१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल काठमाडाैं
२०७७ पौष १२ आइतबार ०६:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्ड–नेपाल समूह भन्छ– मुख्यमन्त्री राईले निहुँ खोजे, अब अविश्वास प्रस्ताव आउँछ

Read Time : > 1 मिनेट
गणेश लम्साल, काठमाडाैं
२०७७ पौष १२ आइतबार ०६:२०:००

मुख्यमन्त्री राईले हटाए आर्थिक मामिलामन्त्री आङ्बो

सत्तारुढ नेकपाको विभाजनले प्रदेश १ सरकारमा पनि उथलपुथल हुने देखिएको छ । आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेको संकेत पाएपछि मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्बोलाई बर्खास्त गरेका छन् । अध्यक्ष प्रचण्ड–माधव नेपाल समूहले राईविरुद्ध एक–दुई दिनमै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले एक–दुई दिनभित्रै अविश्वासको प्रस्ताव दर्ता गरिने बताए । ‘मुख्यमन्त्री राईले निहुँ खोजेकाले अब अविश्वासको प्रस्ताव दर्ता गर्छौँ,’ उनले भने, ‘काठमाडौंमा रहेका पार्टीका प्रदेश इन्चार्ज तथा प्रदेश सांसद भीम आचार्य भोलि (आइतबार) फर्किंदै हुनुहुन्छ । उहाँ आएपछि छलफल गरेर अगाडि बढ्छौँ । समय भए आइतबार नै अविश्वासको प्रस्ताव आउन सक्छ ।’

पदमुक्त गरिएका मन्त्री आङ्बोले पनि मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव ल्याउन आफूहरूलाई मार्गप्रशस्त गरेको बताए । ‘हामी मुख्यमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने तयारीमा थियौँ, तर हठात् मलाई मन्त्रीबाट हटाउनुभयो । अब प्रक्रिया (अविश्वास प्रस्ताव) अगाडि बढाउँछौँ,’ उनले भने ।

आइतबार दिउँसो प्रचण्ड–नेपाल पक्षका अन्य मन्त्रीले समेत राजीनामा दिने उनको भनाइ छ । तर, कुन–कुन मन्त्रीले राजीनामा दिँदै छन् भन्ने उनले खुलाएनन् । मन्त्रिपरिषद्मा प्रचण्ड–नेपाल समूहका आङ्बोसँगै सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर छन् । मन्त्री विश्वासले भने राजीनामा दिने सम्बन्धमा अहिलेसम्म पार्टीको माथिल्लो कमिटीबाट कुनै निर्देशन नआएको बताए । 

शुक्रबार मात्रै प्रचण्ड–नेपाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । प्रदेश सरकारको नेतृत्व गरिरहेका नेकपाका ६ मुख्यमन्त्रीमध्ये प्रदेश १ का मुख्यमन्त्री राईको पद सबैभन्दा धरापमा छ । प्रदेश सभामा रहेका नेकपाका ६७ मध्ये ४७ सांसद प्रचण्ड–नेपाल पक्षमा छन्, प्रधानमन्त्री केपी ओली अर्थात् मुख्यमन्त्री राईको पक्षमा २० सांसद मात्रै छन् । 

९३ सदस्यीय प्रदेश सभामा कांग्रेसका २१, जनता समाजवादी पार्टीका तीन, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक–एक सांसद छन् । बहुमतका लागि ४७ सांसद चाहिन्छन् । अविश्वासको प्रस्ताव दर्ता भएमा मुख्यमन्त्री राईले कांग्रेससहितका सबै विपक्षी दलको समर्थन जुटाउँदा पनि बहुमत पुग्ने अवस्था छैन । प्रचण्ड–नेपाल पक्षसँग बहुमतका लागि ठिक्क अर्थात् ४७ सांसद छन् । 

स्रोतका अनुसार मुख्यमन्त्री राई प्रचण्ड–नेपाल खेमाका दुई–तीन सांसदलाई आफूतिर तानेर कांग्रेसको समर्थनमा बहुमत जुटाउने जोडघटाउ गरिरहेका छन् । ‘अर्को समूहले अविश्वासको प्रस्ताव ल्याए हामी सामना गर्न तयार छौँ । अरूसँग मिलेर फेरि पनि सरकार बनाउन सक्छौँ,’ ओली पक्षमा रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतले भने । 

तर, अहिलेसम्म नेकपाका दुवै खेमाले कांग्रेससँग छलफल भने गरेका छैनन् । प्रदेश सभामा कांग्रेसका सचेतक केदार कार्कीले नयाँ सरकार गठनबारे नेकपाका कुनै पनि समूहले अहिलेसम्म कांग्रेससँग छलफल नगरेको बताए । ‘सरकारमा कसलाई समर्थन गर्ने–नगर्नेभन्दा पनि हाम्रो माग चाँडै प्रदेश सभाको बैठक बोलाउनुपर्छ भन्ने छ,’ उनले भने ।