मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष १३ सोमबार ११:३६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इलाका प्रशासन कार्यालय प्रमुखकै मिलेमतोमा तिब्बती नागरिकहरूलाई नागरिकता प्रदान

Read Time : > 1 मिनेट
२०७७ पौष १३ सोमबार ११:३६:००

झापामा तीनजना विदेशी नागरिकलाई नक्कली नागरिकता दिएको खुलेको छ । इलाका प्रशासन कार्यालय गौरीगन्जका धनञ्जयकुमार साहको संलग्नतामा तीनजना विदेशी नागरिकलाई नागरिकता दिएको खुलेको हो । 

गौरादह– ७ स्थायी ठेगाना देखाई दीपिका राई, अमृत राई र विशाल राईको नाममा नक्कली नागरिकता दिएको पाइएको छ । उनीहरूलाई किर्ते गरेर वंशजको आधारमा नागरिकता दिइएको छ । 

यसरी नागरिकता लिनेहरू तिब्बती नागरिक हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । 

‘राई थर राखेर दिइनुले तिब्बती नागरिकलाई दिएको हुन सक्ने आशंका गरिएको छ । यो हाम्रो प्रारम्भिक अनुसन्धान हो । अनुसन्धान जारी छ,’ उनले भने ।

नक्कली नागरिकता दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाहरूमा इलाका प्रशासन कार्यालय गौरीगन्जका प्रमुख गौरीगन्ज– ३ का ३७ वर्षीय धनञ्जयकुमार साह, कार्यालय सहयोगी गौरीगन्ज– ६ का २४ वर्षीय आसिर आलम र गौरादह– ७ का ५९ वर्षीया कृष्णप्रसाद तिम्सिना रहेको एसपी कोइरालाले जानकारी दिए ।

तिम्सिना गौरादह– ७ नम्बर वडा कार्यालयबाहिर फोटोकपी तथा लेखापढीको व्यवसाय गर्दै आएका थिए । 

उनले वडाको नक्कली सिफारिस बनाएको प्रहरीले जनाएको छ । तिम्सिनाले वडा र गौरादह– ७ का वडाध्यक्ष बलराम खरेलको छाप किर्ते गरी प्रयोग गरेका थिए । 

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको एसपी कोइरालो जानकारी दिए । 

इलाका प्रशासन कार्यालय गौरीगन्जले जारी गरेको नागरिकतामा केही शंका उब्जिएकाले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । 

‘केही शंका देखियो । सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘सत्यतथ्य बाहिर आउँछ । छानबिनको क्रममा छ ।’

यसरी खुल्यो नक्कली नागरिकताको रहस्य
इलाका प्रशासन कार्यालय गौरीगन्जले तीन गैरनागरिकलाई नागरिकता बनाइदियो । 

किर्ते गरी बनाइएका तीन नागरिकता २७ कात्तिक ०७७ मा जारी भएका हुन् । यी नागरिकता जारी गर्नेमा इलाका प्रशासन कार्यालयका प्रमुख साहको हस्ताक्षर छ । 

नागरिकता पाएलगत्तै ती विदेशी नागरिक राहदानी बनाउन राहदानी विभाग पुगे । 

विभागले शंका गर्दै छानबिनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको एसपी कोइरालाले बताए । 

सोही पत्रको आधारमा छानबिन गर्दा तीनजनाको संलग्नता देखिएको उनले बताए । अनुसन्धानका क्रममा नागरिकता लिने व्यक्ति नागरिकतामा भएको ठेगानामा नभेटिएको प्रहरीले जनाएको छ । 

त्यही क्रममा अनुसन्धान गर्दा उनीहरू विदेशी नागरिक भएको पनि खुल्न आएको हो । 

तीनजना विदेशी नागरिकलाई दिइएको नागरिकताको विवरणमा पछि फेरि नागरिकता बनेको छ । 

विदेशी नागरिकलाई नागरिकता दिएपछि किर्तेमा संलग्न कर्मचारीले विवरण नै सफ्टवेरबाट उडाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

‘सुरुमा विदेशी नागरिकलाई नागरिकता दिए । नागरिकता किर्ते गर्नेमा संलग्नहरूले पछि फेरि विदेशी नागरिकलाई नागरिकता दिएको विवरण सफ्टवेरबाट उडाइदिए,’ एसपी कोइरालाले भने, ‘त्यही विवरणमा वास्तविक नेपाली नागरिकलाई पछि फेरि नागरिकता दिएको पाइएको छ ।’