मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ पौष १९ आइतबार ०८:४१:००
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

मन्त्रीले लेखेको गीत सडकमा गाउँदै आन्दोलनकारी

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ पौष १९ आइतबार ०८:४१:००

गणतन्त्र ल्याउन गाउँघरमा जनपक्षीय गीत गाउँदै हिँडेका गायक प्रदीप देवानले प्रधानमन्त्रीको गैरसंवैधानिक कदमविरुद्धको सडक आन्दोलनमा १७ वर्षअघि आफूले गाएको गीत सुनाए

गायक प्रदीप देवान माइतीघर मण्डलामा ‘अरुण तरेर, नाना तमोर तरेर..’ गाइरहेका थिए । यो गीत जनयुद्धकालभरि गायक देवानले गाए । जनयुद्धको उत्तराद्र्धतिर तयार भएको यो गीतको कथा अर्कै छ । यो गीतले जनयुद्धमा पारेको प्रभावको चर्चा अर्को विषय बन्ला । तर, जनयुद्धमा कामयावी बनेको यो गीत गणतन्त्र आएपछि पनि माइतीघरमा गायक देवान उही ऊर्जाका साथ गाइरहेका थिए । 

हजारौँ देवानहरूमध्ये कोही माइतीघरमा उभिइरहेका छन्, कोही अरबमा छन् त कोही यतै कतै भाँचिएका हातखुट्टा या त गोलीका खत बोकेर न्याय खोजिरहेका छन् । केही देवानहरू यही देशमा शक्तिको नशामा लठ्ठ छन् । कुर्सीका लागि लडिरहेछन् । गायक देवान भावुक हुँदै सुनाउँछन्, ‘पहिला हामी हजारौँ सँगै थियौँ, क्रान्तिको उद्देश्य एकै थियो । अहिले सबै तितरबितर छौँ, उद्देश्य पनि फरक छन् । तर, अझै क्रान्ति सकिएको छैन ।’

गायक देवान नागरिक समाजले गरेको प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदमविरुद्धको आन्दोलनमा सहभागी हुन आइपुगेका थिए, माइतीघर मण्डलामा । लेखक तथा विश्लेषक युग पाठकको संयोजनमा भएको नागरिक समाजको विरोध कार्यक्रमको अन्तिम दिन आएका देवान जनयुद्ध सम्झिँदै यही गीत गाइरहेका थिए । थोरैथोरै जनयुद्ध र गीतको प्रसंग पनि सुनाइरहेका थिए । 

गायक देवानको स्मृतिबाट अझै हटेको छैन, यो गीत पहिलोपटक कहाँ सुनाएका थिए । ०६० सालतिर जनयुद्ध उत्कर्षमा थियो । देवान जनसांस्कृतिक महासंघका सदस्य थिए, साथै प्रशिक्षक पनि । सामना परिवारलाई संगीत सिकाउँथे । पूर्वमन्त्री वर्षमान पुनको डिजाइनमा भोजपुर सदरमुकाम हमलाको योजना बन्यो । जनमुक्ति सेना, जनसांस्कृतिक महासंघका सदस्यहरू सबै आ–आफ्नो जिम्मेवारीमा खटिए । र, हमलाको अन्तिम ब्रिफिङ सुरु भयो । सोलुखुम्बु, भोजपुर, ओखलढुंगाको सिमानामा ब्रिफिङ भएको थियो । त्यही अन्तिम ब्रिफिङमा देवानले पहिलोपटक यही गीत गाए, ‘अरुण तरेर नाना तमोर तरेर...।’ 

यो आजभन्दा १७ वर्षअगाडिको कुरा हो । अहिले आएर पनि देवान यही गीत गाइरहेका छन् । भलै १७ वर्षअगाडि देवानले यो गीत गाएको ठाउँ र अहिले गाएको ठाउँ फरक छ । तर, गीत गाउनुको उद्देश्य लगभग एकै छ । देवान सुनाउँछन्, ‘पहिला राजतन्त्र फाल्नका लागि यो गीत गाएको थिएँ, अहिले ओलीतन्त्र फाल्नका लागि यही गीत गाइरहेको छु । भोलि के–के तन्त्र फाल्नका लागि गाउनुपर्ने हो, थाहा छैन ।’

पहिला राजतन्त्र फाल्नका लागि यो गीत गाएको थिएँ, अहिले ओलीतन्त्र फाल्नका लागि यही गीत गाइरहेको छु । भोलि के के तन्त्र फाल्नका लागि गाउनुपर्ने हो, थाहा छैन । यस्ता गीत गाइरहन्छु । किनभने जनयुद्ध अझै सकिएको छैन । पात्र मात्र फेरिएको हो । - प्रदीप देवान, गायक

साबिकको पूर्वाञ्चल क्षेत्रमा खटिइरहेका थिए, गायक देवान । त्यही वेला उनले एउटा ट्युन अचानक गुनगुनाए । ट्युन उनी आफैँलाई गजबको लाग्यो । साथमा तत्कालीन जनसांस्कृतिक महासंघका अध्यक्ष तथा अहिलेका खानेपानीमन्त्री मणि थापा पनि थिए । देवानले भने, ‘दाइ, यो ट्युन निस्कियो । यसमा शब्द लेखिदिनुपर्‍यो ।’ 
यसपछि थापाले शब्द लेखे–
अरुण तरेर, नाना तमोर तरेर 
आयौँ हामी वीरताको गाथा कोरेर । 

देवानले गीत तयार गरे । गाए । देवान सुनाउँछन्, ‘यो गीत त्यतिवेलै हाम्रो संगठनभित्र हिट भइसकेको थियो । पछि मात्र रेकर्ड गराएँ ।’ पछि जनयुद्ध रोकियो । माओवादी शान्ति प्रक्रियामा आयो । दोस्रो जनआन्दोलन भयो । राजतन्त्र हट्यो । गणतन्त्र आयो । तर, देवानहरू यही र यस्तै गीत गाउन बाध्य छन् । माइतीघर मण्डलामा उभिएर अझै चिच्याइरहेका छन् । देवानको मत छ, ‘यस्ता गीत त गाइरहन्छु नै । किनभने, जनयुद्ध अझै सकिएको छैन । पात्र मात्र फेरिएको हो ।’

माइतीघरमा नागरिक समाजले गरेको कार्यक्रममा शिल्पी थिएटरका कलाकारले आफ्नो प्रस्तुति पनि दिए । कार्टुनिस्ट रवि मिश्रको अवधारणामा बनेको सडक नाटकको निर्देशन घिमिरे युवराजले गरेका थिए । दुई वर्ष कार्यकाल छँदै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदमलाई व्यंग्य गरेको नाटकको कलाकारलाई सम्झिँदै गायक देवान भन्छन्, ‘ती कलिला भाइबहिनी त यसरी ऊर्जाका साथ राज्यसत्तासँग लडिरहेका छन् भने म त त्यति लामो समय गुजारेर आएको छु । म झनै लड्नैपर्छ, लडाइँ अझै सकिएको छैन ।’ 

गायक देवान ०६१ सालमा जेल परे । उनलाई नख्खु कारागारमा राखियो । दोस्रो जनआन्दोलन सकिएपछि उनी रिहा भए । ३० भदौ ०६३ मा नख्खु कारागारबाट छुटे । त्यसपछि पनि निरन्तर लडिरहेका छन् । भिडिरहेका छन् । भन्छन्, ‘अब लडाइँको अर्थ फरक भइसकेको छ । ज–जसले हामीलाई सुरुङ खनाएर युद्ध गराएका थिए, त्यतिवेलाको नेतृत्व कहाँ थियो ? सबैलाई थाहा छ । अहिले त्यही नेतृत्व कहाँ छ, त्यो पनि सबैलाई थाहा छ ।’ 

अहिले प्रधानमन्त्री ओलीले जुन कदम चालेका छन्, त्यसका लागि उनी योग्य नभएको बताउँछन् गायक देवान । यो परिवर्तन आफूहरूजस्ताका कारण आएको या आफूहरूजस्ता जनता लडेर आएको बुझाइ उनको छ । तर, प्रधानमन्त्रीलाई यस्तो किसिमको गैरसंवैधानिक कदम चाल्ने अधिकार नभएको भन्दै आक्रोश पोख्छन्, उनी । आफ्नै नेतृत्वसँग पनि उनको गुनासो त छँदैछ । भन्छन्, ‘आफ्नै नेतृत्वसँग गुनासो त छ, तर अहिले प्रधानमन्त्रीले जुन कदम चालेका छन्, त्यसले सम्पूर्ण परिवर्तनको उपहास गरेको छ । प्रधानमन्त्रीलाई यस्तो कदम चाल्ने छुट छैन ।’ यदि यस्तो दिन आउँछ भन्ने ठानेको भए मुक्तिको र मृत्युको शपथ खाएर नहिँड्ने बताउँदै चाबहिल बस्दै आएका उनी सार्वजनिक बस चढे ।