१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ पौष १२ आइतबार ०७:३०:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

गैरसंवैधानिक कदमविरुद्ध सडकमा स्रष्टा तथा अधिकारकर्मी

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ पौष १२ आइतबार ०७:३०:००

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै बुद्धिजीवी, लेखक, कवि, कलाकार एवं नागरिक अगुवा आन्दोलनमा, एकोहोरो शंख फुकेर माइतीघर मण्डलामा प्रदर्शन 

कालिकास्थानस्थित सर्वनाम नाटकघरमा एउटा पोस्टर छ । बाँसझ्याङको ओरालो लाग्दा सीधा आँखा ठोक्किने पोस्टर ‘सब ठीक छ’ नाटकको हो । गत वर्ष नै प्रदर्शन भएको नाटकको शीर्षकले नै भनेको ‘सब ठीक छ’ अहिले त छैन । प्रायः पैदल हिँड्ने लेखक तथा पत्रकार नारायण वाग्ले यही बाटो भएर प्रधानमन्त्री केपी ओलीद्वारा भएको जनमतको अपहरणविरुद्ध उभिन शनिबार दिउँसो माइतीघर मण्डला आइपुगेका रहेछन् । यही प्रसंग कोट्याउँदै वाग्ले भनिरहेका थिए, ‘सब ठीक छ त नाटक हो । तर, अहिले यो वाक्य देशका लागि घातक भएको छ ।’ 

माइतीघर, जहाँ ०४६ सालको अन्दोलनमा पनि थिए, लेखक तथा पत्रकार वाग्ले । ०६२/६३ को आन्दोलनमा पनि रहे । वाग्लेका कपाल सेतै फुलिसक्यो । तमाम परिवर्तनका खातिर भएका आन्दोलनका साक्षी हुन्, उनी । परिवर्तनका लागि सडकमा उभिएका छन् । बोलेका छन् । लेखेका छन् । तर, एउटा मानिससँग कतिन्जेल ऊर्जा रहन्छ कि ऊ सधैँ सडकमा आओस् र चिच्याओस् । मुठी उठाओस् र नारा लगाओस् । सेतै फुलेको कपाल, वाग्ले उभिएको ठाउँ र उनको हातमा भएको माइक देख्दा सबैको मनमा यही प्रश्न आउँछ । के प्रत्येक समय आममानिस यसरी नै सडकमा उभिइरहनुपर्छ ? प्रत्येक आन्दोलन र त्यसले ल्याएको परिवर्तनको प्रतिफल यही हो ? यही अवस्था दोहोरिनका लागि हरेकचोटि आन्दोलन हुन्छ ? छेवैमा उभिएका कवि चन्द्रवीर तुम्बापो भनिरहेका थिए, ‘जबसम्म खराब चरित्र भएका मानिस हाम्रो बुइ चढेर सत्तामा पुगिरहन्छ, तबसम्म यस्तै अवस्था आइरहन्छ । तर, यसको प्रतिकार गर्नु र नयाँ गोरेटोको संकेत गर्नु हाम्रो जिम्मेवारी हो । र, यहाँ थाक्ने भन्ने कुरै छैन ।’

छेवैमा २८ मंसिरदेखि उखु किसानहरूको आन्दोलन चलिरहेको छ । निराश–निराश तर हिम्मत नहारेका अनुहारहरू उखुको डाँक्लाहरूको बिटो उठाएर बसेका छन् । उनीहरूको आवाजभन्दा चर्को चिच्याहट मौन अनुहारले निकालिरहेको छ । त्यो अनुहारको भाषा उखुमिलका मालिकले बुझ्थे भने उनीहरू माइतीघर आइपुग्दैनथे । यो राज्यले बुझ्थ्यो भने उनीहरू यतिन्जेलसम्ममा उखुबारीमा काम गरिरहेका हुने थिए । कवि तथा गीतकार भूपाल राई भनिरहेका थिए, ‘यो सरकार यस्ता तमाम उखुकिसानलगायत आमनागरिकको आत्महत्याको कारक हो । यो सरकारलाई मात्र उखेलेर हुँदैन, प्रवृत्तिलाई नै नष्ट गर्नुपर्छ ।’ 

अलि तलतिर मिर्गौलापीडितहरूको धर्ना छ । आफ्नो दुःख र पीडा राज्यले नसुनिदिएपछि बिरामी मिर्गौला बोकेर सडकमा आइपुगेका छन् । र, बीचमा सचेत बुद्धिजीवी, लेखक, कवि, कलाकार एवं नागरिकहरूको बृहत् आन्दोलन सुरु भएको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै आन्दोलनको तयारीमा छन्, सबै । 

 

                                        .....

सयौँको संख्यामा भेला भएका प्रबुद्ध व्यक्तित्वहरूको हातमा पम्प्लेट छ । केही पम्प्लेटमा कविता छन्, केहीमा नारा छन् । कालो पृष्ठभूमिमा ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’को ब्यानर छ । बीचमा चारवटा बुख्याँचा छन् । सबै लम्पसार छन् । जसको बीचमा कलाकार घिमिरे युवराज तेर्सिएका छन् । र, एकोहोरो शंख फुकिरहेका छन् । एकोहोरो शंखको आवाजलाई सांस्कृतिक रूपमा मृत्युको सूचक मानिन्छ । अशुभ संकेत मानिन्छ । घिमिरे शंख फुक्दै उठे र केही तल पुगेर बिट मारे । जनादेशको हत्या, जनमतमाथि भएको प्रहारलाई लिएर आफूले एकोहोरो शंख फुकेको नाट्यकर्मी घिमिरे बताउँछन् । 

नाट्यकर्मीको हिसाबमा यतिवेला घिमिरे नाटकको रिहर्सल गरिरहनुपर्ने हो । नाटक लेखिरहेको हुनुपर्ने हो । तर, सडकमा आइपुगेका छन् । घिमिरे भनिरहेका छन्, ‘जटिल अवस्थामा हामी सडकमै उपस्थित हुनुपर्ने रहेछ ।’ राजतन्त्र अब सकियो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, अब ठीक होला भनिरहँदा किसानहरू खेती गर्न छाडेर सडकमा आइपुगे । मिर्गौलापीडितहरू बिरामी मिर्गौला बोकेर सडकमै आइपुगे । स्रष्टाहरू सिर्जना छाडेर सडकमै आइपुगे । ‘नरम खालको सिर्जनाले मात्र नपुग्दोरहेछ । सीधै खबरदारी गर्नुपर्ने बाध्यता आइलाग्दो रहेछ,’ घिमिरे भन्छन्, ‘हामीले दुःख पाइरहेका छौँ, जसका लागि सडकमै आएर गतिविधि गर्नुपर्ने रहेछ ।’

घिमिरेलाई दुखेसो त केपी ओलीको पुस्ता मात्र नभएर त्यसपछिको तेस्रो पुस्ता पनि उही अवस्था र प्रवृत्तिमा रुमल्लिएको देख्दा लाग्छ । राजा फालेर, राणा फालेर पनि हामीले सांस्कृतिक परिवर्तन गर्न नसकेको गुनासो छ, उनको । भन्छन्, ‘भोटले शक्ति दिने हो, चेतना दिने होइन । प्रधानमन्त्रीसँग यति पनि चेतना छैन कि उनलाई जनताले निर्वाचित गराएको होइन, पार्टीले प्रधानमन्त्रीमा निर्वाचित गराएको हो । तर, उनी भनिरहेका छन्, मलाई जनताले चुनेको हो ।’ यहीँ समस्या देख्छन्, घिमिरे ।

                            .....

प्राध्यापक तथा लेखक बालकृष्ण माबुहाङ प्रधानमन्त्री ओलीको कदमलाई क्षोभ, घृणा र भत्र्सनाको विषय बताउँछन् । उनको भनाइ छ, ‘यो संविधानमा म सहमत छैन । यो अन्यायपूर्ण छ । तर, लोकतन्त्रको सबै अधिकारलाई एकै खाल्डोमा फालेर ओली यस्तो शासक बन्न गइरहेको छ, जो घृणाको विषय हो । मन्तव्य राख्ने क्रममा मानवअधिकारकर्मी मोहना अन्सारीले एउटा व्यवस्थाप्रति निराशा जागेर सडकमा गएका थियौँ, तर अहिले यो व्यवस्थाले झनै प्रताडित बनाएको उल्लेख गरिन् । ‘हामी संसद् विघटनको अवस्थामा पुगेर एउटा भुमरीमा फसेका छौँ । हामी हरेक तहमा निराश देखिएका छौँ,’ अन्सारीले भनिन्, ‘तर, आशा छ र विश्वास छ, हामी यो गैरसंवैधानिक कदमको विरुद्धमा उभिएर फेरि त्यही व्यवस्थामा रमाउनेछौँ र संरक्षण गरेर अगाडि बढ्नेछौँ ।’

लेखक तथा पत्रकार वाग्ले बोल्दै माइतीघरमा आफू उभिँदा दुईवटा जनआन्दोलन सम्झिएको बताए । ती आन्दोलन र त्यसबाट प्राप्त परिवर्तनले सार्वभौमसत्ताको अभ्यास गर्ने कोसिस गर्‍यो । ‘तर, त्यो सार्वभौमसत्ता कहाँ छ ? हामीले त संसद्मा व्यवस्था गरेको हो । तर, त्यो सत्ता कहाँ छ ?’ आफूलाई हिँडेर बालुवाटार १५ मिनेट र शीतलनिवास २० मिनेट लाग्ने भन्दै वाग्लेले भने, ‘के सार्वभौमसत्ता उता (बालुवाटार र शीतलनिवास) सरेको हो ? जनतामा सरेको भए त संसद्मा पो हुनुपर्ने ।’ यतिवेला कोभिडको भ्याक्सिन किन्ने बजेट निकाल्नुपर्ने वेला मतपेटिकाको व्यवस्था कसरी गर्ने भन्दै उनले प्रधानमन्त्रीको अहिलेको कदमलाई गलत प्रपञ्च रहेको बताए । लेखक अर्चना थापाले यस्तो अवस्था आउला भनेर नसोचेको बताउँदै अब सडकमा आउनुको विकल्प नरहेको बताइन् ।

आन्दोलनमा पम्प्लेट बोकेर उभिएका लेखक सञ्जीव उप्रेतीले अहिलेको राजनीतिक परिवेश र प्रधानमन्त्रीको कदम हेर्दा इतिहास दोहोरिएला कि भन्ने डर पैदा भएको बताए । जनादेशको अपहेलना प्रधानमन्त्रीले गरेको भन्दै उनले भने, ‘अब हामी सबै विविध क्षेत्रका मान्छेहरू यसरी जोडिँदै प्रधानमन्त्रीको कदमको डटेर सामना गर्नुपर्छ ।’

यो विरोध आन्दोलन प्रत्येक दिन बिराएर हुनेछ । १८ पुसमा नाटकसहित ठूलो नागरिक सभा गरेर सकाउने आन्दोलनको संयोजन गरिरहेका युग पाठकले बताए । मुलुकलाई कठपुतलीको रूपमा चलाउने अथवा आदेशको भरमा चलाउने संकेत देखिएकाले त्यसको विरोधस्वरूप आन्दोलनको सुरुवात गरिएको पाठकको भनाइ छ । ‘अहिलेको प्रतिगमनको जिम्मेवार राजनीतिक दलहरू पनि हुन् । उनीहरूले प्रतिरोध गर्न सकेनन्,’ पाठकले भने, ‘तर, हामी नै सडकमा नउत्रीकन भएन । अदालतले पनि प्रतिगमनलाई सघाएर त जाने होइन भन्ने संशयले गर्दा हामी सडकमा आउन बाध्य भएका हौँ ।’