म सोच्थेँ लुटेरा ती हुन्
जसले दश ठाउँमा टालेका पाइन्ट लगाएका हुन्छन्
जिङ्रिङ्ग कपाल पालेका
कानमा टप र मुन्द्रा झुन्ड्याएका ।
जब म जागिर खाएर गुँड भेटाउने
गाडी चढ्न रत्नपार्क जान्थेँ
तब मलाई तपसिल हुलिया भएकाहरूसँग
सधैँ डर लागिरहन्थ्यो ।
अनि हत्तपत्त झोलाको कुनामा लुकाउथेँ
एक हजारको नोकिया फोन
छामिरहन्थे गोजीको दुईचार सय रुपैयाँ
अनि चनाखो बनाइरहन्थे दुई आँखा र कान ।
तर, रत्नपार्कका लुटेराभन्दा
खतरनाक र खुंखार लुटेरा त
बालुवाटार र सिंहदरबारमा पो रहेछन्
हजारौँको सुटपाइन्ट लगाएर
करोडौँको बंगलामा बसेर
अनि करोडकै गाडी चढेर
लुटिरहेका रहेछन् वर्षौंदेखि
गरिबका अमूल्य सपना
आँसु, परिश्रम र रगत
आज तिनैको खोजी गरिदिन
सडकसँग गुहार मागिरहेका छन् पीडितहरू ।