१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ९ बिहीबार १८:५०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरामा हेली एयरको जाइरोकप्टरबाट माउन्टेन फ्लाइट सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ९ बिहीबार १८:५०:००

पोखराको मनोरम दृश्य देखाउने हेली एयर प्रालिको जाइरोकप्टर सेवा बिहीबारबाट सुरु भएको छ । नेपालकै एक मात्र जाइरोकप्टर सेवा कम्पनी हेली एयरले कोभिड– १९ का कारण गत चैतदेखि  सेवा स्थगन गरेको थियो । तर, पछिल्लो समय पाेखरामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि बिहीबारबाट सेवा सुरु गरेको कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाले जानकारी दिए ।

‘बिहीबारबाट सेवा सुरु गरेका थियौँ । काठमाडौं, चितवनलगायतबाट आउनुभएका पर्यटकलाई ९–१० वटा फ्लाइटमा राखेर उडान भरेका छौँ,’ उनले भने । कम्पनीले दुईवटा जाइरोकप्टर छन् । दैनिक २० वटासम्म फ्लाइट गर्न क्षमता रहेको अध्यक्ष बर्तौलाले बताए । दुईसिटे क्षमताको जाइरोकप्टरबाट पोखराको मनोरम दृश्य तथा माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृंखला अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकलाई कम्पनीले सेवा दिइरहेको छ ।

कोभिड– १९ लाई मध्यनजर गर्दै कम्पनीले ५० प्रतिशत छुटमा सेवा सुरु गरेको जनाएको छ । १५ मिनेट उडान भरेर पोखराको फेवाताल, सहरी क्षेत्र, सेतो गुम्बा, सराङकोट, लुम्लेलगायतको क्षेत्र अवलोकन गर्न प्रतिव्यक्ति ६ हजार चार सय ९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । त्यस्तै माछापुच्छ्रे हिमशृंखलाका लागि ३० मिनेटको उडानका लागि प्रतिव्यक्ति ११ हजार चार सय ९९ र एक घन्टाको उडान भरेर पोखराको सम्पूर्ण क्षेत्र, माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला अवलोकन गर्न प्रतिव्यक्ति २१ हजार चार सय ९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

अध्यक्ष बर्तौलाले पोखरा आउने  पर्यटकका लागि हेली एयरले ल्याएको छुट सुविधाबाट लाभ लिई माउन्टेन फ्लाइटको मज्जा लिन आग्रह गरेका छन् । ‘पोखरा विमानस्थलभित्रै रहेको कार्यालयमा आएर पर्यटकहरूले टिकट खरिद गर्न सक्नुहुन्छ । बुकिङ गर्न चाहनेले इ–सेवा वा हेली एयरको आधिकारिक वेबसाइटबाट टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाएका छौँ,’ बर्तौलाले भने, ‘हामीले बर्षौंदेखी प्रदान गर्दै आएको सेवा सुचारु गर्न पाउँदा खुसी छौँ ।’

उनले कोभिड– १९ का लागि आवश्यक सुरक्षाका सबै मापदण्ड पालना गरी उडान भर्दै आएको जानकारी दिएका छन् । पोखरा पुग्ने पर्यटकका लागि जाइरोकप्टरबाट माउन्टेन फ्लाइट गर्ने सेवा लोकप्रिय मानिन्छ । ‘यसपटक त मूल्य नै आधा गरिदिएक छौँ । जसकारण जाइरोकप्टरबाट पोखराको मनोरम दृश्य र विभिन्न हिमशृंखला हेर्न आउने उपभोक्ताको संख्या बढ्ने अपेक्षा राखेका छौँ,’ उनले भने ।