मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ पौष ४ शनिबार १३:१५:००
Read Time : > 2 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मोडर्ना भ्याक्सिनले पनि अमेरिकामा मान्यता पायो

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ पौष ४ शनिबार १३:१५:००

अमेरिकाले कोरोना भाइरस (कोभिड १९)विरुद्ध आफ्नै देशको औषधि कम्पनी मोडर्नाले निर्माण गरेको भ्याक्सिनलाई पनि आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ । मोडर्ना अमेरिकामा मान्यताप्राप्त गर्ने कोरोना भाइरसविरद्धको दोस्रो भ्याक्सिन हो । 

अमेरिकाले यसअघि जर्मन कम्पनी बायोन्टेक र अमेरिकी कम्पनी फाइजरले संयुक्त रूपमा निर्माण गरेको भ्याक्सिनलाई पनि मान्यता दिइसकेको छ । फाइजर भ्याक्सिनलाई अमेरिकाभन्दा पहिले बेलायतले मान्यता दिएको थियो । अमेरिका, बेलायत, क्यानडालगायत देशमा फाइजर भ्याक्सिन सर्वसाधारणका लागि समेत लगाउन (मास भ्याक्सिनेसन) सुरु गरिएको छ ।

अमेरिकामा खाद्यवस्तु र औषधिसम्बन्धी नियमन गर्ने निकाय फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसन (एफडिए)ले मोडर्ना भ्याक्सिनलाई शुक्रबार आपत्कालीन प्रयोगका लागि मान्यता दिने निर्णय गरेको हो । त्यसअघि विज्ञहरूको टोलीले भ्याक्सिन परीक्षण नतिजाको विश्लेषण गरी मान्यता दिन सिफारिस गरेको थियो ।

यससँगै कोरोना भाइरसबाट आक्रान्त बनेको विश्वले थप राहत महसुस गर्नेछ । मोडर्ना भ्याक्सिन अहिले नै अमेरिकाले मात्रै २० करोड डोज किन्ने गरी सम्झौता गरेको छ । त्यसमध्ये ६० लाख डोज अहिले नै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कोरोना भाइरस संक्रमणबाट अमेरिका विश्वमै सबैभन्दा बढी संक्रमित भेटिएको र मृत्यु व्यहोरेको देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म एक करोड ७२ लाख ६९ हजारभन्दा बढीलाई संक्रमण देखिएको छ भने यसकै कारण तीन लाख ११ हजारभन्दा बढीको मृत्यु भएको छ ।

एफडिएका विज्ञहरू सम्मिलित सल्लाहकार समूहले बिहीबार मोडर्ना भ्याक्सिन १८ वर्ष र त्यसभन्दा माथिको उमेर समूहका व्यक्तिमा कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको जनाएको थियो । विज्ञहरूले यो भ्याक्सिनलाई मान्यता दिने पक्षमा शतप्रशित मत (२०–०) दिएका थिए । त्यसलगत्तै शुक्रबार एफडिएले भ्याक्सिनलाई मान्यता दिएको हो । मोडर्ना भ्याक्सिन सुरक्षित र ९४ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ ।

मोडर्ना भ्याक्सिन यसकारण फाइजरभन्दा फरक

फाइजर भ्याक्सिनलाई ढुवानी र ‘स्टोर’ गर्न माइनस ७५ डिग्रीसम्मको चिसो चाहिन्छ । यो अर्थमा मोडर्ना भ्याक्सिन केही सहज छ । मोडर्ना भ्याक्सिनलाई माइनस २० डिग्री सेल्सियसको चिसोमा राख्न वा ढुवानी गर्न सकिन्छ । यसको अर्थ सामान्य खालको फ्रिजमा पनि यसलाई राख्न र ढुवानी गर्न सकिन्छ । 

फाइजरजस्तै मोडर्ना भ्याक्सिन पनि दुई डोज लगाउनुपर्छ । फाइजरको दोस्रो डोज २१ दिनमा लगाउने गरिएको छ भने मोडर्नाको २८ दिनमा दोस्रो डोज लगाइनेछ । मोडर्ना अमेरिकाको क्याम्ब्रिजस्थित मासाचुसेट्समा रहेको कम्पनी हो । उसले आफ्नो भ्याक्सिन त्यही उत्पादन गर्ने जनाएको छ । फाइजर र बायोन्टेकले भने जर्मनी, बेल्जियमलगायत धेरै देशबाट तयार पारेको भ्याक्सिन उत्पादन गरिरहेको छ ।

मोडर्ना भ्याक्सिन अरू कुन–कुन देशले अर्डर गरेका छन् ?

–क्यानडाले आगामी मार्चसम्म २० लाख डोज मोडर्ना भ्याक्सिन आफ्नो जनताका लागि पु¥याउने योजना सार्वजनिक गरेको छ ।

–यस्तै, बेलायतले पनि यसअघि नै ७० लाख डोज ‘अर्डर’ गरेको छ ।

–युरोपियन युनियनले गत महिना ८० करोड डोज मोडर्ना भ्याक्सिन किन्ने सम्झौता भएको सार्वजनिक गरेको थियो । ठूलो संख्यामा लगाउँदा भ्याक्सिन पूर्णरूपमा सुरक्षित र प्रभावकारी देखिए उसले कम्पनीसँग अरू ८० करोड डोज भ्याक्सिन किन्ने पनि जनाएको छ ।

–जापानले पाँच करोड मोडर्ना भ्याक्सिन किन्नका लागि सम्झौता गरेको छ । यस्तै, दक्षिण कोरियाले दुई करोड डोज र स्विट्जरल्यान्डले ७५ लाख डोज किन्ने गरी सम्झौता गरेका छन् ।

अमेरिकामा पहिले कसले लगाउँछन् भ्याक्सिन ?

अमेरिकाले आगामी अप्रिलसम्म आफ्नो पाँच करोड जनसंख्यामा भ्याक्सिन लगाइसक्ने योजना बनाएको छ । फाइजर भ्याक्सिनलाई मान्यता दिएर गत सोमबारबाट सर्वसाधारणका लागि भ्याक्सिन लगाउन (मास भ्यासिनेसन) सुरु गर्दा न्युयोर्ककी नर्स सान्ड्रा लिन्डसे सबैभन्दा पहिले भ्याक्सिन प्राप्त गरेकी थिइन । 

उनलाई भ्याक्सिन लगाएको ‘फुटेज’ न्युयोर्क सहरका गभर्नर एन्ड्र्यु क्युबमोले आफ्नो ट्विटरको फ्लिट्मा राखेका थिए । न्युयोर्क सहर अमेरिकाको कोरोना भाइरस ‘इपिसेन्टर’ बनेको थियो । ‘मलाई विश्वास छ कि यो हाम्रो इतिहासकै ठूलो दुःखद समयको अन्त्यको सुरुवात हो । म सर्वसाधारणमा भ्याक्सिन सुरक्षित छ भन्ने विश्वास दिलाउन चाहन्छु’, गभर्नर लिन्डसे भनेकी छिन्, ‘हामी अहिले एउटा ठूलो संकटमा छौँ र यसमा हामी सबैले आ–आफ्ना ठाउँबाट योगदान पु¥याउनु आवश्यक छ ।’

रोग नियन्त्रण तथा रोकथाम केन्द्रले अमेरिकी राज्यहरूलाई बुझाएको एउटा निर्देशिकाले स्वास्थ्यकर्मीलाई पहिलो प्राथमितामा राखिनुपर्ने भनेको छ । यस्तै, लामो समयदेखि स्याहार केन्द्रमा बसेकाहरूलाई पनि पहिलो प्राथमिकतामा राखेर भ्याक्सिन लगाउनुपर्ने सुझाब दिएको छ ।

त्यसपछि, दोस्रो प्राथमितामा आधारभूत वा अत्यावश्यक काममा खटिनेहरूलाई राखिनुपर्ने सुझाब छ । यद्यपि, यो सुझाबका बाबजुद कसलाई प्राथमिकता दिने भन्नेबारे राज्यहरूले नै निर्णय गर्ने जनाइएको छ । अमेरिकाले भ्याक्सिन वितरणका लागि तयार गरेको कार्यक्रम ‘अपरेसन वार्प’का प्रमुख वैज्ञानिक मोन्सेफ स्लावई भन्छन्, ‘स्वस्थ व्यक्ति र युवा भ्याक्सिन लगाउने लाइनबाट पछि हुनुपर्छ ।’ 

उनका अनुसार अमेरिकी जनतामा ‘हर्ड इम्युनिटी’ प्राप्त गर्न कम्तीमा ७० देखि ८० प्रतिशत जनतामा भ्याक्सिन लगाउनु पर्नेछ । सामान्य अर्थमा बुझ्दा हर्ड इन्युनिटी भनेको धेरै जनसंख्यामा एकैपटक रोग प्रतिरोधात्मक क्षमता देखिनु हो, जसले भाइरस संक्रमण फैलन दिनेछैन ।