबार बुटवलमा पत्रकार सम्मेलन गरेर उनीहरूले सडकबाटै राजतन्त्र फालेर गणतन्त्र ल्याएको तथ्य स्मरण गर्दै जनभावनाविपरीत गरिएको कार्यविरुद्ध सडकबाटै आन्दोलन गरेर संसद् पुनर्स्थापना गरेरै छाड्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय युवा संघका पूर्वकेन्द्रीय उपाध्यक्ष राजु गुरुङले प्रधानमन्त्रीले संविधानमाथि ‘कु’ गरेर संविधान च्यात्ने काम गरेकाले त्यसका विरुद्ध आन्दोलनको आँधीबेहरी सिर्जना गरिने र संसद् पुनर्स्थापना गराएरै छाडिने बताए ।

लोकतन्त्र, गणतन्त्र, संविधान बचाउन जरुरी रहेको चर्चा गर्दै उनले जनताको चाहना पूरा गरेरै छाडिने बताए । प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनलाई भड्खालोमा हाल्ने काम गरेको भन्दै आफूहरू कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउँदै लेजाने दिशामा अगाडि बढ्ने बताए ।

काम गर्न अवरोध भएका कारण संसद् विघटन गरेको प्रधानमन्त्रीको तर्कप्रति असहमति जानाउँदै उनले प्रधानमन्त्रीलाई काम गर्न कुनै अवरोध नभएको अवस्थामा प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर पार्टीभन्दा माथि भएको देखाउँन खोज्नु कुनै हालतमा जायज नभएको बताए ।

उनले पार्टीका नेताहरूमाथि अपमान गर्ने किसिमका काम भएमा युवाहरू चुप लागेर नबस्ने चेतावनी पनि दिए । उनले भने,  यदि त्यस किसिमको कुनै अपमान हुन्छ भने त्यसको प्रतिवाद अनुशासित ढंगले जवाफ पुग्ने गरी दिन्छौँ ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य सरिता श्रीषले काम गर्न दिइएन भन्दै संविधानको घाटी रेट्ने काम भएको भन्दै संसद् पुर्स्थापनाको विकल्प नरहेको बताइन् । उनले संविधानमाथि प्रहार भएको यस अवस्थामा सबै दलमा आबद्ध युवा विद्यार्थी एक जुट भएर असंवैधानिक कदमविरुद्ध  उभिनुपर्नेमा जोड दिइन् ।

विद्यार्थी नेता अनुप पोखरेलले साधारण सदस्य वितरण गरेजस्तै केन्द्रीय सदस्यको पद वितरण भएको भन्दै त्यसमा आमविद्यार्थी नेता नअल्झिएर शैक्षिक र राजनीतिक एजेन्डासहित आन्दोलनमा उत्रिन सबैलाई आग्रह गरे ।