मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष १७ शुक्रबार १५:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

६ महिनापछि बोलाइयो बागमती प्रदेश सभा

Read Time : > 1 मिनेट
२०७७ पौष १७ शुक्रबार १५:०६:००

८ साउनमा बजेट पारित र छैटाैँ अधिवेशन अन्त्यसँगै स्थगित भएको बागमती प्रदेश सभा बैठक बोलाइएको छ ।

६ महिनापछि ७ माघमा सातौँ अधिवेशन सुरु गर्ने गरी बागमती प्रदेश सरकारले प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन ७ माघ दिउँसो ३ बजेका लागि बोलाउन प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पत्राचार गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

कानुनअनुसार एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउने पर्ने बाध्यकारी अवस्थाका कारण मन्त्रिपरिषद् बैठकले ७ माघमा बैठक बोलाउने निर्णय गरेको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले १० पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशसभा बैठक बोलाउनेबारे चर्चा सुरु भएको थियो ।

प्रचण्ड–नेपाल समूहका ४५ सांसदको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरूले सक्दो छिटो प्रदेश सभा बैठक बोलाउन सभामुख सानुकुमार श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने आशंका गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सभा बैठक बोलाउन ढिलाइ गरिरहेका थिए । तर, कानुनी व्यवस्थाअनुसार नयाँ अधिवेशन बोलाउन ६ महिना गुजार्न नपाइने भएपछि उनीमाथि बाध्यकारी अवस्था सिर्जना भएको हो ।

नेकपाभित्रको द्वन्द्व

अविश्वासको प्रस्तावसँगै नेकपा बागमती संसदीय दलभित्र कारबाहीको शृंखला  चलेको थियो । प्रचण्ड–नेपाल समूहका ४५ सांसदले मुख्यमन्त्री पौडेललाई संसदीय दलको नेताबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेपछि पौडेलले पनि उपनेता शालिकराम जमकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त र ३० जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । नेकपामा केन्द्रीय फुटसँगै प्रदेशमा द्वन्द्व सिर्जना हुँदा सत्तारुढ दलबाटै अविश्वासको प्रस्ताव र एकले अर्कोलाई कारबाही गर्ने शृंखका कारण प्रदेश सभा बैठकमा चर्काचर्की पर्ने निश्चित छ । 

मुख्यमन्त्री पौडेलले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको बताउँदै आएका छन् । उनले औपचारिक कार्यक्रममै विकासविरोधीहरूले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको र त्यसको सामना गर्न आफू तयार रहेको दाबी गरेका छन् । ‘जनताको हित र विकासविरोधीहरूले सरकारलाई अस्थिर बनाउन अविश्वासको प्रस्ताव ल्याएका छन्,’ उनले भने, ‘म त्यसको सामना गर्न तयार छु ।’

प्रस्तावमाथि प्रक्रिया अघि बढ्छ : सभामुख

बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रक्रिया अघि बढ्ने बताएका छन् ।

उनले प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावबारे नियम, कानुन र प्रदेश सभा नियमावलीअनुसार प्रक्रिया अघि बढ्ने बताए । ‘प्रदेश सभा बैठक सुरु भएपछि अविश्वासको प्रस्ताव प्रक्रियागत रूपमा अघि बढ्छ,’ उनले भने ।

अविश्वासको प्रस्ताव दर्तापछि प्रचण्ड–नेपाल समूहका सांसदहरूले सभामुख श्रेष्ठसँग १० पुसमै छलफल गरेका थिए ।