मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ पौष ४ बुधबार ०९:४३:००
Read Time : > 1 मिनेट
विश्व

‘चीनको विकासलाई कसैले हस्तक्षेप गर्न सक्दैन’

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ पौष ४ बुधबार ०९:४३:००

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गलाई कुनै पनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४० वर्ष पुगेको अवसरमा बेइजिङमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्र«पति सीले चीनको विकास र प्रगति सोही नीतिका आधारमा निरन्तर अगाडि बढेको बताए ।

समाजवादको झन्डा सदा फहराउँछौँ
राष्ट्रपति सीले समाजवादको झन्डा चीनमा सदा फहराउने बताए । सीले भने, ‘समाजवादको झन्डा चिनियाँ भूमिमा अझै उचाइका साथ सदैव फर्फराइरहनेछ ।’ उनले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतामा आधारित समाजवादको बिम्ब भएको बताए । उनले थपे, ‘चीनको कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको प्रतिरूप हो र यो चिनियाँ विशेषतासहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि हो ।’ उनले विद्यमान राजनीतिक प्रणालीबाट चीन बिचलित नभएको प्रष्ट पारे ।‘विद्यमान एकदलीय राजनीतिक प्रणालीबाट चीन विचलित हुन्न । हामी अन्य कुनै पनि मुलकको आदेश लिएर काम गर्दैनौँ,’ राष्ट्रपतिले भने । 

देङ सियाओपिङको खुला नीति
चिनियाँ सुधार तथा खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ बाट सुरु भएको थियो । माओत्से तुङका नीतिहरूले मुलुकमा असहज परिस्थिति सिर्जना गरेको भन्दै देङ सियाओपिङले सुधार एवं खुला नीति प्रतिपादन गरेका थिए । देङको खुला नीतिले करोडौँ चिनियाँ जनतालाई गरिबीबाट मुक्त गरेको विश्वास गरिन्छ । साथै, यही नीतिको आडमा चीनले आफूलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका रूपमा विश्वमा चिनाएको छ । देङ सियाओपिङले हङकङसँग सीमा जोडिएको सेन्जेनमा चीनकै पहिलो विशेष आर्थिक क्षेत्र निर्माण गरेका थिए ।सेन्जेन अहिले विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित छ । यहाँ टेन्सेन्ट र टेलिकम क्षेत्रको मसहुर कम्पनी हुवावेका मुख्यालय छन् ।

यो आर्थिक क्षेत्र मुलुकका बाँकी स्थानका लागि नमुनाका रूपमा स्थापित भएको थियो ।  तर, पछिल्ला वर्षहरूमा चीनको आर्थिक विकासमा केही कमी आएको छ । गत वर्ष ६ दशमलव ९ प्रतिशत रहेको आर्थिक विकास यस वर्ष ६ दशमलव ५ प्रतिशतमा झरेको छ । 

कुनै योजना घोषणा गरेनन् सीले
राष्ट्र«पति सीले सुधारका बारेमा चीन तयार रहेको बताए पनि कुनै ठोस योजना भने घोषणा गरेनन् । अमेरिकी र युरोपेली मुलुकहरूले लामो समयदेखि चीनको विशाल बजारमा सहज पहुँचको माग गरिरहेका छन् । चिनियाँ कम्पनीहरूले पश्चिमा मुलुकको अर्थतन्त्रमा खुला र सहज प्रवेश पाए पनि चीनले सो सुविधा नदिएको उनीहरूले गुनासो गरिरहेका छन् ।

अन्य मुलुकका लागि चीन चुनौती होइन
पछिल्ला दिनहरूमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनियाँ अर्थतन्त्रले संकटको सामना गरिरहेको छ । दुवै मुलुक ९० दिनका लागि व्यापारिक युद्धविराम गरेर सहमति प्रयासमा छन् । अमेरिकामाथि प्रत्यक्ष संकेत नगरी राष्ट्र«पति सीले भने, ‘चीन कुनै पनि मुलुकका लागि चुनौती होइन, तर यसलाई कुनामा धकेल्छु भन्नु महाभूल हुनेछ । चीनको सार्वभौमसत्तामाथि कुनै देशले हस्तक्षेप गरे त्यो बेइजिङका लागि स्वीकार्य हुन्न । सुधारका कार्यलाई चीनले निरन्तरता दिने उनले स्पष्ट पारे । ‘हामीले गर्न सकिने सुधारका कार्यलाई निरन्तरता दिनैपर्छ, तर कतिपय काम हामी गर्न सक्दैनौँ, त्यसमा कसैले हस्तक्षेप गर्ने प्रयास नगरे हुन्छ,’ राष्ट्र«पति सीले चेतावनीयुक्त भाषामा भने ।