१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष ३ शुक्रबार २१:५०:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

फास्ट बलर आमिरले लिए सन्न्यास 

पाकिस्तान क्रिकेट बोर्ड र टिम म्यानेजरले बारम्बार मानसिक यातना दिएको जनाउँदै बायाँहाते फास्ट बलर मोहमद आमिरद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा 

Read Time : > 1 मिनेट
२०७७ पौष ३ शुक्रबार २१:५०:००

पाकिस्तानका तीव्रगतिका बलर मोहमद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) र टिम म्यानेजरले मानसिक यातना दिएको जनाउँदै आमिरले राष्ट्रिय टोलीबाट बिदा लिएको घोषणा गरेका हुन् । पिसिबीले पनि आमिरले आधिकारिक रूपमै सन्न्यास लिएको जनाएको छ । आमिरले ३६ टेस्ट, ६१ एकदिवसीय तथा ५० टी–२० खेलमा पाकिस्तानी जर्सीबाट सहभागिता जनाएका छन् । 

पाकिस्तान न्युजिल्यान्डको भ्रमणमा निस्कँदा बोर्डले उनलाई समावेश गरेको थिएन । टोलीमा नपरेपछि उनी सीधै श्रीलंकामा आयोजित लंका प्रिमियर लिगमा सहभागी भए । जहाँ उनको सहभागिताले ग्लाडिटोर्स उपविजेता बनेको थियो । आमिरले ११ विकेट लिएका थिए । आमिरले पिसिबीलाई सन्न्यासको जानकारी दिएपछि प्रमुख कार्यकारी वासिम खानले उनीसँग वार्ता गर्न खोजेका थिए ।

‘आमिरको पत्र आएपछि बोर्डका वरिष्ठ अधिकृत वासिम खानले छलफल गरेका थिए, तर राष्ट्रिय टोलीबाट भविष्यमा खेल्ने कुनै योजना नभएको उत्तर आयो,’ पिसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो व्यक्तिगत निर्णय हो, यसमा पिसिबीको कुनै दबाब छैन, यस विषयमा हामी कुनै पनि थप जानकारी वा स्पष्ट पार्न चाहँदैनौँ ।’ यसअघि सामा टिभीको एक कार्यक्रममा पनि आमिरले आफूलाई टिम म्यानेजरबाट मानसिक यातना दिइरहेको खुलासा गरेका थिए ।

‘वर्तमान टिम म्यानेजरबाट धेरै नै यातना पाएँ, अब उपरान्त म यो सहन सक्दिनँ,’ आमिरले टिभी कार्यक्रममा भने, ‘यसैकारण म क्रिकेट छाड्न गइरहेको छु, मलाई लाग्दैन योभन्दा अगाडि बढ्न सक्छु भनी ।’ सन २००९ लड्र्स टेस्टमा स्पट फिक्सिङ काण्डमा परेपछि आमिर प्रतिबन्धमा परेका थिए । २०१० देखि २०१५ सम्म प्रतिबन्धको समयमा अति नै कष्टकर भएको उनले बताएका छन् । भन्छन्, ‘प्रतिबन्धको समय पनि त्यतिकै तनाव थियो, मैले त्यो पाँच वर्ष जीवनकै सुनौलो दिन गुमाएँ, त्यो समयमा मलाई साथ दिने केवल पूर्वअध्यक्ष नजम सेठी तथा पूर्वकप्तान साहिद अफ्रिदी मात्र थिए ।’

हुन त २८ वर्षीय आमिरले जुन २०१९ मा वर्कलोड टेस्ट क्रिकेट छाड्ने घोषणा गरेका थिए । उनले पिसिबी र टोलीबाट आफूलाई क्रिकेटबाट बाहिर राख्ने प्रयास भइरहेको आरोप लगाएका छन् । ‘जब मलाई २५ खेलाडीमा राखिएन । म आफ्नो बाटो स्पष्ट गर्ने समय आएको जस्तो छ,’ आमिरले भने, ‘क्रिकेटबाट टाढा गइरहेको छैन, मलाई क्रिकेटबाट टाढा बनाउने कोसिस भइरहेको छ ।’ सन् २०१६ मा आमिरले अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कदै पाकिस्तानको सिनियर क्रिकेटबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । 

सन् २०१७ मा च्याम्पियन्स ट्रफी जित्दा उनी टिमका नायक थिए । उनले फाइनलमा भारतविरुद्ध १६ रन दिएर ३ विकेट लिएका थिए । उनले २ सय ५० भन्दा बढी अन्तराष्ट्रिय विकेट लिएका छन् । यसै वर्षको अगस्टमा पाकिस्तानले इंग्ल्यान्डको भ्रमण गर्दा नै उनको अन्तिम राष्ट्रियको यात्रा बन्यो । उनले अन्तिमपटक इंग्ल्यान्डविरुद्ध टी–२० खेले । आमिरले टेस्टमा ११९, एकदिवसीयमा ८१ तथा टी–२० मा ५९ विकेट लिएका छन् ।