Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विजयराज खनाल काठमाडौं
२०७७ पौष १६ बिहीबार १०:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

८१ अर्ब पुनर्कर्जा स्वीकृत, कोषमा साढे ४२ अर्ब, नपुग रकम अन्य कोष र नोट छापेरै पुर्‍याउनुपर्ने

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ पौष १६ बिहीबार १०:०१:००

नेपाल राष्ट्र बैंकले हालसम्म ८१ अर्ब रुपैयाँबराबरको पुनर्कर्जाको माग स्वीकृत गरेको छ । ग्राहक मूल्यांकनअनुसार दिइने पुनर्कर्जा करिब ३१ अर्ब सात करोड रुपैयाँ र एकमुष्ठ कर्जाका लागि ५० अर्बबराबर रुपैयाँको कर्जा स्वीकृत भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले बताए ।

‘ऋणी ग्राहक मूल्यांकनअनुसार दिइने कर्जामा अधिकांश प्रतिग्राहक पाँच करोड रुपैयाँभन्दा बढी रकमको कर्जा माग भएका हुन्,’ भट्टले भने, ‘तर, अति आवश्यक वर्गका ग्राहकलाई गएको केही कर्जासमेत यसमा समावेश छ ।’ राष्ट्र बैंकले पुनर्कर्जा सुविधालाई तीन वर्गमा विभाजन गरेको छ ।

 बैंकहरूमार्फत आउने प्रतिआवेदन पाँच करोडदेखि २० करोड रुपैयाँसम्मको ग्राहक मूल्यांकन कर्जा आवेदन सोझै राष्ट्र बैंकमा पेस हुने व्यवस्था छ । यस्तो कर्जामा धेरैजसो माग जलविद्युत् र पर्यटन क्षेत्रबाट परेको छ । कोषको २० प्रतिशत रकम ग्राहक मूल्यांकनअनुसारको पुनर्कर्जाका रूपमा लगानी हुनेछ । 

पाँच करोडभन्दा कमका लागि ग्राहकबाट हुने पुनर्कर्जा मागलाई एकमुष्ठ पुनर्कर्जा भनिएको छ । बैंकहरूले यस्तो माग एकमुष्ठ रूपमा राष्ट्र बैंकमा पेस गर्छन् ।

एकमुष्ठ कर्जाका लागि भने ५० अर्बबराबर रुपैयाँको कर्जा स्वीकृत भएको हो । पुनर्कर्जा कोषमा भएको रकममध्ये ७० प्रतिशत रकम यसरी एकमुष्ठ आउने आवेदनका लागि छुट्याइएको हो । गत असोज मसान्तसम्म बैंकहरूमार्फत एकमुष्ठ कर्जाका लागि माग गरिएको थियो । कोषको बाँकी १० प्रतिशत रकम लघुवित् कम्पनीहरूमार्फत लगानी गर्ने रणनीति छ । 

बैंकहरूले राष्ट्र बैंकबाट तीन प्रतिशत ब्याजदरमा साधारण, एक प्रतिशत ब्याजदरमा विशेष पुनर्कर्जा र दुई प्रतिशत ब्याजदरमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा पाउँछन् । बैंकहरूले भने ग्राहकहरूलाई यी कर्जामा क्रमश ः पाँच, तीन र पाँच प्रतिशतसम्म ब्याज लिन सक्छन् । 

हाल कोषमा भने ४२ अर्ब ५० करोड छ । मागभन्दा कोषमा रकम कम भए पनि कोषको आकारको पाँच गुणासम्म बढेर पुनर्कर्जा दिन सक्ने व्यवस्था गरिएको छ । अर्थात् दुई खर्ब १२ अर्ब रुपैयाँसम्म पुनर्कर्जा दिन सकिनेछ ।  कोषमा नपुग भएको रकम राष्ट्र बैंकले तत्काललाई आफ्ना अन्य कोषबाट समेत जोहो गरेर दिने भएको छ । त्यसपछि पनि नपुगेको रकमका लागि भने नचलाइएको नयाँ नोट बजारमा जारी गर्नुपर्ने हुन्छ । अर्को अर्थमा भन्दा नोट छापेरै माग पूरा गर्नुपर्ने हुन्छ । यसले भने बजारमा मुद्रा प्रवाह वृद्धि गर्ने र महँगीदरसमेत बढ्ने हुन सक्छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक)ले कम्तीमा एउटा शाखाबाट पाँच ऋणीलाई विशेष, साधारण र लघु जुनसुकै किसिमका पुनर्कर्जा सुविधा दिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाको शाखा संख्या पाँच हजार चार सय ४३ का आधारमा कम्तीमा २८ हजार सात सयजनाले यस्तो कर्जा पाउने अपेक्षा गरिएको छ । 

राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित व्यवसायका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । पुनर्कर्जा, व्यवसाय निरन्तरता कर्जा मात्रै नभई प्रभावित व्यवसायीलाई बैंकहरूले २० प्रतिशतसम्म चालू पुँजी कर्जा दिन सक्ने सुविधा दिएको छ । व्यवसायीहरूको माग विभिन्न यी कर्जा कार्यक्रमहरूबाट पूरा हुने भएकाले एउटै किसिमको कार्यक्रममा मात्रै धेरै दबाब नपर्ने अनुमान गरिएको छ ।