गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्री केपी ओलीको बाध्यता भएको बताएका छन् । बिहीबार लमजुङको बेसीसहरमा आयोजित ओलीपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीको बचाउ गर्दै उनले भने, ‘प्रतिपक्ष पार्टीले समेत नल्याएको अविश्वासको प्रस्ताव संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्रीलाई थाहै नदिई दर्ता गर्न खोजियो, लोभीपापीलाई सत्ता हस्तान्तरण गर्नुभन्दा जनतामै जानु उपयुक्त भएकाले प्रधानमन्त्रीले संसद् विघटन गर्नुभयो ।’
मुख्यमन्त्री गुरुङले अहिलेको अवस्था महाधिवेशनविनै नेतृत्व हत्याउने र जनमतविपरीत छिटो प्रधानमन्त्री बन्ने चाहनाले आएको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका गुरुङले प्रचण्ड र माधव नेपालप्रति इंगित गर्दै भने, ‘यो लडाइँ विधि, सिद्धान्त र विचारको नभई महाधिवेशनविनै नेतृत्व हत्याउने र जनमतविपरीत प्रधानमन्त्री बन्न खोज्ने नेताको चाहनाले आएको हो ।’
मुख्यमन्त्री गुरुङले केपी ओलीले नेतृत्व गरेको नेकपा नै मूलधार भएको बताए ।