मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टिम वु
२०७७ पौष ८ बुधबार ०८:४७:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

फेसबुकविरुद्ध मुद्दाको अन्तर्य 

Read Time : > 3 मिनेट
टिम वु
२०७७ पौष ८ बुधबार ०८:४७:००

अमेरिकाको फेडरल ट्रेड कमिसन र ४० भन्दा बढी राज्यले डिसेम्बर ९ मा फेसबुकविरुद्ध एकाधिकारसम्बन्धी मुद्दा दायर गरेका छन् । मुद्दापछि फेसबुक र यसका पक्षधरले अमेरिकी प्रविधि उद्योगको केन्द्र ‘सिलिकन भ्याली’को काम गर्ने शैलीमाथि आक्रमण भएको आरोप लगाउन थालेका छन् । यथार्थ भने त्यसभन्दा फरक छ । अमेरिकी संघीय सरकार तथा राज्यले सम्पूर्ण अमेरिकी कम्पनीमाथि लागू हुने आधारभूत नियमलाई अहिले पुनः जोड दिएको मात्र हो । त्यो नियम हो, पैसाको बलमा तपाईं प्रतिस्पर्धी मास्न सक्नुहुन्न । तर, फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले यो रणनीतिलाई निकै उचाइमा पुर्‍याए । उनले आफ्नो उत्पादनसँग प्रतिस्पर्धा गर्ने सम्भावना भएका उद्योगलाई नै किनेर प्रतिस्पर्धालाई जरामै काट्ने कार्य गरिरहे । 

फेसबुकको एकाधिकारवादी कार्यलाई बेवास्ता गर्नु तिनको कार्यलाई अनुमोदन गर्नु हो । यदि यसो गरियो भने विगतमा गैरकानुनी मानिने अभ्यास स्वीकार्य हुँदै जानेछ । बिम्बमा केही मानिस पुँजीवादलाई जंगल र व्यवसायलाई त्यसमा जीवित रहने खेलको रूपमा व्यक्त गर्छन् । कुनै पनि व्यवसाय दुईमध्ये एक तरिकाबाट अस्तित्वमा रहन सक्छ, या त ऊ प्रतिस्पर्धीहरूमध्ये राम्रो वा धेरै राम्रो हुनुपर्छ, या आफ्नो बजार हिस्सालाई जोखिममा पार्ने प्रतिस्पर्धीलाई पैसा खर्च गरेर किनिदिने र एक्सक्लुसिभ डिलिङजस्ता रणनीतिमार्फत तिनलाई निस्तेज गरिदिने काम गर्नुपर्छ । 

प्रतिस्पर्धीलाई किन्ने वा निस्तेज पार्ने कार्यलाई प्रतिबन्धित गर्नु अमेरिकाको ‘सरमन एकाधिकारविरोधी कानुन’को मुख्य उद्देश्य हो । सन् १८९० देखि लागू भएको यो नियमलाई सिलिकन भ्यालीले विगत १५ वर्ष पूर्णतः बेवास्ताजस्तै गर्‍यो । पहिलो पुस्ताका ठूला प्रविधि उद्योगले लेखापढीलाई बेवास्ता गरेका थिए भने दोस्रो पुस्ताका हस्तीले एकाधिकारविरोधी कानुनका मूल्यमान्यतालाई बेवास्ता गरिरहेका छन् । सन् २०१० को दशकमा जुकरबर्ग आफैँले ‘प्रतिस्पर्धी स्टार्ट–अपलाई सधैँ किन्न सकिने’ विचार व्यक्त गर्दै यस पुस्ताका उद्योगीको विचार व्यक्त गरेका थिए । 

स्टकको उच्च मूल्य तथा हातमा अर्बौं डलरको बलमा ठूला कम्पनीले साना प्रतिस्पर्धीलाई सहजतासाथ किने । सन् २००० को दशकमा फेसबुकले उसको प्रतिस्पर्धी माइस्पेसलाई पराजित गर्दा कसैले पनि फेसबुकलाई गलत भनेका थिएनन् । समस्या उसले आफ्नो साम्राज्य टिकाउन सुरु गरेपछि सुरु भयो । सन् २०१० को दशकमा फेसबुकमा आफ्नो भविष्यप्रति असुरक्षित भाव देखिन थाल्यो । युवाहरू इन्स्टाग्रामतर्फ आकर्षित भएका थिए । ह्वाट्सएपजस्ता मेसेजिङ एप अर्को लोकप्रिय विकल्प बन्यो । सामाजिक सञ्जाल क्षेत्र सूचना आदानप्रदान गर्ने मध्यम–आकारका प्रतिस्पर्धीहरूको बजार हुँदै छ भन्ने जुकरबर्गकै ठम्याइ थियो । 

विगतमा जति पनि एकाधिकारवादी मुद्दा परे, तीमध्ये कुनैले पनि अमेरिकी अर्थतन्त्रलाई असर गरेन । बरु उल्टो, प्रतिस्पर्धालाई निरुत्साहित गरिरहेका एकाधिकारवादी व्यवसाय तोडिएपछि नवप्रवर्तन उद्योगमा उत्साहजनक विकास भयो ।

फेसबुकले ती चुनौतीको सामना गर्न आफ्नो उत्पादनमा सुधार गर्ने प्रयास गर्‍यो । त्यसक्रममा उसले केही नयाँ प्रयोग र सुधारहरू लागू पनि गर्‍यो । तर, उही समयमा कम्पनीले उसको आधिपत्यमा सबैभन्दा बढी खतरा हुन सक्ने प्रतिस्पर्धीलाई किन्ने वा डुबाउने अभियान चलायो । फेसबुकको रणनीति सन् १८८० को दशकमा स्ट्यान्डर्ड ओयलमा जोन डी रकफेलरले अपनाएको रणनीतिसँग मिल्दोजुल्दो देखिन्छ । दुवै कम्पनीले बजारका प्रतिस्पर्धी खोज्ने, तिनलाई किन्ने कि त बर्बाद गर्ने मार्गमा लागेको देखिन्छ । खोज पत्रकार इडा टरबेलको चर्चित खोजमा रकफेलरको आक्रामक शैलीबारे सटिक रूपमा लेखेका छन्, 

‘उनका लागि सानो भन्ने केही थिएन । ब्राउनटाउनको चोकको किराना पसलदेखि सबैभन्दा छोटो निजी पाइपलाइनसम्म उनले हत्याए । किनकि, उनलाई थाहा थियो, सानो कुरा एक दिन बढ्नेछ ।’

यही व्यावसायिक मोडललाई अमेरिकी कंग्रेसले प्रतिबन्ध लगाएको थियो । सार्वजनिक रूपमा गरिने फेसबुकको प्रतिरक्षा सबैभन्दा कमजोर जगमा उभिएका छन् । धेरै गरिने तर्कले भन्छ, विगतमा ह्वाट्सएप तथा इन्स्टाग्राम फेसबुकमा मर्जर हुँदा संघीय सरकारले केही गरेको थिएन, अहिले किन बखेडा ? तर, कानुनी परम्पराले यस्तो तर्कलाई प्रमाणित गर्दैन । स्ट्यान्डर्ड ओयल सन् १९११ मा टुक्राइयो । तर, उसको सबैभन्दा ठूलो मर्जर त्योभन्दा दशकौँअघि नै भएको थियो । यही कुरा अल्कोआ तथा एटिएनटी टुक्राउँदा पनि लागू भएको थियो । यसै परम्परा फेसबुकमाथि पनि लागू हुँदै छ । सबैभन्दा महत्वपूर्ण कुरा, संघीय सरकारले फेसबुकसँगको इन्स्टाग्रामको मर्जरलाई नियन्त्रण नगर्ने निर्णय गर्दा उसले त्यस समय मर्जरलाई अलग नजरमा हेरेको थियो । सरकारलाई त्यस मर्जरबारे थाहा नभएका धेरै तथ्यहरूका आधारमा उक्त बेवास्ता भएको थियो । तर, पछिल्लो समय मर्जरको वास्तविकता उजागर भयो । खासमा एकाधिकारवादी व्यवहार पछि नै स्पष्ट हुँदै जान्छ । फेसबुकको हकमा पनि समय बित्दै जाँदा उसको एकाधिकारवादी चरित्र छोप्नै नसकिने भयो । 

सबैभन्दा उग्र समर्थकले सिलिकन भ्यालीको काम गर्ने शैली नै प्रतिस्पर्धीलाई किन्नु हो भनेर फेसबुकको प्रतिरक्षा गरिरहेका छन् । यो कार्य एकाधिकारवादी पुँजीवादको महिमागानभन्दा केही होइन । दोस्रो विश्वयुद्धअघिको जर्मनी र चीन यो खालको व्यवस्थाका उदाहरण हुन् । तर, अमेरिकाले यस्तो प्रक्रियालाई लोकतान्त्रिक प्रक्रियामार्फत पटक–पटक अस्वीकार गर्दै आएको छ । तर, विगत दुई दशकसम्म यो कानुनलाई कार्यान्वयन गर्नबाट अमेरिका चुक्यो । त्यसैले पनि अहिले यो कानुन लागू गर्न ढिलो भइसक्यो । फेसबुकको मुद्दाले धेरै प्रविधि उद्योगलाई परिवर्तन गर्न प्रेरित गर्न सक्छ । विगतमा स्ट्यान्डर्ड आयल, अमेरिकन टोबाको, अलकोया, आइबिएम, एटिएनटी र माइक्रोसफ्टविरुद्ध एकाधिकारवादी मुद्दा परेको थियो । ती कुनै मुद्दाले पनि अमेरिकी अर्थतन्त्रलाई असर गरेन । बरु उल्टो, प्रतिस्पर्धालाई निरुत्साहित गरिरहेका एकाधिकारवादी व्यवसाय तोडिएपछि नवप्रवर्तन उद्योगमा उत्साहजनक विकास भयो । अमेरिकाले ठूला व्यवसायका एकाधिकारवादी अभ्यासमाथि गम्भीरता नदिएको २० वर्ष भयो । त्यस आधारमा फेसबुकमाथिको मुद्दा ढिलो गरी आएको हो । 

"via The New York Times" नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

टिम वु कोलम्बिया विश्वविद्यालयको कानुनका प्राध्यापक हुन् ।