Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष १६ बिहीबार १७:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई पौडेलको चेतावनी- ओलीले किस्तीमा राखेर प्रधानमन्त्री पद दिँदैनन्

Read Time : > 1 मिनेट
२०७७ पौष १६ बिहीबार १७:५५:००

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको आफ्नो सरकारलाई ढालेका केपी ओलीले प्रधानमन्त्री पद किस्तीमा राखेर दिन्छन् भन्ने नठान्न सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । 

कास्की कांग्रेसले आयोजना गरेको ४५औँ राष्ट्रिय एकता एवं मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाैडेलले भने, ‘केपी ओलीले हुँदाखाँदाको आफ्नो दुईतिहाइको सरकार फालेर चुनाव गर्नकै लागि संसद् भंग गरेका होइनन् । आफ्नो पक्षमा दुईतिहाइ रहेको संसद भंग गर्नेले कसरी चुनाव गर्छ ? ओलीले चुनाव गर्छन् र किस्तीमा राखेर प्रधानमन्त्री पद दिन्छन् अनि खाउँला भनेर बस्ने वेला यो होइन।’ 

पार्टी सभापति देउवातर्फ संकेत गर्दै वरिष्ठ नेता पौडेलले केन्द्रीय कार्यसमिति बैठकमा बोल्नुहुन्न, धेरै संघर्ष गर्न हुन्न भनेको विषयमा प्रतिवाद गरेको बताए । ‘केही साथीहरूले केन्द्रीय समिति बैठकमा केपी ओलीले चुनाव नगरेर नेपालमा कहाँ बस्न सक्छन् । चुनाव नगरे आँधीबेहेरी आउँछ,’ उनले भने, ‘त्यस्तो आँधीबेहेरी आउँदा ओली मात्र होइन हामी पनि बढारिने अवस्था आउन सक्छ । त्यसैले प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध अहिले नै सशक्त कदम चाल्नुपर्छ भनेर भनेको छु ।’ 

नेता पौडेलले देउवालाई प्रश्न गर्दै भने, ‘अदालतमा विचाराधीन अवस्थामा रहेको विषयमा बोल्न उचित हुन्न भनेर के भन्न खोजेको हो ?’ 

अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको भूमरीमा देश

प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नै नरहेको अधिकार प्रयोग गर्दै संसद् विघटन गरेर देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको भूमरीमा धकेलेको पौडेलले आरोप लगाए । भाारतीय र चिनियाँ पक्षका पछिल्ला भ्रमणलाई संकेत गर्दै उनले भने, ‘अहिले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको दौडधुप गर्ने काम कसरी भइरहेको छ । यहाँहरूले देख्नुभएकै छ । ओलीले संसद् विघटन गरेर यस्ता केन्द्रहरूलाई खुला आमन्त्रण गरेका छन् ।’ 

वरिष्ठ नेता पौडेलले यो भुमरीबाट मुलुकलाई बचाउन संसद् पुनर्स्थापना गर्नुको विकल्प नरहेको बतए । अदालतले संविधानका अक्षर, त्यसको मर्म र संविधान विधिदाताको मनसायलाई बुझ्ने उनले विश्वास प्रकट गरे । 

तत्कालीन एमाले र तत्कालीन माओवादी देशमा देखिएको राजनीतिक अस्थिरता रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा रहेको स्मरण गर्दै उनले त्यसको वकालत गर्नेमध्य एक प्रधानमन्त्री ओलीसमेत रहेको बताए ।


सबैको भावना सुन्नुपर्छ भनेर दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने र पाँच वर्षसम्म संसद् भंग गर्न नपाइने व्यवस्थामा त्यतिवेला सम्झौता भएको उनले स्मरण गरेका छन् । संसद्ले सरकार दिन नसक्ने अवस्थामा मात्र त्यो भंग हुने व्यवस्था गरिएको उनले सम्झाए ।  

गणतन्त्र र परिवर्तनविरोधी ओलीको हातमा सत्ता पुग्दा समस्या

प्रधानमन्त्री ओली संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा रहेको नेता पौडेलको दाबी छ । ‘०६२/६३ को आन्दोलनलाई उनी यस्ता आन्दोलनले केही हुनेवाला छैन भन्थे । बयलगाडा चढेर अमेरिका पुगिँदैन भनेर आन्दोलनको खिसिट्युरी गर्थे । उनको चाहनाविरुद्धको र नसोचेको व्यवस्था भएकाले उनले यसलाई मास्ने प्रयास गर्दै छन् । हामीले यसलाई जोगाउनुपर्छ । संघर्षमा उत्रनुपर्छ,’ उनले भने ।

 आफ्नो चाहनाविपरीतको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको कार्यकारी प्रमुख बन्ने र नेतृत्व गर्ने अवसर तिनै केपी ओलीले पाउनु देशका लागि दुर्भाग्यपूर्ण रहेको उनको टिप्पणी छ । ‘आफ्नो चाहनाविपरीत र नसोचेको परिवर्तनको उपलब्धिस्वरूप आएको संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने काम प्रधानमन्त्री ओलीले गरेका छन् । संविधान मास्नु र त्यसको प्रावधान उल्लंघन गर्नु व्यवस्था मास्नु नै हो,’ उनले भनेका छन् ।