१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७५ माघ २७ आइतबार ०६:०२:००
Read Time : > 1 मिनेट
अर्थ

साझा स्वास्थ्य सहकारीमा ६ वर्षसम्म साधारणसभा भएन

Read Time : > 1 मिनेट
२०७५ माघ २७ आइतबार ०६:०२:००

साझा स्वास्थ्य सेवा सहकारी संस्थाको ६ वर्षदेखि साधारणसभासमेत गर्न सकेको छैन । निर्वाचित सञ्चालकहरूले आफ्नो पद जोगाइराख्न संस्थाको निर्वाचन मात्रै नभई साधारणसभासमेत गर्न नदिएको स्रोतले जानकारी दिएको छ । सातजनाको सञ्चालक समिति रहने संस्थाको अध्यक्षसहित चारजना नेपाल सरकारले नियुक्त गर्ने प्रावधान छ भने अन्य तीनजना निर्वाचित हुनेछन् । संस्थाको ०६९ चैत १९ मा सम्पन्न निर्वाचनबाट केशवनरसिंह राजभण्डारी, हिमबहादुर क्षत्री र दिलीपमान श्रेष्ठ सञ्चालकमा चयन भएका थिए । त्यसपछि  १९ चैत ०६८ मा सरकारले चन्द्रसार थानी, डिलमानसिंह चन्द, रमेश रिसाललाई सदस्यमा नियुक्त गरेको थियो । सरकारले ०७५ असारमा गिरिधारीलाल न्यौपानेलाई संस्थाको अध्यक्षमा नियुक्त गरेको छ । 

के छ ऐनमा ?
संस्थाको विनियम २०२१ का अनुसार संस्थाको निर्वाचित सञ्चालक सदस्यहरूको पदावधि ३ वर्षको हुनेछ । त्यस्तै, सहकारी ऐन २०७४ मा प्रत्येक ४ वर्षमा साधारणसभासहित निर्वाचन गर्नुपर्ने व्यवस्था छ । तर, संस्थामा विगत ६ वर्षदेखि साधारणसभा र निर्वाचन हुन सकेको छैन । आव ०६८/६९ देखि साधारणसभा बस्न सकेको छैन । पछिल्लोपटक गत पुस २६ गते संस्थाले निर्वाचनसहितको १५औँ साधारणसभा गर्ने निश्चित गरेको थियो । तर, अन्तिम समयमा सञ्चालकहरूले अवरोध गरेपछि साधारणसभा स्थगित भएको हो । 

सहकारी ऐन तथा संस्थाको विनियमअनुसार प्रत्येक आर्थिक वर्ष पूरा भएको ६ महिना अर्थात् पुस मसान्तसम्ममा साधारणसभा गरिसक्नुपर्नेछ । संस्थाले ऐनविपरीत लामो समयदेखि साधारणसभा गर्न सकेको छैन । 

घाटामा छ सहकारी 
निर्वाचित सञ्चालकहरूले आफूखुसी निर्णय गर्दा लामो समयदेखि संस्था घाटामा रहेको स्रोतले बताएको छ । बजेट अभावका कारण सञ्चालक समिति तथा व्यवस्थापन तथा व्यापार महाशाखाले ठोस कार्ययोजना बनाउन नसकेको सदस्यहरूको गुनासो छ । 

३२ स्थानमा औषधि बिक्रीकक्ष
०२१ मा सर्वसाधारणलाई सुपथ मूल्यमा औषधि–औजार उपलब्ध गराउने उद्देश्यका साथ साझा स्वास्थ्य सेवा सहकारी संस्थाको स्थापना भएको हो । नेपालभर रहेका सरकारी अस्पतालहातामा आफ्नो औषधि बिक्रीकक्ष सञ्चालन गर्ने संस्थाको उद्देश्य रहेको छ । यद्यपि, मुलुकका अधिकांश सरकारी अस्पताल हाताभित्र ३२ स्थानमा औषधि बिक्रीकक्ष सञ्चालनमा रहेका छन् । संस्थाका कर्मचारी तथा सेयर सदस्यहरू, सम्बन्धित अस्पतालका चिकित्सक, कर्मचारी तथा सर्वसाधारणलाई ५ देखि ७ प्रतिशतसम्म थप छुट दिने गरेको छ ।

‘विभागको कमजोरी हो’
शिवकुमार कार्की, रजिस्ट्रार, सहकारी विभाग

साझा स्वास्थ्य सेवा सहकारीमा लामो समयदेखि साधारणसभा हुन सकेको छैन । संस्थाले सहकारी ऐनविपरीत काम गरेको छ । तर, संस्थामा हुने राजनीतिक नियुक्ति, सहकारी उद्देश्यविपरीत संस्थाको कामकारबाहीलगायतका कारणले विभागले कारबाही पनि गर्न सकेको छैन । यो विभागको कमजोरी हो । 

कतिपय सञ्चालकको पदावधि लम्बाउने मनसायले पनि निर्वाचन हुन नदिएको भन्ने देखिन्छ । हामीले समयमा नै साधारणसभा र निर्वाचन गर्न ताकेता गरेका छौँ । यतिवेला संस्थाले छिट्टै साधारणसभा डाक्ने तयारी गरेको छ । त्यसैले हामी पर्ख र हेरको अवस्थामा छौँ ।

सञ्चालकमा नै मतभिन्नता छ
गिरिधारीलाल न्यौपाने
अध्यक्ष, साझा स्वास्थ्य सेवा सहकारी संस्था

म संस्थामा ०७५ असारमा नियुक्त भएको हुँ । नियुक्त हुनेबित्तिकै मैले पहिलो बैठक बोलाएर साधारणसभाको मिति तोकौँ भनेँ, तर सञ्चालक सदस्यहरू मान्नुभएन । त्यसपछि मैले दुई महिनाअगाडि संस्थाका विभिन्न स्थानमा रहेका शाखा–महाशाखाका प्रमुख र सञ्चालक सदस्यसहित २५ जनाको बैठक राखें । उक्त बैठकले २६ पुसमा साधारणसभा गर्ने निर्णय गर्‍यो । तर, अन्तिम समयमा आएर सञ्चालक सदस्यले सभा नगर्ने भन्नुभयो । ६ जना सञ्चालक सदस्यमध्ये मनोनीत तीन सदस्य र निर्वाचित तीन सदस्यबीच फरक मत आयो । त्यसैले सभा स्थगित भयो । तर, मैले दुवै पक्षलाई बोलाएर सहमतिमा छिटोभन्दा छिटो सभा गर्ने वातारण मिलाउँदै छु ।