Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष १८ शनिबार २१:३५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुरक्षा विधि अपनाउँदै १ माघदेखि पर्यटकका लागि घान्द्रुक खुल्ने 

Read Time : > 1 मिनेट
२०७७ पौष १८ शनिबार २१:३५:००

अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य घान्द्रुकमा १ माघदेखि पर्यटक जान पाउने भएका छन् । कोरोना संक्रमणको त्राससँगै गत नौ महिनादेखि बन्द रहेको घान्द्रुक स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर खोल्न लागिएको हो । 

पोखराका पर्यटनसँग सम्बन्धित व्यवसायी संघसंस्थाले आग्रह नै गरेपछि नौ महिनापछि घान्दु्रकमा पर्यटकीय गतिविधिका लागि खुला गरिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले जानकारी दिए । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पत्रकार भेटघाट कार्यक्रम गरी अब पर्यटकलाई न्यानो आतिथ्यता गर्न घान्द्रुक तयार भएको जानकारी दिइएको हो ।

अध्यक्ष गुरुङले सुरुमा कोभिडका कारण डराएर घान्द्रुक नखोल्दा आलोचना भए पनि स्थानीय र पर्यटक बचाउनका लागि आलोचना सहेर भए पनि घान्द्रुक खोल्न हतार नगरेको उनको भनाइ छ । तर, लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित घान्द्रुकबासी मारमा पर्दै गएको र पोखराका पर्यटकीय संघसंस्थाले पनि खोल्न आग्रह गरेकाले खोल्ने निर्णय भएको अध्यक्ष गुरुङले बताए ।

स्वास्थ्यका सबै मापदण्ड पूरा गर्नुका साथै पुगेका पर्यटकलाई समस्या भए आइसोलेसनको व्यवस्था गरिएको उनको भनाइ छ । ‘स्वास्थ्यसुरक्षाका लागि सबै उपाए अपनाएका छौँ । एकजना नर्ससहित सुविधासम्पन्न आइसोलेसनको समेत व्यवस्था गरेका छौँ,’ उनले भने ।

उक्त क्षेत्र खुलेसँगै पर्यटक घान्द्रुकसहित घोरेपानीसम्म पुग्न सक्नेछन् । पत्रकार भेटघाट कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय गन्तव्य घान्द्रुक खुल्नु खुसीको विषय भएको बताए । पर्यटकीय आऊ भन्ने तर, पर्यटकीय क्षेत्र नखुल्दा समस्या रहने भन्दै उनले घान्द्रुक दुई÷तीन महिनाअघि नै खोल्नुपर्नेमा ढिलाइ भएको    बताए । हामीले पर्यटक आऊ भनिरहँदा पर्यटकीय क्षेत्रहरू बन्द छन्, ‘पर्यटकीय क्षेत्र बन्द गरेर पर्यटक बोलाउनु भनेको बाटो छेकेर आऊ भनेजस्तै हो, त्यसैले यी क्षेत्र खुल्नुपर्छ, घान्द्रुक क्षेत्र खुल्दा हामी खुसी छौँ ।’ उनले अन्य पर्यटकीय क्षेत्र पनि खुलाउँदै लैजानुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीले अब पर्यटकीय गन्तव्य क्षेत्र खुलाउँदै जानुपर्ने बताए । आफूले पहिलेदेखि नै घान्द्रुक खोल्न आग्रह गरिरहेको भन्दै ढिलै भए पनि घान्द्रुक क्षेत्र खुल्दा पर्यटनमा उत्साह थपिने विश्वास व्यक्त गरे । 

पर्यटन पुनरुत्थान समिति गण्डकी प्रदेश संयोजक अग्निप्रसाद कँडेलले घान्द्रुक क्षेत्र खुल्नु व्यवसायी र पर्यटक दुवैका लागि खुसीको कुरा भएको बताए । अब सधैँ कोभिडदेखि डराएर हुँदैन, उनले भने, ‘कोभिडसँग जुध्दै पुरानै लयमा फर्किनुको विकल्प छैन ।’ उनले आम्दानी नै नभएपछि भोलि भोकमरीको अवस्था आउने भन्दै त्यो अवस्था आउन नदिन सरकार, निजी क्षेत्र र आमनागरिक सबै अग्रसर हुनुपर्ने बताए ।