१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
भाेला दाहाल
२०७५ मङ्सिर २ आइतबार ००:४५:००
Read Time : > 2 मिनेट
ब्लग

असफलतामा धैर्य गुमाइनँ कमजोरी सुधार्दै गएँ

Read Time : > 2 मिनेट
भाेला दाहाल
२०७५ मङ्सिर २ आइतबार ००:४५:००

बुबा निजामतीमा हुनुहुन्थ्यो । त्यही भएर पनि सानैदेखि सरकारी जागिरमा रुचि थियो । भक्तपुर बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा दिएर बसेको थिएँ । त्यहीवेला लोकसेवाले विभिन्न पदका लागि विज्ञापन खोल्यो । विसं २०५३ साल पुसमा राजपत्र अनंकित तृतीय श्रेणी मुखिया पदका लागि फर्म भरेँ । पहिलोपटक लोकसेवा आयोगको परीक्षा दिँदै थिएँ ।

भाेला दाहाल, उपसचिव, संघीय संसद् सचिवालय

त्यसकारण पनि पढ्ने तरिका थाहा थिएन । बजारमा प्रकाशित किताबहरू किनेँ । समसामयिक सामान्य ज्ञान तथा पत्रपत्रिकालाई आधार बनाएँ । लेखन र अध्ययन विधिमा धेरै जानकारी त थिएन, सायद धेरै मिहिनेतले पहिलो प्रयासमै सफल पनि भएँ ।

१८ वर्षको उमेरमा नेपाल सरकारको निजामती सेवामा मुखिया बन्न सफल भएँ । सरकारी जागिर र नियमित अध्ययनलाई सँगै अघि बढाउँदै लगेँ । यसबीचमा सुब्बा र खरिदारका लागि दुई/दुईपटक प्रयास गरेँ । तेस्रो प्रयासमा विसं २०५९ सालमा खुला प्रतिस्पर्धात्मक परीक्षाबाटै मुखियाबाट खरदार भएँ ।

एकै वर्ष खरिदार र सुब्बा दुवै पदका लागि परीक्षा दिएको थिएँ । चार महिनाअघि खरिदारमा उत्तीर्ण भएँ । त्यही वर्ष सुब्बाको रिजल्ट आउँदा त्यसमा पनि उत्तीर्ण भएँ । यसरी एकै वर्ष दुईवटा पदमा सफलता हात पार्न पुगेँ । सुब्बामा सात वर्ष काम गरेपछि २०६७ सालमा अधिकृत र २०७४ सालमा उपसचिव बन्न सफल भएँ ।

सफलता असफलता दुवै अनुभव

मुखिया पदमा पहिलो प्रयासमै सफल भएँ । तर, खरिदार र नासुका लागि गरेको दुई÷दुईवटा प्रयास सफल हुन सकिन । तेस्रो प्रयासमा दुवै पदमा एकै वर्ष सफल भएको भएँ । त्यस्तै, शाखा अधिकृत र उपसचिवका लागि दुवै पदको परीक्षामा पहिलोपटक असफल भएँ भने दुवै पदमा दोस्रोपटक सफल भएको हुँ । मेरो अनुभवले के देखाएको छ भने प्रतिस्पर्धाको परीक्षामा सबैजना सफल हुँदैनन् ।

यसैले परीक्षामा असफल हुनुलाई पनि स्वाभाविक रूपमा लिनुपर्छजस्तो मलाई लाग्छ । मैले असफल हुँदा पनि धैर्य गुमाइनँ, बरु असफलताका लागि जिम्मेवार मभित्रको कमजोरीलाई केलाउँदै र सुधार्दै आगामी परीक्षाको तयारीमा जुटेँ । परिणाम लोकसेवा आयोगबाट विज्ञापन भएको मुखिया, खरिदार, नासु, शाखा अधिकृत र उपसचिव क्रमशः सबै पदको परीक्षामा सफल हुन सकेँ ।

धेरै पढेर र जानेर मात्रै सफल हुने होइन रहेछ । यसका लागि प्रस्तुतीकरण उत्तिकै स्तरीय हुन जरुरी छ । म हरेक प्रश्नको उत्तर दिने शैली मौलिक बनाउने प्रयास गर्थें ।

निरन्तरता नै सफलताको कडी

लोकसेवा आयोगको परीक्षा विश्वविद्यालयको जस्तो निश्चित अंक प्राप्त गरेपछि मात्रै पास भइँदैन । बढी अंक ल्याउने परीक्षार्थीमध्येबाट पनि बढी अंक प्राप्त गर्ने परीक्षार्थी प्रतिस्पर्धाका आधारमा छनोट हुन्छ । त्यसो हुँदा आफ्नो अंकले मात्रभन्दा पनि अन्य प्रतिस्पर्धीले प्राप्त गरेको अंकका आधारमा समेत सफलता वा असफलता निर्भर हुने गर्छ । हरेक असफलतापछि पनि मैले निरन्तरता प्रयास गरिरहेँ । निरन्तरको प्रयासले सफलता दिन्छ भन्नेमा मेरो विश्वास छ ।

यसरी गर्थें तयारी

जुन तहको परीक्षाका लागि तयारी गर्ने हो, आयोगबाट निर्धारित पाठ्यक्रमलाई समेट्ने किताब, सन्दर्भ सामग्री, पत्रपत्रिका, अनलाइन सामग्री, नेपाल सरकारका विभिन्न निकायका प्रगति प्रतिवेदनलगायत सामग्री जुटाउँथेँ । ती सामग्री सरसर्ती हेर्दै टिपोट गर्ने, समाचार पढ्ने र सुन्ने र नियमित नमुना प्रश्नपत्रलाई लेख्ने अभ्यास गर्थें ।

परीक्षाको १५–२० दिन अघिदेखि पढ्नेभन्दा बढी लोकसेवा आयोगबाट सोधिएका पुराना प्रश्नपत्र तथा आफैँले सम्भावित नमुना प्रश्न बनाई हल गर्नेतर्फ केन्द्रित हुन्थेँ । त्यस्तो अभ्यासले मभित्र आत्मविश्वास बढ्दै जान्थ्यो । परीक्षाकै शैलीमा अभ्यास गर्नाले परीक्षामा समय व्यवस्थापन गर्न पनि सहज हुन्थ्यो ।

मुखियादेखि शाखा अधिकृत पदको परीक्षा दिँदासम्म कुनै पनि लोकसेवा तयारी कक्षामा सहभागी भइनँ । गत साल उपसचिव पदको परीक्षाका लागिचाहिँ एक महिना तयारी कक्षामा सहभागी भएँ । तयारी कक्षा विशेषगरी लोकसेवा आयोगबाट सञ्चालन हुने परीक्षाको अनुभव नहुने व्यक्तिका लागिचाहिँ सहयोगी हुँदो रहेछ ।

पृथक् लेखनशैली

बजारमा सबै खालका अध्ययन सामाग्री पाइन्छ । सबै प्रतिस्पर्धीले निकै मिहिनेत गरेर अध्ययन गरेको हुँदा कोहीसँग पनि ज्ञानको कमी हुँदैन । त्यसैले मेरो अनुभवमा अब्बल नतिजाका लागि उत्तर दिने शैली अरूको भन्दा पृथक र विशिष्ट प्रकृतिको हुनुपर्छ । धेरै पढेर र जानेर मात्रै सफल हुने होइन रहेछ ।

यसका लागि प्रस्तुतीकरण उत्तिकै स्तरीय हुन जरुरी छ । यसैले मैले हरेक प्रश्नको उत्तर दिने शैली मौलिक बनाउने प्रयास गरेँ । सुन्दर अक्षर, सादा कागजमा हरफ अनुशासन, थोरै वाक्यमा धेरै विषय समेट्न सक्ने गरी उत्तर दिने अभ्यास गरेँ । त्यसो गर्दा परीक्षामा सोहीअनुरूप प्रस्तुति गर्न मलाई कहिल्यै पनि कठिन भएन ।