१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ पौष ७ मंगलबार ०६:४३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेकपा विवाद जिल्ला तहसम्म : ओली समूहद्वारा आफ्नै कार्यालयमा तालाबन्दी

Read Time : < 1 मिनेट
२०७७ पौष ७ मंगलबार ०६:४३:००

नेकपाको विवाद जिल्ला तहसम्म पुगेको छ । लमजुङको बेँसीसहरस्थित नेकपाको पार्टी कार्यालय (मदन–आश्रित स्मृति भवन)मा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीनिकट युवा तथा विद्यार्थीले तालाबन्दी गरेका छन् । 

सोमबार राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले पार्टी अध्यक्षको कार्यकक्षमा ताला लगाएका हुन् । राष्ट्रिय युवा संघका जिल्ला संयोजक ऋषि बस्नेतले पार्टी कार्यालयमा बसेर सरकारविरोधी कार्य गर्न नदिन ताला लगाएको बताए । उनले भने, ‘तत्कालीन नेकपा एमालेले बनाएको कार्यालयमा बस्ने, अनि प्रधानमन्त्री र आफ्नै अध्यक्षलाई असफल बनाउन खोज्नेहरू कार्यालयमा बस्न आवश्यक छैन ।’

ओलीनिकट समूहले तालाबन्दी गरेपछि नेकपा जिल्ला अध्यक्ष मधुमाया अधिकारी कार्यकक्षमै थुनिएकी थिइन् । उनले दुई घन्टासम्म आफूलाई कार्यकक्षमा थुनेको बताइन् । ‘अध्यक्षको कार्यकक्षमा बसिरहेको अवस्थामा तत्कालीन नेकपा एमालेले बनाएको कार्यालयमा बस्न नपाउने भन्दै एक्कासि ताला लगाइयो ।

दुई घन्टासम्म थुनिएँ,’ अध्यक्ष अधिकारीले भनिन् । ओली समूहका युवा र विद्यार्थीले भने अध्यक्षलाई नथुनेको, बाहिर आउन आग्रह गरेर ताला लगाएको बताएका छन् । नेकपाले एकीकरण गर्दा तत्कालीन माओवादी नेतृ अधिकारीलाई अध्यक्ष बनाएको थियो । 

सोमबार नै प्रधानमन्त्री ओलीनिकट युवा र विद्यार्थीका साथै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा र विद्यार्थीले बेँसीसहरमा छुट्टाछुट्टै  र्‍याली निकालेका छन् ।

ओली पक्षका युवा र विद्यार्थीले ओलीको समर्थन गरेका छन् भने प्रचण्ड–नेपाल पक्षका युवा र विद्यार्थीले ओलीले चालेको कदमको विरोध गरेका छन् । 

बेँसीसहरको भीमसेनस्थान चोकबाट नाराबाजी गर्दै ओली पक्षका युवा र विद्यार्थी अनि प्रचण्ड–नेपाल समूहका युवा, विद्यार्थी शेराचोकसम्म पुगेका थिए । उनीहरूले एक–अर्काविरुद्ध चर्का नाराबाजी गरेका थिए ।