मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ पौष १७ शुक्रबार ०६:५०:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

रुकुम पश्चिममा अब स्थानीय तहमै माटो परीक्षण

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ पौष १७ शुक्रबार ०६:५०:००

माटो परीक्षणका लागि जिल्लाबाहिर पठाउनुपर्ने यहाँका कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । यसका लागि जिल्लाका ६ वटै स्थानीय तहमा माटो परीक्षण प्रयोगशाला स्थापना गरिन लागेको छ ।

प्रयोगशाला स्थापनाका लागि स्थानीय तहले आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गरिरहेका छन् । प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री आइसकेको र जडान गर्नेलगायतका काम मात्रै बाँकी रहेको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताए । प्रयोगशाला स्थापनाका लागि तीन लाख ५० हजार खर्च गरिएको छ ।

प्रयोगशालामा खटिने कर्मचारीका लागि पनि तालिम दिइसकिएको र अब छिटै गाउँपालिकामै माटो परीक्षण सुरु हुने उनले बताए । आठबीसकोट नगरपालिकाका मेयर गोर्खबहादुर केसीले पनि केही दिनमा माटो परीक्षण सुरु हुने बताए । तीन लाख ५० हजार खर्च गरेर मेसिन किनेर ल्याइसकेको र बाँकी व्यवस्थापन गरेर परीक्षण सुरु गर्ने उनको भनाइ छ । 

सबै स्थानीय तहका एक–एकजना कर्मचारीलाई प्रयोगशाला सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । अहिलेलाई सबै स्थानीय तहका कृषि शाखाका प्रमुखलाई माटो परीक्षणसम्बन्धी आवश्यक तालिम प्रदान गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

स्थानीय तहले खरिद गरेका मेसिनले माटोमा १४ प्रकारका गुण पत्ता लगाउने प्रयोगशाला स्थापनामा सहयोग गरिरहेका कृषिविज्ञ राजेन्द्र देवकोटाले बताए । माटोमा अम्लीयपन, क्षारीयपन, इसी, सूक्ष्म खाद्य तŒव, मुख्य खाद्यतŒवलगायतको डिजिटल नतिजा देखाउने र प्रिन्ट गरेर किसानलाई दिन पनि मिल्ने उनले बताए । एक सयवटा माटोको नमुना परीक्षण गर्ने रि–एजेन्ट किट मेसिनसँगै आएको छ । 

अहिले माटो परीक्षणका लागि क्षेत्रीय माटो प्रयोगशाला नेपालगन्ज तथा सुर्खेत पठाउने गरिएको छ । परीक्षण नगरी खेती गरिँदा उत्पादन बढ्न नसकेको स्थानीय तहको निष्कर्ष छ । माटोसुहाउँदो खेती गर्ने र उत्पादन बढाउने उद्देश्यले माटो परीक्षण प्रयोगशाला स्थापना गर्न लागिएको जनाइएको छ । 

अहिले जिल्लामा कृषकले परम्परागत शैलीमै खेतिपाती गर्दै आएका छन् । आफ्नो बारीको माटोमा कस्तो गुण छ र त्यसमा कस्तो खेती फस्टाउँछ भन्ने ज्ञान धेरै कृषकलाई छैन । जसका कारण हुनुपर्ने जति उत्पादन हुन नसकेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले बताए । ‘माटोमा देखिएको समस्या पनि जान्न सकिएको छैन, जसले गर्दा माटोको उपचार भएको छैन भने बिग्रिएको माटोमा खेती गर्दा उत्पादन बढ्न सकेको छैन,’ उनले भने ।