मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ पौष ९ बिहीबार १९:०९:००
Read Time : > 1 मिनेट
फिचर

ताइवानमा कोरोना भाइरस फैलाएको आरोपमा न्युजिल्यान्डका पाइलट जागिरबाट बर्खास्त

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ पौष ९ बिहीबार १९:०९:००

ताइवानमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलाएको आरोप लागेका न्युजिल्यान्डका एकजना पाइलटलाई जागिरबाटै बर्खास्त गरिएको छ । ताइवानको इभा एयरले आफ्ना कर्मचारी एवं पाइलटलाई जागिरबाट निकालेको हो ।

ती पाइलटमाथि ताइवानमा महिनौँपछि समुदायस्तरमा संक्रमण फैलाएको आरोप लागेको छ । गत मंगलबार पाइलटसँग सम्पर्कमा पुगेका व्यक्तिलाई संक्रमण पुष्टि भएको थियो । त्यससँगै ताइवानमा दुई सय ५३ दिनपछि पहिलोपटक समुदायस्तरमा संक्रमण देखिएको थियो ।

योसँगै क्रिस्टमसको अवसरमा आयोजना गरिने तय भएका केही कार्यक्रमहरू पनि स्थगित गरिएका छन् । सरकारले अंग्रेजी नयाँ वर्ष र त्यसको पूर्वसन्ध्यामा आफ्ना नागरिकलाई घरभित्रै बस्न भनेको छ ।

ताइवानले देशभित्र भाइरस फैलन नदिन धेरै प्रयास गरिरहेको छ । त्यसका लागि उसले कडा खालका नियम पनि लागू गरेको छ । अहिलेसम्म ताइवानमा सात सय ७७ जनामा मात्रै भाइरस संक्रमण देखिएको छ भने जम्मा सातजनाको मृत्यु भएको छ ।

ती पाइलटलाई यो महिनाको सुरुवातमै भाइरस संक्रमण भएको हुन सक्ने जनाइएको छ । यद्यपि, उसमा त्यस्तो कुनै लक्ष्मण देखिएको थिएन । ताइवानमा उडानबाट फर्केपछि पाइलटहरू तीन दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने नियम छ । सो अवधिमा उनीहरूमा कुनै लक्षण देखिए मात्रै परीक्षण गरिनेछ । लक्षण नदेखिएको अवस्थामा उनीहरूको परीक्षण गरिने छैन ।

ती पाइलटमा संक्रमण देखिए पनि कुनै लक्षण नदेखिएकाले नियमित उडान भरिरहेका थिए । उनी ताइवानदेखि अमेरिकासम्मको उडानमा सहभागी थिए । अरू लक्षण नदेखिए पनि यात्रा अवधिभर उनले नियमित खोकेको जनाइएको छ ।

गत २० डिसेम्बरमा गरिएको परीक्षणमा भने उनमा संक्रमण पुष्टि भएको थियो । त्यसको दुई दिनपछि नै ताइवानमा महिनौँपछि समुदायस्तरमा संक्रमण देखिएको थियो । पाइलटको सम्पर्कमा पुगेकी एक महिलामा संक्रमण देखिएको हो ।

त्यससँगै पाइलटलाई सरकारले तीन लाख ताइवानिज डलर जरिवाना तिराएको छ । साथै इभा एयरले पनि जागिरबाट निकालिएको घोषणा गरेको छ । एयरलाइन्सले ककपिटमा बस्दा मास्क नलगाएकोलगायत नियममा हेलचेक्र्याइँ गरेको जनाएको छ ।

पाइलटले ती महिनाबाहेक उसका अरू दुईजना सहकर्मीलाई पनि संक्रमित तुल्याएको जनाइएको छ । उनीसँगै काम गर्ने जापान र ताइवानकै अर्का दुई पाइलटलाई पनि उसले संक्रमित तुल्याएको छ ।

ताइवानको सरकार र इभा एयर दुवैैले उक्त पाइलटको नाम सार्वजनिक भने गरेका छैनन् । इभा एयरले विज्ञप्तिमार्फत भनेको छ, ‘एकजना कर्मचारीले यो संकटबाट बच्नका लागि गरिएको सबैको प्रयासमा नजरअन्दाज गरेको पाइएको छ । त्यसले कम्पनीको इज्जत र प्रतिष्ठामा पनि ठूलो आँच पु¥याउने काम भएको छ । त्यसैकारण हामीले उसलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेका छौँ ।’

स्वास्थ्य अधिकारीहरूले अरू एक सय ७० जना ती संक्रमित महिलासँगको सम्पर्कमा पुगेको पत्ता लागेको र उनीहरू सबैलाई क्वारेन्टिनमा राखिएको जनाएका छन् । ती पाइलट र संक्रमित महिला पुगेको सबै क्षेत्रलाई संक्रमणमुक्त बनाउन औषधि प्रयोग गरिएको छ । सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न पनि भनिएको छ । 

ती महिलाले काम गर्ने जिमखाना पनि बन्द गरिएको छ । आफ्ना कर्मचारीहरूलाई कार्यालयमा खाना खान प्रतिबन्ध गरिएको छ भने बाहिरबाट कसैलाई पनि आउन नदिने भएको छ ।