मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कृष्ण कट्टेल
२०७५ पौष ४ बुधबार ०९:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

प्रदेश तथा स्थानीय तहमा गरी २६ स्थानमा रिक्तता, कुन पदमा कति खाली ?

Read Time : > 2 मिनेट
कृष्ण कट्टेल
२०७५ पौष ४ बुधबार ०९:२३:००

संसदीय समिति गृह मन्त्रालय र निर्वाचन आयोगसँग निर्वाचन गर्नेबारे छलफल गर्दै

प्रदेश तथा स्थानीय तहमा रिक्त पदको पदपूर्तिका लागि निर्वाचन गर्नेबारे संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार छलफल गर्दै छ । प्रदेश र स्थानीय तह गरी मुलुकका २५ भन्दा बढी पदमा रिक्तता रहेको र त्यसको पदपूर्तिबारे समितिले गृह मन्त्रालय र निर्वाचन आयोगसँग छलफल गर्न लागेको हो । 

कुन पदमा कति खाली ?

प्रदेश सभामा दुई सदस्य रिक्त
प्रदेश ३ र गण्डकी प्रदेशको प्रदेश सभा सदस्यमा एक–एक पद रिक्त छ । भक्तपुर क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हरिशरण लामिछाने तथा बाग्लुङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद टेकबहादुर घर्तीको निधन भएपछि प्रदेश सांसदको दुई पद रिक्त छ । 

गाउँपालिका तथानगरपालिकामा सात पद रिक्त
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएपछि मेयर पद रिक्त छ । संखुवासभा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको निधन भएपछि अध्यक्ष पद रिक्त छ । मकवानपुरको राक्सीराङ गाउँपालिकाका एक सदस्यले राजीनामा दिएकाले सो पद रिक्त छ । त्यसबाहेक उदयपुरको त्रियुगा नगरपालिकाका कार्यपालिका सदस्य ज्ञानेन्द्र बान्तवाको निधन, तथा मकवानपुरको मनहरी गाउँपालिका कार्यपालिका सदस्य सरस्वती परियारको निधन भएकाले सो पद रिक्त छ । 

त्यस्तै, कपिलवस्तु नगरपालिकाका एक कार्यपालिका सदस्य तथा गुल्मीको इस्मा गाउँपालिकाका एक कार्यपालिका सदस्य जिल्ला समन्वय समितिमा निर्वाचित भएकाले सो पद रिक्त रहेको तथ्यांक प्राप्त भएको संघीय संसद् सचिवालयस्थित राज्यव्यवस्था तथा सुशासन समिति सचिवालयले जनाएको छ । यी पदमा पदपूर्तिबारे समेत समितिले सरकारसँग छलफल गर्नेछ । 

 १२ वडाध्यक्षको निधन
स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष नपुग्दै मुलुकभरका विभिन्न वडाका १२ वडाध्यक्षको निधन भएको छ । जसमध्ये पाँचथर हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष, नवलपरासी सुस्तापूर्वस्थित वङदीकाली गाउँपालिका–५ का अध्यक्ष, धरान उपमहानगरपालिका–७ का वडाध्यक्ष, सिरहा कल्याणपुर नगरपालिका–१२ का वडाध्यक्षको निधन भएको छ । त्यस्तै, महोत्तरीको वलबा नगरपालिका–२ का वडाध्यक्ष, रामेछापको उमाकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ का वडाध्यक्ष, प्युठानको ऐरावती गाउँपालिका–९ का वडाध्यक्ष, डोटीको आदर्श गाउँपालिका–२ का वडाध्यक्षको समेत निधन भएको छ । अछामको मेल्खेवा गाउँपालिका–२ का वडाध्यक्ष, बैतडीको दोग काडेडार गाउँपालिका–४ का वडाध्यक्ष र संखुवासभा खाँदबारी नगरपालिका–३ का वडाध्यक्षको निधन भएकाले सो पद रिक्त छन् । 

एक वडाध्यक्षको राजीनामा, अर्को जेलमा
महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षले राजीनामा दिएको तथा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष जेल परेकाले ती पद रिक्त छन् । यसबाहेक प्युठानको ऐरावती गाउँपालिका–२ का अध्यक्ष र कञ्चनपुरको पुनर्वास नगरपालिका–३ का वडाअध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएकाले यी पदबारे समेत छलफल गरिने समिति सचिवालयले जनाएको छ । 

सोलु–दूधकुण्ड नगरपालिकाका ११ नम्बर वडा खाली
सोलुखुम्बुको तिङ्लालाई स्थानीयको चाहनाविपरीत नेचा–सल्यान गाउँपालिकामा गाभिएपछि स्थानीयले स्थानीय, प्रदेश र प्रतिनिधि तीन चरणकै निर्वाचन बहिष्कार गरेका थिए । सरकारले पछि राजपत्रमा सूचना प्रकाशित गरी तिङ्लालाई सोलु–दूधकुण्ड नगरपालिकाको वडा नम्बर ११ बनायो । हाल सो नगरपालिकामा वडाध्यक्षदेखि सदस्यसमेत छैनन् । सोही क्षेत्रमा निर्वाचन गर्नेबारे गृह मन्त्रालय तथा निर्वाचन आयोगको तयारीबारे संसदीय समितिले बुधबार छलफल गर्न लागेको समिति सचिव सुदर्शन खड्काले बताए । 

 

देशैभरका जिल्ला समन्वय समिति
जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख तथा सदस्य गरी नौजना रहन्छन् । स्थानीय तहबाटै समन्वय समितिमा पदाधिकारी निर्वाचित गरिने भएकाले मुलुकभरको ७७ जिल्लाका स्थानीय तहका ६ सय ९३ पद खाली छ । यद्यपि, जिल्ला समन्वय समितिमा निर्वाचित वा नियुक्त हुँदैमा स्थानीयस्तरमा पदपूर्तिका लागि निर्वाचन गर्ने व्यवस्था नरहेको नेकपा नेता एवं प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले बताए । ‘जिल्ला समन्वय समितिमा स्थानीय तहका निर्वाचित वा मनोनीत प्रतिनिधि नै जाने हुन्, तर उनीहरू समन्वय समितिमा गए पनि उनीहरूको ठाउँमा निर्वाचन गर्ने व्यवस्था छैन,’ सांसद भट्टराईले भने । तर, जिल्ला समन्वय समितिमा स्थानीय तहका जनप्रतिनिधि गइसकेपछि के गर्ने भन्नेबारे समेत समितिमा छलफल हुने उनले बताए ।