मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष १२ आइतबार १२:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओखलढुंगा नेकपा पार्टी कार्यालयमा दुवै समूहले लगाए ताला

Read Time : > 1 मिनेट
२०७७ पौष १२ आइतबार १२:४६:००

ओखलढुंगा नेकपाको पार्टी कार्यालयमा दुईवटा ताला लागेका छन् । 

शनिबार प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमा ताला लगाएपछि आइतबार बिहान केपी ओली समूहले अर्को ताला लगाएकाे हाे ।

औपचारिक फुटको घोषणा हुन मात्र बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद जिल्लामा पनि उग्र बन्दै गएको छ । 

पार्टी कार्यालय कसको हुने भन्ने विवाद देशभर चलिरहेका वेला ओखलढुंगामा पनि जिल्ला पार्टी कार्यालयमा दुई पक्षले आ–आफ्ना ताला लगाएको नेकपाका नेता नेत्र भट्टराईले बताए । 

‘हिजो प्रचण्ड–नेपाल समूहले ताला लगाएका थिए । आज केपी ओली समूहले पनि पार्टी अफिसमा ताला लगाएका छन्,’ भट्टराईले भने, ‘पार्टी कार्यालयमा तालामाथि ताला लागेपछि दुवै पक्षका नेता सडकमा छन् । सडकबाटै पार्टीका गतिविधि भइरहेका छन् ।’ 

नेता भट्टराईका अनुसार विगतमा कार्यालयमा लगाउने ताला फेरेर प्रचण्ड–नेपाल समूहले नयाँ ताला लगाएका थिए । 

पार्टी कार्यालयमा दुवै पक्षका ताला लागेपछि नेकपाका नेता कार्यकर्ता होटेल र व्यक्तिका घर तथा सार्वजनिक स्थलमा बसेर आ–आफ्ना कार्यक्रम बनाइरहेका छन् । 

आइतबार प्रचण्ड–नेपाल समूहको आकस्मिक बैठक बस्ने कार्यक्रम तय भएको थियो । 

पार्टी कार्यालयमा अर्को पक्षले ताला लगाएपछि उक्त बैठक प्रभावित भएको स्रोतले जनाएको छ । 

‘नेता यज्ञराज सुनुवारसहित हामी उपलब्ध नेताहरू बसेर प्रधानमन्त्रीको कदमविरुद्ध कसरी आन्दोलन गर्ने भन्ने कार्यक्रम तय गर्ने बैठक थियो । पार्टी कार्यालयमा प्रवेश गर्ने अवस्था नभएपछि बैठक प्रभावित भयो । तर, हाम्रा एजेन्डाहरू तय गरिसकेका छौँ,’ एक नेताले भने । 

सदरमुकामस्थित एक व्यक्तिको घरमा भेला भएका प्रचण्ड–नेपाल समूहका नेताले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् । 

जिल्लामा पक्ष–विपक्ष भएर विवाद गर्ने योजना नरहेको भए पनि प्रचण्ड–नेपाल पक्षले पार्टी कार्यालय कब्जा गर्ने उद्देश्यले ताला लगाएपछि त्यसको प्रतिवाद गरिएको ओली पक्षका नेता अशोक थापाले बताए ।  

उनले भने, ‘अर्को पक्षले पार्टी कार्यालय कब्जा गर्ने रणनीति बनाएर नयाँ ताला लगाएको रहेछ । हामीले पनि अर्को ताला लगाएका छौँ ।’ 

जिल्ला सदरमुकाममा नेकपाको व्यवस्थित कार्यालय भवन छ । 

उक्त भवन साविकको नेकपा एमालेले बनाएको थियो । पार्टी एकता भएपछि सोही भवनलाई नेकपा पार्टी कार्यालय बनाइएको थियो । 

पूर्वएमालेभित्र पनि भवन निर्माणको नेतृत्व गर्ने नेताहरू अहिले दुवै पक्षमा विभाजित भएकाले उक्त भवनमा कसको अधिकार हुने भन्ने झन् ठूलो विवाद देखिएको छ ।