मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २७ आइतबार ०८:४७:००
Read Time : > 3 मिनेट
सेयर बजार

नेप्सेमा ब्याजदरको दबाब, अन्योलमा लगानीकर्ता

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २७ आइतबार ०८:४७:००

बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर नघटाएको प्रभाव गत साता पनि बजारमा देखियो । निरन्तर ओरालो लागेको नेप्से गत साता पनि ओरालो लागेको छ । ५ कारोबार दिनका लागि खुलेको बजारमा १ कारोबार दिनबाहेक अरू ४ कारोबार दिन बजार ओरालो लागेको थियो । 

नियामक निकायहरूले पुँजीबजार विस्तार र सुधारका कार्य गरिरहेका छन् । यसका साथै कम्पनीहरूले पनि उल्लेख्य नाफा आर्जन गरेको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । तर, यी दुबैको प्रभावभन्दा बढी, नेप्सेमा ब्याजदरको दबाब देखिएको छ । सकारात्मक कार्य भए पनि बजार नबढेपछि लगानीकर्ताहरू अन्योलमा परेका छन् ।

बजार सारांश
गत साता नेप्से परिसूचक २२ दशमलव शून्य ६ अंक घटेर १ हजार १ सय ३९ दशमलव ५७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ ४ दशमलव १९ अंक घटेर २ सय ४२ दशमलव ६१ बिन्दुमा पुगेको छ । 

त्यसैगरी, फ्लोट इन्डेक्स १ दशमलव ४६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १९ अंक घटेको छ । सो साता १ सय ८७ कम्पनीको २७ हजार ७ सय ३३ पटकको कारोबारमा १ अर्ब ५० करोड ७२ लाख ३६ हजार रुपैयाँबराबरको ५१ लाख १६ हजार ५ सय ३५ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : गत साताको अन्तिम कारोबार दिन नेप्सेले रातो डोजी मैनबत्ती बनाएको छ । यसले लगानीकर्ता अन्योलमा रहेको संकेत गर्दछ । 

आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ३२ दशमलव ५४ स्केलमा पुगेको छ । बजार घटे पनि आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता शून्य दशमलव २६ रहेको छ । यसले बजार वियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । यो साता कारोबारमा आएका १ सय ८७ कम्पनीमध्ये ३३ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय २४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३० कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

 पिभट विश्लेषण
तेस्रो प्रतिरोध  :  ११७९.५७
दोस्रो प्रतिरोध   : ११७०.६०
पहिलो प्रतिरोध   : ११५५.०८
पिभट बिन्दु   : ११४६.११
पहिलो टेवा  :  ११३०.५९
दोस्रो टेवा :   ११२१.६२
तेस्रो टेवा  :  ११०६.१०

गत साता नेप्सेको पिभट बिन्दु १ हजार १ सय ४६ दशमलव ११ रहेको छ । आगामी साताको लागि नेप्से ओरालो लागे १ हजार १ सय ३० दशमलव ५९ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय ५५ दशमलव शून्य ८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय २१ दशमलव ६२ बिन्दुमा दोस्रो टेवा पाउनेछ भने १ हजार १ सय ७० दशमलव ६० बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

घटेन अपर तामाकोसीमा आकर्षण
गत साता कारोबार रकम र कारोबार संख्याका आधारमा अपर तामाकोसी अगाडि रहेको छ । सो कम्पनीको गत साता ५ हजार ९ सय ७३ पटकको कारोबारमा १० करोड ४४ लाख ७७ हजार रुपैयाँबराबरको ४ लाख २६ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा भने गत साता माछापुच्छ्रे बैंकको संस्थापक सेयर अगाडि रहेको छ । सो बैंकको गत साता ५ लाख २२ हजार कित्ता संस्थापक सेयर खरिद–बिक्री भएको छ । 

सर्वाधिक कमाउने सामुदायिक लघुवित्त
गत साता सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य २५ दशमलव २९ प्रतिशत बढेको छ । त्यसैगरी, लक्ष्मी भ्यालु फन्ड १ को एकाइमूल्य ११.११ प्रतिशत बढेको छ भने एनआइबिएल प्रगति फन्डको एकाइमूल्य ७.८६ प्रतिशत बढेको छ । मेरो माइक्रोफाइनान्सको सेयरमूल्य गत साता सर्वाधिक ४५ दशमलव ९५ प्रतिशत घटेको छ । एनआइसी एसिया ग्रोथ फन्ड र सानिमा इक्विटी फन्डको एकाइमूल्य सो साता ११.११ प्रतिशत घटेको छ ।  
  
सबै समूहको परिसूचक घट्यो
गत साता कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । सो साता जीवन बिमा समूहको परिसूचक सर्वाधिक १ सय ८८ दशमलव २९ अंक घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक ९४ दशमलव १५ अंक, उत्पादनमूलक समूहको ७९ अंक, जलविद्युत् समूहको ४८ दशमलव ६७ अंक, होटेल समूहको २६ दशमलव ९८ अंक, अन्य समूहको २३ दशमलव ४९ अंक, लघुवित्त समूहको १९ दशमलव ९१ अंक, विकास बैंक समूहको १६ दशमलव २१ अंक र वाणिज्य बैंकको १२ दशमलव ९२ अंक घटेको छ । कारोबारमा आएको वित्त समूहको परिसूचक गत साता ५ दशमलव ७५ अंक घटेको छ भने व्यापार समूहको २ दशमलव ७ अंक घटेको छ । 

नबिलको खुद नाफा २ अर्बभन्दा बढी
चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार नबिल बैंक लिमिटेडको खुद नाफा र वितरण योग्य नाफा, दुवै २ अर्ब नाघेको छ । दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब १७ करोड खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १८ दशमलव ४५ प्रतिशत बढी हो । 

त्यसैगरी, समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ११ दशमलव २८ प्रतिशह बढेर २ अर्ब ४ करोड पुगेको छ । बैंकको जगेडा कोष गत आवको दोस्रो त्रैमासको तुलनामा ८४ दशमलव ८९ प्रतिशत बढेर १४ अर्ब ५२ करोड पुगेको छ । बैंकको चुक्तापुँजी भने गत आवमा जस्तै ८ अर्ब ४ करोड रहेको छ । सो अवधिसम्ममा बैंकले १ खर्ब ४९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब कर्जा प्रवाह गरेको छ । गत आवको पुस मसान्तको तुलनामा निक्षेप र कर्जा क्रमशः २३ दशमलव १६ प्रतिशत र २६ दशमलव ९८ प्रतिशत बढी हो । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै ३ अर्ब नाघेको छ । 

बैंकले पुस मसान्तसम्ममा ३ अर्ब ६१ करोड खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ८३ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी २३ दशमलव शून्य २ प्रतिशत र सञ्चालन मुनाफा १८ दशमलव ३१ प्रतिशत बढी हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर ५४ दशमलव २८ रुपैयाँ पुगेको छ । गत आवमा बैंकको यस्तो आम्दानी ४५ दशमलव ७० रहेको थियो । 

त्यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९७ दशमलव ६६ बाट बढेर २ सय ८० दशमलव ५७ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २३ दशमलव ३१ बाट घटेर १५ दशमलव ४ मा सीमित भएको छ ।