मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष १८ शनिबार १५:२८:००
Read Time : > 3 मिनेट
फिचर

कोरोनाले २०२० मा खेल क्षेत्रमा परेको असर : ओलम्पिकदेखि टी–२० विश्वकपसम्म रोकिए

Read Time : > 3 मिनेट
२०७७ पौष १८ शनिबार १५:२८:००

गत वर्ष कोरोना भाइरस (कोभिड–१९) ले सबै क्षेत्रमा प्रभाव पार्‍यो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका सबै राष्ट्रमा फैलिसकेको छ । विश्वलाई आक्रान्त बनाएको कोरोनाले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोतिगामा असर नपार्ने कुरै भएन । दैनिक हजारभन्दा माथि संक्रमित देखिन थालेपछि युरोपलगायत अन्य राष्ट्रले घरेलु खेलकुद प्रतियोगिता स्थगित गर्न बाध्य भए । 

यदि कोभिड–१९ ले महामारीको रुप नलिएको भए गत वर्ष अन्तर्राष्ट्रिय खेलमा रोमान्चकताले भरिएको हुने थियो । टोकियो ओलम्पिकदेखि टी–२० विश्वकपसम्म गत वर्ष नै तोकिएको थियो । तर, कोभिड–१९ का कारण ती सबै महत्वपूर्ण खेल स्थगित भए ।

युरोपियन राष्ट्रहरूले खेल सुचारु गर्न आँटिलो निर्णय लिँदा विनादर्शक नै भए पनि फुटबल लिग तथा फुटबल प्रतियोगिता भए । यद्यपि, युरोपले युरोकप २०२० भने गर्न सकेन । यस कारण कोरोना भाइरसले गत वर्ष पूरै ढाकेको भन्दा फरक नपर्ला ।

टोकियो ओलम्पिक
जापानले टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताका लागि अर्बौँ डलर खर्च गरिसकेको थियो । कोभिड–१९ सुरु हुनुअघि जापानले लगभग सबै खेलस्थल तथा एथलेटिक्स भिलेज तयार पारिसकेको थियो । आयोजक जापानले कोरोना भाइरस त्यति लामो समयसम्म नजाने र टोकियो ओलम्पिकको मितिसम्म यो भाइरस हट्ने विश्वास लिएको थियो । यसकारण युरोप तथा अमेरिकामा भाइरस तीव्रतापूर्वक बढिरहँदा जापान ढुक्कका साथ ओलम्पिकको तयारी गरिरहेको थियो । 

तर, कोरोना अनियन्त्रित तथा यसको भ्याक्सिन उत्पादन नहुँदा टोकियो ओलम्पिक जोखिम हुने देखियो । टोकियो सहरका मेयर तथा आयोजक कमिटीका अध्यक्षसमेत रहेका योसिरो मोरीले दर्शक, खेलाडी तथा अफिसियलहरूको सुरक्षा जनाउँदै २०२१ सम्म टोकियो ओलम्पिक स्थगित गरेको घोषणा नै गरे । 

यसो त ओलम्पिक प्रतियोगितामा सहभागिता जनाउनु तथा पदक जित्नु खेलाडीहरूको सपना नै हो । वर्षौँदेखिको मिहिनेत समयमै प्रयोग गर्न नपाउँदा खेलाडी निराश छन् । अब उनीहरू यसै वर्ष हुने भनिएको टोकियो ओलम्पिकको तयारी सुरुदेखि नै गर्नेछन् । 

रहेनन् दुई लिजेन्ड
एकातिर कोभिड–१९ ले खेल क्षेत्र प्रभावित हुँदा खेलाडी त्यति नै दुःखी बने भने अर्कोतिर सन् २०२० मा खेल क्षेत्रले दुई महान् व्यक्ति गुमायो । फुटबलका डिएगो म्याराडोना र बास्केटबलका कोवी ब्रायन्ट यस संसारबाट बिदा भए । यी दुवै व्यक्तित्व फरक–फरक क्षेत्रका भए पनि सम्मानित पात्र थिए । बास्केटबल क्षेत्रमा ब्रायन्टलाई ताराका रूपमा लिने   गरिन्छ । अर्जेन्टिनी लिजेन्ड म्याराडोनाको निधन अझै पनि पत्याउन गाह्रो छ । 

गत डिसेम्बरमा हर्ट एट्याक्टका कारण म्याराडोनाको ६० वर्षको उमेरमा निधन भयो । उनको निधनको समाचारले सिंगो फुटबल क्षेत्र नै स्तब्ध भयो । जीवनभर आलोचना गरेका ब्राजिलियन पेलेले म्याराडोनाको मृत्युपछि प्रशंसाको शब्द खर्चिन बाध्य भए । पेलेले यतिसम्म भने कि ‘जिउँदो हुँदा सँगै खेल्न नपाएको इच्छा स्वर्गमा म्याराडोनासँग एकै टोलीबाट खेल्ने अवसर मिल्नेछ ।’ फुटबल क्षेत्रमा म्याराडोना कतिपयले निकै असल र कतिपयले अति नै खराब खेलाडीका रूपमा लिने गरिन्छ । 

लागुऔषध प्रयोगकर्ता, सन्की तथा छुच्चो बोलीका कारण उनी सधैँ विवादित बने । यसका बाबजुद पनि जादुमयी खेल प्रदर्शन गर्न सक्ने खुबीका कारण म्याराडोना त्यति नै चर्चित बने । सन् १९८६ को मेक्सिको विश्वकपमा म्याराडोनाले इंग्ल्यान्डविरुद्ध गरेको एक हाते गोल तथा अर्को ६ खेलाडीलाई कटाएर गरेको गोल अहिलेसम्म पनि उत्कृष्ट मानिएको छ । म्याराडोनाले हातले गरेको गोललाई ‘ह्यान्ड अफ गड’ भनिएको छ । 

म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई एकपटक विश्व च्याम्पियन तथा उपविजेतासमेत बनाएका थिए । बार्सिलोना तथा नेपोली क्लबमा आबद्ध हुँदा उनी तत्कालका विश्वकीर्तिमानी खेलाडी बने । इटाली क्लब नेपोलीलाई एक नम्बर क्लब बनाएका म्याराडोनाले अन्तिम समयमा स्थानीय क्लबको प्रशिक्षकका रूपमा भूमिका निर्वाह गरे । 

नाडालद्वारा फेडेररको बराबरी
कोरोना बिस्तारै फैलिरहँदा जनवरी महिनामा अस्ट्रेलियन ओपन आयोजना भयो । शीर्ष वरीयताका नोभोक जोकोभिकले अस्ट्रेलियन ओपनमाथि कब्जा जमाए । त्यसपछि कोभिडको प्रभाव प¥यो । क्रमशः फ्रेन्च, विम्बल्डन तथा युएस ओपनको मिति सारियो । वर्षभरि नै सक्रिय रूपमा कोर्टमा रहने टेनिस खेलाडीहरू घरमै बस्न बाध्य भए । वरीयताविहीन खेलाडी आर्थिक समस्याबाट गुज्रे । स्टार टेनिस खेलाडीहरूले त्यस्ता खेलाडीलाई भर्चुअल टेनिस प्रतियोगिताको माध्यमबाट आर्थिक संकलन गरी सहयोगसमेत गरे । 

मार्चपछि एटिपी र डब्लुटिएले दर्शकरहित टेनिस प्रतियोगिता हुने घोषणा गर्दा खेलाडी दंग परे । युएस ओपनमा उपाधि दाबेदार मानिएका राफेल नाडाल र रोजर फेडेरर नहुने भनिएपछि जोकोभिक नै एक मात्र शक्तिशाली खेलाडीका रूपमा रहे । तर, उनले क्वार्टरफाइनलमा अन्जानबस साइड बल अम्पायरलाई हान्न पुगे । युएस ओपन कमिटीले जोकोभिकलाई तत्कालै ‘प्रतियोगिताको अयोग्य खेलाडी’ घोषित गरे । 

त्यसको केही समयपछि फ्रेन्च ओपन भयो । फ्रेन्च ओपनको फाइनलमा नाडाल र जोकोभिकबीच फाइनल खेल भयो । क्ले कोर्टका बादसाहले जोकोभिकलाई सहजै ३–० को सेटमा हराउँदै कीर्तिमानी रूपमा १३औँपटक उपाधि जिते । साथै उनले फेडेररको नाममा रहेको २० ग्रान्डस्लामको विश्वकीर्तिमानी पनि बराबरी गर्न सफल रहे । पूरै वर्ष कोर्टबाहिर रहेका फेडेरर गत वर्ष सर्वाधिक कमाइ गर्ने खेलाडी बने । 

युएईमा आइपिएल

भारतीय क्रिकेट बोर्डले सुरक्षाको कारण देखाउँदै १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) युएईमा हुने भनियो । युएईले कोभिड–१९ विरुद्ध अपनाएको नीति तथा सुरक्षा व्यवस्था राम्रो भएकाले नै बन्द रंगशालाभित्र आइपिएल सम्पन्न भयो । साविक विजेता मुम्बई इन्डियन्सले सहजै पहिलोपटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्सलाई हराउँदै पाँचौँपटक च्याम्पियनसिप उपाधि जित्यो । आइपिएलमा यसपटक व्यक्तिगत रूपमा धेरै कीर्तिमान बने । चेन्नई सुपर किंग्स पहिलोपटक प्ले अफ स्थान बनाउन सकेन । कोरोनाबीचमै इंग्ल्यान्डले पाकिस्तान र वेस्टइन्डिजसँग क्रिकेट सिरिज खेलेको थियो । क्यारेबियन प्रिमियर लिग पनि भएको थियो । 

३० वर्षपछि लिभरपुरको सान
प्रशिक्षक जर्गेन क्लोपले लिभरपुललाई ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउन सफल भए । तीन दशकपछि लिभरपुल इपिएल च्याम्पियन हुँदा दर्शकको साथ भने पाएन । कोरोना महामारी चलिरहँदा बुन्डेस लिगा सुरु भएको   थियो । बायर्न म्युनिखले आफ्नो लिगमा एकाधिकार जमाउँदै तीन उपाधि उचाल्यो । गत वर्ष नै बायर्नले पहिलोपटक फाइनल पुगेको पेरिस जेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
यता पाँच वर्षपछि रियल म्याड्रिडले स्पेनिस ला लिगा जित्यो । इटालीमा युभेन्ट्सलाई पाखा लगाउन अन्य क्लब   देखिएनन् । बार्सिलोना एक दशकपछि उपाधिविहीन भयो । बार्सिलोनाका कप्तान लियोनल मेसीले क्लब छाड्ने घोषणा गर्दा विश्व फुटबलमै हलचल मच्चियो । युरोपमा यी दुवै फुटबल खेल विनादर्शक भएको थियो ।