१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १३ सोमबार ०८:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बढ्दो व्यापार घाटाप्रति राष्ट्रपतिको चिन्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १३ सोमबार ०८:३७:००

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन कोभिड पुनरुत्थान विशेष कार्यक्रम आवश्यक रहेको बताएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्तामा उनले साना तथा मझौला व्यवसाय चल्न सकेमा ठूला उद्योगहरू स्वतः चल्ने जानकारी गराउँदै सरकार र राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । 

अध्यक्ष गोल्छाले राष्ट्रपतिसमक्ष महासंघले ल्याउने भिजन पेपरमा साना तथा मझौला उद्योगको पुनरुत्थानका लागि विशेष सुझाब समेटिने पनि जानकारी गराएका छन् । महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सिर्जना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको उनले स्पष्ट पारे ।   

भेटवार्तामा राष्ट्रपति भण्डारीले महासंघको वर्तमान युवा नेतृत्वलाई उद्योग–व्यवसायको विकासमार्फत रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाब दिइन् । ‘हामीसँग पर्याप्त सम्भावना भएर पनि पछि परेका छौँ, प्राकृतिक स्रोत–साधनमा हामी धनी छौँ, बजारका लागि कुनै समस्या छैन, तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरूकै भर पर्नुपर्ने परिस्थिति छ,’ उनले महासंघका पदाधिकारीसमक्ष भनिन्, ‘रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ, यसमा तपाईंहरू गम्भीर भएर लाग्नुहोस् ।’

राष्ट्रपति भण्डारीले चुलिँदो व्यापार घाटाप्रति पनि चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘हरेक कुरामा विदेशी मुलुकसँग निर्भर रहनुपर्ने अवस्थालाई कसरी ब्रेक गरी आफ्ना लागि आवश्यक वस्तु आफँै उत्पादन गर्न सक्छौँ, त्यसमा सिंगो मुलुक नै गम्भीर हुन जरुरी छ ।’ स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमा मात्र बाह्य लगानीसमेत आकर्षित हुने हुँदा कृषि, ऊर्जा, पर्यटन क्षेत्रको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार–निजी क्षेत्र सहकार्यमा राष्ट्रपतिले जोड दिइन् ।