१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ पौष १५ बुधबार १९:३०:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

मल्टिसिस्टम इन्फ्लामेन्टरी सिन्ड्रोमको जोखिममा किशोरकिशोरी

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ पौष १५ बुधबार १९:३०:००

ज्वरोसँगै स्वास्थ्यमा सामान्य समस्या देखिएपछि १५ वर्षीय निरव पाण्डेलाई दुई साताअघि चाबहिलस्थित ओम अस्पताल भर्ना गरियो । ज्वरो आएका कारण उनका अभिभावकले कोभिडको शंका गर्दै आवश्यक स्वास्थ्य परीक्षण गराए । तर, रिपोर्ट नेगेटिभ आयो । कोभिड नभएको पुष्टि भए पनि निरवको स्वास्थ्य अवस्था दिनहुँ बिग्रँदै गइरहेको थियो । उनलाई भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आयो । तर, के रोग हो भन्ने पत्तै लागेको थिएन । 

पछि उनको एन्टिबडी परीक्षण गर्दा पहिले नै कोभिड संक्रमण भइसकेको पुष्टि भयो । यही कारण उनको फोक्सो र मायोकार्डियोमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताए । उनलाई एमआइएससी अर्थात् मल्टिसिस्टम इन्फ्लामेन्टरी सिन्ड्रोम भएको यकिन गरे । आइभिआइजी नामक औषधि र भेन्टिलेटरको सहयताबाट उनको उपचार गरियो । हाल उनी अस्पतालबाट डिस्चार्ज हुने चरणमा छन् । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले वयस्कको तुलनामा बालबालिका तथा किशोरकिशोरीमा कोभिड संक्रमणको सम्भावना कम रहेको बताउँदै आएको छ । साथै बालबालिकाको मृत्युदर पनि कम रहेको विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् । तर, कोभिड परीक्षणको समयमा रिपोर्ट नेगेटिभ देखिएका वा संक्रमणका कुनै पनि लक्षण नदेखिएका बालबालिकामा पनि कोभिडका कारण हुने हाइपर इन्फ्लामेसन अर्थात् कोभिडपश्चात् इम्युन प्रतिक्रिया बढी सक्रिय हुँदा शरीरका विभिन्न अंगहरू सुन्निने समस्या देखिन थालेको छ । नेपालमा यसभन्दा अगाडि सिभिल अस्पतालमा पनि एकजनामा एमआइएससी रिपोर्ट गरिएको थियो । उनी पनि उपचारपछि निको भएका थिए । 

एमआइएससीका लक्षण
फिजिसियन डा. विश्वनाथ कोइरालाका अनुसार, बालबालिकामा हुने मल्टिसिस्टम इन्फेलेमेन्टरी सिन्ड्रोम एक गम्भीर अवस्था हो । जुन कोभिड भाइरससँग जोडिएको पाइन्छ । एमआइएससी कोभिडपश्चात् इम्युन प्रतिक्रियात्मक इन्फ्लामेन्टरी (सुजन गराउने) रोग हो । कोभिड महामारीपश्चात् पहिलोपटक अप्रिलमा युरोपमा बालबालिकामा इम्युन गडबडीको समस्या पहिचान गरिएको थियो । सामान्यतया कोभिड संक्रमण भएका अधिकांश बालबालिकामा सामान्य लक्षण मात्र देखिन्छन्, तर एमआइएससी अर्थात् मल्टिसिस्टम इन्फेलेमेन्टरी सिन्ड्रोम भएका बालबालिकामा जस्तै, मुटु, फोक्सो, कलेजो, रक्तनली, मिर्गाैला, पाचन प्रणाली, मस्तिष्क, छाला वा आँखा सुन्निने समस्या हुन्छ । यसको लक्षणहरू प्रभावित अंगका आधारमा फरकफरक हुने गर्छन् । महामारीको सुरुवातीमा देखिएको यो समस्याबाट पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको पाइएको थियो । 

सिडिसीका अनुसार बालबालिकामा ज्वरो, छालामा दाग र झाडापखालाको समस्या देखिएको थियो । सुरुवाती चरणमा बालबालिकामा मात्र यस्तो समस्या देखिएकाले यो रोगको नाम ‘मल्टिसिस्टम इन्फेलेमेन्टरी सिन्ड्रोम’ राखिएको थियो । अमेरिकामा १ अक्टोबरसम्म भेटिएका एक हजार केसमध्ये २० बालबालिको मृत्यु भएको थियो । विश्वका अन्य देशमा पनि मल्टिसिस्टम इन्फेलेमेन्टरी सिन्ड्रोम देखिएको छ, तर यकिन तथ्यांक पाइँदैन । पछिल्लो केही महिनायता वयस्कमा पनि मल्टिसिस्टम इन्फेलेमेन्टरी सिन्ड्रोमका लक्षणहरू देखिएको सिडिसीले जनाएको छ । 

के भन्छन् चिकित्सक ?
चिकित्सकहरूका अनुसार बिरामीमा सम्पूर्ण क्लिनिकल ट्रायल ल्याब्रोटरी र प्रणालीगत प्रमाणका आधारमा एमआइएससी निदान गरी उपचार गरिन्छ । ओम अस्पतालमा कार्यरत पेडियाट्रिक इम्युनोलोजिस्ट एवं ¥युमाटोजिस्ट डा. धर्मागत भट्टराईका अनुसार एमआइएससीका बिरामीमा इन्ट्राभेनस इम्युनोग्लोबिन र इन्ट्राभेनस मिथाइल प्रेडनिसोलोनको प्रयोगपश्चात् मुटुको गम्भीर सुजनमा सुधार आएको थियो । एमआइएससीजस्ता इम्युनोलोजी र ¥युमाटोलोजीका बिरामी प्रायः निदान नै नहुने, ढिलो निदान हुने र गम्भीर जटिलता देखिने हुन्छ । शरीरका थुप्रै अलगअलग प्रणाली जस्तै, रक्तसञ्चार, श्वासप्रश्वास, स्नायु, पाचन आदि प्रणालीमा गम्भीर असर पु¥याउने यो रोगको प्रारम्भिक लक्षण छाला र नरम अंग (आँखा, जिब्रो, ओठ)मा देखिन सक्छ । जुनसुकै उमेरमा हुन सक्ने भए पनि धेरै पाँच वर्षमाथिका बालबालिका र किशोरमा बढी देखिएको छ । 

डा. भट्टराई भन्छन्, ‘कोभिडले प्रत्यक्ष रूपमा बालबालिका र किशोरकिशोरीमा कम असर गर्ने मानिए पनि कोभिडको इम्युन प्रतिक्रियास्वरूप हुने बिमारी पिएमआइएसटिएस अर्थात् एमआइएससीले बालबालिकामा गम्भीर असर पार्न सक्छ ।’ अधिकांशमा पिसिआर नेगेटिभ वा लक्षण नदेखिए पनि कोभिड एन्टिबडी पजिटिभ देखिन्छ । एकातिर कोभिडका सामान्य लक्षण देखिएका वा लक्षण नै नदेखिएका बालबालिकामा एमआइएससी देखिन सक्छ भने अर्कोतिर कोभिड भएका सबैमा यो रोग देखिन्छ भन्ने हँुदैन । शरीरमा प्रतिरोधी प्रणालीको प्रतिक्रियाले निम्त्याउने जटिलताबाट बच्नका लागि सामान्य लक्षणलाई पनि बेवास्ता गर्न सकिँदैन । यसकारण कोभिड वा फ्लुका सामान्य लक्षण देखिए पनि चिकित्सकको सल्लाह आवश्यक छ । आममानिसमा कोभिडप्रतिको बुझाइ अति आवश्यक छ । अहिले पनि नेपालमा बालबालिकामा अटोइम्युन, सुजन, बाथजन्य रोगबारे विश्वास गरिएको पाइँदैन । तर, तत्काल गम्भीर समस्या निम्त्याउने र दीर्घरोगहरू, इम्युनोजिकल रोगहरू जुनसुकै व्यक्तिमा पनि हुने सम्भावना छ ।