मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष ८ बुधबार ०९:१९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पुरातात्विक सम्पदाको पुनर्निर्माण छायामा

८५ गुम्बामध्ये ६ वटाको मात्र मर्मत, बाँकी अन्योल

Read Time : > 1 मिनेट
२०७७ पौष ८ बुधबार ०९:१९:००

गोर्खा भूकम्प गएको ६ वर्ष बित्नै लाग्यो । तर, भूकम्पले क्षतविक्षत ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण भने छायामा परेको छ । भूकम्पले भत्किएका गुम्बाको पुनर्निर्माण नहुँदा बौद्ध धर्मावलम्बी मारमा परेको बताउँछन् । बौद्ध धर्मावलम्बीहो आफ्नै कला, संस्कृति, परम्परा हुन्छ । तर, भवन अभावले रीत पुर्‍याउनसमेत समस्या भएको धादिङ नीलकण्ठ नगरपालिका– ९ मा अवस्थित क्ष्योलिङ गुम्बाका लामागुरु धनबहादुर लामाले बताए । 

ऐतिहासिक तथा पुरातात्विक सम्पदा इतिहास बोक्ने धरोहर हो । जसरी हाम्रा पुर्खाले जोगाएर हामीलाई हस्तान्तरण गरे । त्यसैगरी हामीले भावी पुस्तालाई हस्तान्तरण गर्न सकेनौँ भने धर्म नै लोप हुन सक्ने चिन्ता रहेको लामाले बताए । उनले भने, ‘हामीले नै जोगाउन सकेनौँ भने भावी पुस्ताका लागि एकादेशको कथा नहोला भन्न सकिन्न । भूकम्पले थलिएका धादिङका गुम्बाहरू बनेका छैनन् ।’ पटक–पटक गुम्बा पुनर्निर्माणका लागि सरोकारवाला निकायलाई झकझकाउँदा पनि बेवास्ता गरिएको उनले बताए ।

त्यस्तै, रुबिभ्याली गाउँपालिका– ४ बोराङमा अवस्थित गुम्बाको पनि पुनर्निर्माण हुन नसक्दा बौद्ध धर्मावलम्बीले समस्या भोगेको दर्जुङ सङदेन क्ष्योलिङ गुम्बाका लामागुरु भीमसेन लामाले बताए । ‘हाम्रो कला, संस्कृति, धर्म, रीतिरिवाज, परम्परा सबै गुम्बासँग जोडिएको हुन्छ,’ उनले भने, ‘स्थानीयले बताउन सम्भव छैन । जिम्मा लिएका सरोकारवाला निकाय निदाएर बसेका छन् । भूकम्पले भत्किएको गुम्बा बनाउन धेरैपटक प्राधिकरण धायौँ, तर अझै गुम्बा बनाउन सकेका छैनौँ ।’

चारवटा गुम्बाको काम हुँदै
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार धादिङका अनुसार धादिङमा भूकम्पले भत्किएका ८५ वटा गुम्बा पुनर्निर्माण गर्नुपर्ने छ । तर, आर्थिक वर्ष ०७६/७७ मा ६ वटा गुम्बाको मर्मतसम्भार भएको छ । चालू आर्थिक वर्ष ०७७/७८ मा चारवटा गुम्बा पुनर्निर्माणका लागि सम्झौता भएर काम अघि बढाइएको इन्जिनियर चन्द्रमणि शाहले बताए ।

निजी आवास पुनर्निर्माणले पूर्णता पाउने अन्तिम चरणमा पुगेको छ । तर, पुरातात्विक सम्पदाको पुनर्निर्माणमा ढिलाइ भएकै हो । तैपनि बाँकी रहेको ७५ वटा गुम्बाको पुनर्निर्माण कहिले हुन्छ अहिले कुनै टुंगो नभएको शाहको भनाइ छ ।