मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १० शुक्रबार १३:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कारकाे बाम्बारी कब्जा गर्ने विद्रोहीको प्रयास नेपाली सेनाद्वारा असफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १० शुक्रबार १३:१६:००

नेपाली शान्ति सैनिकले अफ्रिकी मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)को चौथो ठूलो सहर बाम्बारीलाई कब्जा गर्ने विद्रोहीको प्रयासलाई असफल बनाइदिएका छन् ।

यही १२ पुसमा हुने आमनिर्वाचनमा पूर्वराष्ट्रपति फ्रान्सोइस बोजिजे उम्मेदवार हुनबाट वञ्चित भएपछि सुरु भएको विद्रोहले उग्र रूप लिँदा सहर कब्जा गर्ने कोसिस भएको थियो । बाम्बारी सहर नियन्त्रण गर्ने प्रयास शान्ति सैनिकहरूले असफल पारेका हुन् । 

कारमा नेपाली सेनाको रणशेर गण शान्ति स्थापक मिसनमा खटिएको छ । सेनाका प्रमुख सेनानी मीनराज तिवारीको नेतृत्वमा एक सय २० जना सैनिक प्रहरी (एमपी) कार्यरत छन् । त्यसबाहेक ११ जना स्टाफ अफिसर र पाँचजना सैन्य पर्यक्षकसमेत कारस्थित शान्ति स्थापक मिसनमा कार्यरत छन् । 

विद्रोही समूह युनियन फर पिस इन कार नामक विद्रोही समूहले ७ पुसमा बाम्बारी सहरलाई नियन्त्रणमा लिएको थियो । तर, नेपाली शान्ति सेनाको  एक गुल्म परिचालन भई विद्रोहीविरुद्ध प्रतिकारात्मक कारबाही गरेको र उनीहरूलाई पछि हट्न बाध्य बनाएको सेनाले जनाएको छ ।

शान्ति सेनाले सहयोग गरेपछि अनुकूल परिस्थितिको उपयोग गर्दै सरकारी सेनाले पुनः सहर नियन्त्रणमा लिन सफल भएको हो । सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीहरूको आक्रमणको प्रयास विफल  भएपछि सेनाले विद्रोही समूहबाट ठूलो संख्यामा हातहतियार र विस्फाेटक पदार्थ नियन्त्रणमा लिएको छ । उक्त कारबाहीमा सहभागी नेपाली शान्ति सैनिकहरू सबैजना सकुशल रहेको नेपाली सेनाले जनाएको छ । 

कारमा १२ पुसमा निर्वाचन हुने वा नहुने अनिश्चित बन्दै गएको छ । विपक्षी राजतीतिक दलहरूले शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारलाई अनुरोध गरिरहेका छन् । त्यहाँका विद्रोही समुहहरूले कारकोे उत्तर, पश्चिम र दक्षिणी भूभागबाट आक्रमण सुरु गरी राजधानी ब्यांगुई प्रवेश गर्ने प्रयास गरिरहेका छन् । उनीहरूलाई रोक्न त्यहाँ तैनाथ शान्ति मिसनले सरकारी सेनालाई मद्दत गरिरहेको छ । 

‘अनिश्चित र संवेदनशील सुरक्षा अवस्था रहेको भए तापनि शान्ति मिसनको निर्देशनबमोजिम आगामी निर्वाचनका लागि सुरक्षित वातावरण बनाउन नेपाली शान्ति सैनिकहरूले आफ्ना सुरक्षात्मक गतिविधिहरू वृद्धि गर्नुका साथै विभिन्न कारबाहीहरु सञ्चालन गरिरहेका छन्,’ सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।