मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०९:५४:००
Read Time : > 2 मिनेट
सेयर बजार

प्रोफिट बुकिङले  बजारमा करेक्सन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०९:५४:००

मंगलबार नेप्से परिसूचक १ दशमलव २४ प्रतिशत घटेर बन्द भएको छ । कारोबारमा आएका अधिकांश समूहहरूको परिसूचक ओरालो लागेपछि नेप्से पनि घटेको हो । बजार खुलेको आधा घन्टासम्म करिब स्थिर रहेको नेप्से सोपछिको समयमा ओरालो लागेको थियो । नेप्से ओरालो लागे पनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ । यस दिन ५० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजार निरन्तर बढेपछि लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेको एक ब्रोकरले बताए । दैनिक १ प्रतिशतको हाराहारीमा बजार बढेपछि अल्पकालीन लगानीकर्ताले यसको फाइदा उठाएको उनको भनाइ छ । फलस्वरूप बजारमा करेक्सन भएको हो । सेयर लगानीकर्ता दबाब समूहले सोमबारदेखि आमरण अनशन सुरु गरेका थिए । सो अनशन सुरु गरेसँगै समूहले सेयर कारोबार नगर्न पनि अपिल गरेका थिए । तर, सोमबार लगानीकर्ताले सेयर कारोबार गरेपछि मंगलबार सो समूहले कारोबार गर्न दिने बताएका थिए । 

नेप्से परिसूचक यस दिन १४ दशमलव ६१ अंक घटेर १ हजार १ सय ६८ दशमलव १७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव शून्य ४ अंक घटेर २ सय ४८ दशमलव ५९ बिन्दुमा पुगेको छ । यस दिन १ सय ५९ कम्पनीको ५ हजार ६ सय ७४ पटकको कारोबारमा ५३ करोड २३ लाख २५ हजार ६ सय ४६ रुपैयाँबराबरको १४ लाख ७८ हजार ७ सय २४ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ५१ दशमलव शून्य ५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ५ करोड ९ लाख ८० हजार रुपैयाँबराबरको १ लाख ६६ हजार ७ सय ९२ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा यस दिन एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ५ सय २९ पटक सेयर कारोबार भएको छ । समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन १० प्रतिशत बढेको छ । कम्पनीले २३ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाले लगानीकर्ता सोतर्फ आकर्षित भएका हुन् ।

त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य यस दिन १० प्रतिशतकै हाराहारीमा बढेको छ । विजय लघुवित्त र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएका १ सय ५९ कम्पनीमध्ये यस दिन ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २० कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

कारोबारमा आएका १० समूहमध्ये यस दिन उत्पादनमूलक र अन्य समूहको परिसूचक बढेको छ । यस दिन अन्य समूहको परिसूचक शून्य दशमलव ७५ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ४२ प्रतिशत बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक ३ दशमलव ५२ प्रतिशत घटेको छ । त्यसैगरी, वाणिज्य बैंक समूहको परिसूचक १ दशमलव ४९ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ४२ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ३७ प्रतिशत, जलविद्युत्् समूहको १ दशमलव ३३ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ९१ प्रतिशत, होटेल समूहको शून्य दशमलव ३२ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ । 

एनआइबिएलको साधारणसभा
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल)ले पुस २९ गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बत्तीसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । 

सभामा २२ प्रतिशत नगद लाभांश वितरण गर्ने, १८ प्रतिशत बोनस सेयर जारी गर्ने, मर्जर अथवा एक्विजिसन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने भएको छ ।