१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कमल खत्री
२०७५ माघ २७ आइतबार ०९:३०:००
Read Time : > 1 मिनेट
प्रदेश

अन्तरजातीय सम्बन्ध स्वीकार नगर्दा युवतीको ज्यान गयो, युवालाई ३० वर्ष कैद सजाय

Read Time : > 1 मिनेट
कमल खत्री
२०७५ माघ २७ आइतबार ०९:३०:००

अन्तरजातीय सम्बन्धलाई समाजले अस्वीकार गर्ने आशंकामा म्याग्दीकी एक युवतीको ज्यान गएको छ भने युवतीको ज्यान लिने युवालाई सर्वस्वसहित जन्मकैदको सजाय भएको छ । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सबिता नेपालीलाई बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले कालीगण्डकी नदीमा जिपसहित खसालेको ठहर गर्दै आदलतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । गत १४ असारमा नेपालीलाई कालीगण्डकीमा खसालेर खड्का बेपत्ता भएका थिए ।

अविवाहित सबिता गर्भवती भएपछि घराम्दीमा गाउँभेला आयोजना गरिएको थियो । सो भेलामा सबिताको गर्भमा रहेको बच्चा आफ्नो भएको विवाहित खड्काले स्विकारेका थिए । त्यसपछि खड्काले उनलाई जिपमा राखेर गाउँबाट निस्किएका थिए । जिम्मा लिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा जिपमाराखेर गाउँबाट निस्केका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

घटना भएको करिब एक सातापछि खड्का सार्वजनिकभएपछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले चलाएको मुद्दामा जिल्ला अदालतले खड्कालाईबुधबार ३० वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको हो । जिपसँगै नेपालीलाई कालीगण्डकीमा खसालेर भागेका खड्कालाई नेपालीको हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले खड्कालाई सर्वस्वसहित २० वर्षको कैद, महिलालाई अपहरण तथा शरीर बन्धक बनाएकोमा थप १० वर्ष गरी ३० वर्ष कैदको फैसला गरेको अदालतका स्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार खड्कालाई एक लाख जरिवाना र अपहरणदेखि जाहेरी दर्तासम्मको अवधिको दैनिक पाँच सयका दरले पीडित पक्षलाई क्षतिपूर्ति भराउने फैसलासमेत भएको छ ।

 यसरी भएको थियो घटना
१४ असार ०७५ मा घराम्दीबाटसँगै निस्केका सबिता नेपाली र इन्द्रबहादुर खड्का सवार लु.२च २४५४ नम्बरको जिप कालिगण्डकी नदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । घटनापछि दुवैजना बेपत्ता थिए । बेपत्ता भनिएका चालक खड्का भने सात दिनपछि २० असारमा पोखराबाट प्रहरीको सम्पर्कमा आएका थिए । बेपत्ता भनिएका चालक जीवितै फेला परेपछि सबिता नेपालीकी आमा राधिका नेपालीले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले खड्काविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको थियो ।

अन्तरजातीय सम्बन्ध स्वीकार नगर्दा घटना
सबिता नेपालीको गर्भमा रहेको बच्चा आफ्नो भएको स्वीकार गरी गाउँबाट निस्किएका खड्काले कालिगण्डकीमा जिपसहित खसाल्नुको कारण अन्तरजातीय सम्बन्ध भएको खुलेको छ । खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरूबीचको सम्बन्धलाई समाजले स्वीकार नगर्ने आशंकामा जिप नदीमा खसालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए । ‘यो घटनामा अन्तरजातीय सम्बन्धलाई स्वीकार नगर्नु प्रमुख कारण रहेको भेटियो, समाजमा फेस गर्ने आँट नगर्दा अपराधतिर ध्यान गएकोजस्तो देखिन्छ,’ प्रनाउ बुढामगरले भने ।

समाजमा जातीय विभेदलाई व्यावहारिक रूपमा अन्त्य गर्न नसक्दा यस्ता घटनाहरू निम्तने गरेको दलित अधिकारकर्मी एवम् सञ्चारकर्मी अमित विश्वकर्मा बताउँछन् । अदालतको फैसलाअनुसार खड्कालाई बुधबार साँझ जिल्ला कारागार चलान गरिएको छ ।