मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष १० शुक्रबार १३:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश : पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव

Read Time : > 1 मिनेट
२०७७ पौष १० शुक्रबार १३:०३:००

बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो ।

उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । प्रचण्ड–नेपाल पक्षका ४५ प्रदेश सभा सदस्यले शुक्रबार सवा एघार बजे प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । त्यसअघि पत्रकार सम्मेलन गरी प्रचण्ड–नेपाल समूहमा रहेका तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । राजीनामालगत्तै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल छन् । उनीहरू तीनैजनाले पनि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । जमकट्टेल प्रस्तावक छन् । एक सय १० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ जनाको आवश्यकता पर्छ ।

प्रचण्ड–नेपाल पक्षमा ४६ जना देखिएकाले उनीहरू मात्रले नयाँ सरकार बनाउन नसक्ने देखिन्छ । प्रदेश सभामा नेकपाका ८० जना छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका तीन, राप्रपाका दुई, नेमकिपा दुई र एक स्वतन्त्र सांसद छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ जना सांसद छन् । प्रचण्ड–नेपाल पक्षका ४६ जना छन् ।

दुवै समूहलाई सरकार निर्माणका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसको साथ आवश्यक देखिएको छ। साना दलको मतले नयाँ सरकार गठन हुने सम्भावना नरहेकाले नयाँ सरकार गठनका लागि कांग्रेसको साथ अनिवार्य देखिएको छ ।

ओली पक्षका मुख्यमन्त्री पौडेल सरकार गठन भएदेखि नै अल्पमतमा छन् । तत्कालीन एमालेबाट प्रदेश संसदीय दलको निर्वाचनमा ओली पक्षका पौडेलले नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई दश मतले हराएर दलका नेता बनेका थिए । पौडेलले ३४ र शाक्यले २४ मत पाएका थिए ।