मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्वीर
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १३ सोमबार १५:२७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् विघटनको विरोध गर्दै महामन्त्री कोइरालाले पार्टीका लागि भोट मागे– आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउनुस्, भविष्य कांग्रेससँग राम्रो छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १३ सोमबार १५:२७:००

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान जारी गर्नेहरूले नै संविधान बचाउने कर्तव्य निभाउनुपर्ने बताएका छन् । 

‘बिपी कोइरालादेखि अहिलेसम्मको संघर्षबाट झन्डै–झन्डै ७२ वर्षपछि हामीले पाएको उपलब्धि यो संविधान हो, यो जारी गर्ने हामी हौँ, र यसलाई बचाउने कर्तव्य पनि हाम्रो हुन आउँछ,’ उनले भने । 

कांग्रेस नवलपुर क्षेत्र नं. १ ले गरेको विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारले संविधानमाथि कुठाराघात गरेको बताए । 

‘यो अलोकतान्त्रिक छ, संविधानविरोधी छ, हामीले संविधानको रक्षाका लागि यो विरोध गरेका हौँ,’ उनले भने । 
महामन्त्री कोइरालाले सरकारले चुनाव घोषणा गरिसके पनि अहिल्यै चुनाव हुन्छ भन्ने विश्वास नरहेको बताए । 
‘सरकारले चुनाव गर्दैन जस्तो लाग्छ, तर हामी दबाब दिन्छौँ,’ उनले भने, ‘आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउनुस्, भविष्य कांग्रेससँग राम्रो छ, कांग्रेसले मात्र यो देशमा परिवर्तन ल्याउन सक्छ ।’ 

नेकपा सरकारले नेपालीलाई पटकपटक सपना मात्रै बाँडेको आरोप लगाए । 

‘म ओलीको क्षेत्र झापामा पुगेँ, त्यहाँ हिजो सूर्यमा भोट दिनेहरू अब रूखमा भोट हाल्न आतुर छन्, ओलीजीले आफ्नै क्षेत्रमा पनि केही गर्न सक्नुभएको छैन रहेछ,’ उनले भने । 

महामन्त्री कोइरालाले दुईतिहाइ नेकपा सरकारको एउटा सपनासमेत नभएको बताए । 

‘तपाईंहरू नै भन्नुस्, यो सरकारले अहिलेसम्म कतिवटा अस्पताल बनायो ? कतिवटा नयाँ सडक बनायो ? कतिवटा एयरपोर्ट बनायो ? कहाँ के गऱ्याे ? खै काम भएको ?’ उनले प्रश्न गरे । 

उनले गिरिजाप्रसाद कोइरालाको तीन वर्षको कार्यकाल स्वर्णयुग भएको दाबी गरे । 

‘यहाँ यत्रो परिवर्तन भयो, यो कसरी ? कांग्रेसले गरेको होइन र ? हिजो एउटा विश्वविद्यालय थियो, आज २० वटा विश्वविद्यालय छन्, सात हजार किमि बाटो थियो, ९० हजार किमि बाटो बनेको छ, एउटा मात्रै मेडिकल कलेज थियो, आज २० वटा मेडिकल कलेज बनेका छन्, आकाशमा हवाईजहाज कसरी उडे ? तपाईंको हातहातमा मोबाइल कसरी आयो ? सबै कांग्रेसले दिएको होइन ?’ कोइरालाले भने । 

उनले नेपालमा जलविद्युत्, पर्यटन र कृषि क्षेत्रबाट विकास र समृद्धिको यात्रा तय गर्नुपर्ने बताए । 

‘अब कृषि क्षेत्रमा ठूलो सम्भावना छ, अब कृषिमा तीन प्रतिशत बजेट दिएर हुँदैन, यसलाई बढाउनुपर्छ,’ उनले भने, ‘हिजो बिपी कोइरालाको समयमा नै ३० प्रतिशत बजेट कृषिमा थियो, अब हामीले कृषिमा लगानी बढाउनुपर्छ ।’ 

नेता कोइरालाले सरकारले कोभिड– १९ को महामारीका वेलासमेत जनताको स्वास्थ्यको जिम्मेवारी लिन नसकेको बताए । 

‘कोभिडको समयमा पनि भ्रष्टाचार गर्ने ? ती मान्छेलाई समाएर जेल हाल्नुपर्ने, एउटा मास्कमा पनि भ्रष्टाचार गर्ने ? २५ रुपैयाँको मास्कलाई ५० रुपैयाँ तिर्नुपर्ने ? यस्तो किन ?,’ उनले प्रश्न गरे ।