१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ४ शनिबार २०:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपाले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गर्ने, देशव्यापी आन्दोलनको तयारी गर्न थापाको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ४ शनिबार २०:३३:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दूराष्ट्र तथा राजसंस्थासहितको लोकतन्त्र र स्थानीय स्वायत्त शासन प्रणालीका लागि काठमाडौं उपत्यकामा १७ पुसमा शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसका लागि वरिष्ठ नेता बुद्धिमान तामाङकाे संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । आन्दोलनको रूपरेखा तय गर्न पार्टीले सोमबार र मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

उपत्यकास्तरीय कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र र राजसंस्थाका पक्षमा भइरहेका सबैखाले आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए । राप्रपाले स्थापनादेखि नै स्थापित गर्दै आएका एजेन्डाका पक्षमा माहाेल बनिरहेको भन्दै उनले उपत्यका र देशव्यापी आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । थापाले पार्टीले लिएका एजेन्डा हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पुनर्स्थापना गर्न र सबै सहज रूपमा अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको बताए । 

‘राप्रपाले अंगीकार गरेका एजेन्डाहरूलाई सुन्नसमेत नचाहने एउटा तप्का अहिले हाम्रो एजेन्डामा बहस गर्न थालेको छ, अब हामीले आफ्नो एजेन्डा स्थापना गर्न देशभरि आन्दोलनको तयारी गर्नुपर्छ’ अध्यक्ष थापालाई उद्धृत गर्दै भेलामा सहभागी राप्रपा नेता राजाराम बर्तौलाले भने । थापाले आन्दोलनका लागि पार्टीले सबै शक्ति प्रयोग गर्नेसमेत बताए । थापाको भनाइ थियो, ‘हामी राज्य सञ्चालनका अनुभवी र इमान्दार छौँ । तर, भ्रष्ट र असक्षमहरूले राज्य सञ्चालन गर्ने, तर ४०औँ वर्ष अनुभव भएका हामी इमान्दार किनारा लाग्नुपर्ने अवस्थामा अब हामी चुप रहन सक्दैनौँ, अध्यक्ष थापाले भने । 

अर्का अध्यक्ष पशुपतिशमशेर जबराले राप्रपाले अंगीकार गरेको नीति र सिद्धान्तप्रति जनचासो द्रुत गतिमा बढिरहेको बताए । उनले भने, ‘आन्दोलनको आँधीबेहरीमार्फत राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनापश्चात् मात्र देश संकटमुक्त भएर विकासतर्फ अग्रसर हुनेछ ।’ 

राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना नगरी पार्टीले विश्राम नलिने जिकिर गरे । 

भेलाले आन्दोलन परिचालनको लागि पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा समितिसमेत गठन गरेको छ । समितिमा बागमति प्रदेशका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्षहरू, नगर र क्षेत्रीय अध्यक्षहरू छन् । तामाङ नेतृत्वको समितिको बैठक बुधबार बस्दै छ ।

उपत्यका भेलाले मुलुकमा अनियमितता, अराजकता, भ्रष्टाचार तथा सर्वसत्तावाद बढ्दै गएको अवस्थामा त्यसलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ । राप्रपा नेता मोहन श्रेष्ठले भने, ‘ परिवर्तनको मार्गचित्र नै गलत भएकाले त्यसलाई सच्याएर हिन्दूराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना गर्न आन्दोलन निरन्तर अघि बढ्छ ।’