मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष २ बिहीबार १६:२७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

प्रोस्टेट क्यान्सरका कोषहरू शरीरका अन्य भागमा पनि लुकेर बसेका हुन्छन् : अध्ययन 

Read Time : > 1 मिनेट
२०७७ पौष २ बिहीबार १६:२७:००

अमेरिकी फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)को पछिल्लो एक अध्ययनले प्रोस्टेट क्यान्सरका कोषहरू शरीरका अन्य भागमा पनि लुकेर बस्ने तथ्य सार्वजनिक गरेको छ । जुन कोषहरूले बिस्तारै शरीरको अन्य भागमा नयाँ ट्युमर उत्पन्न गर्ने अध्ययनले जनाएको छ । 

यो परीक्षण रेडियोएक्टिभ ट्यागमा जोडिएको मोलिक्युलमा निर्भर हुन्छ । परीक्षणको क्रममा क्यान्सरका कोषहरू स्क्यानमार्फत पत्ता लगाउन सकिने अध्ययनले जनाएको छ । सामान्यतया प्रोस्टेट क्यान्सर सर्जरीको माध्यमबाट निको पार्न सकिने मान्यता थियो, तर क्यान्सरका कोषहरू पहिले नै शरीरका अन्य भागमा पुग्ने देखिएपछि शल्यक्रियाको माध्यमबाट पूर्ण रूपमा उपचार गर्न नसकिने अध्ययनको निष्कर्ष छ । 

एफडिएसँगै कोलम्बिया युनिभर्सिटीले पनि यसबारे अध्ययन गरेको थियो । अध्ययनमा क्यान्सरका कोषहरू कुन ठाउँमा रहन्छन् र ती कोषहरू नष्ट गर्नेबारे पनि युनिभर्सिटीले अनुसन्धान गरेको थियो । सो अनुसन्धानअनुसार रेडियोएक्टिभलाई मोलिक्युलमा संलग्न गरेर प्रोस्टेट क्यान्सरका कोषहरू पत्ता लगाउन सकिन्छ । मोलिक्युलले औषधिलाई सीधै क्यान्सर कोषहरूमा पठाउँछ र रेडिएसनले क्यान्सरका कोषहरूलाई नष्ट गर्छ । यद्यपि यसबारे थप अनुसन्धान भइरहेको छ । 

यसबाहेक पनि प्रोस्टेट क्यान्सरसम्बन्धी विश्वभर नै विभिन्न अध्ययन भइरहेका छन् । करिब ३० वर्षअगाडि गरिएको एक अध्ययनअनुसार अनुसन्धानकर्ताहरूले प्रोस्टेट क्यान्सर कोषहरूले प्रोस्टेट स्पेसिफिक मेम्ब्रेन एन्टिजेन नामक प्रोटिन बोक्ने र वरपरको भागमा फैलाउने तथ्य पत्ता लगाएका थिए । पछिल्लो अध्ययनमा अध्ययनकर्ताहरूले मोलिक्युलहरू फेला पारेका छन् जसले पिएसएमए पत्ता लगाउन सहयोग गर्छ । अर्थात् रेडियोएक्टिभ ड्रगको आधारमा मोलिक्युलले सजिलै क्यान्सर कोषहरू पत्ता लगाउन सक्छ जुन स्क्यानको माध्यमबाट हेर्न सकिन्छ । सन् २०१० मा जर्मनीको हेडलबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले प्रोस्टेट क्यान्सर कोषको चित्र प्रकाशित गरेका थिए । 

पछिल्ला अध्ययनहरूले प्रोस्टेट क्यान्सरका कोषहरू शरीरको जुनसुकै भागमा पनि देखिन सक्ने बताएका छन् र उपचारअघि वा पछि जुनसुकै समयमा फेरि क्यान्सरका लक्षणहरू देखिन सक्छन् । यस अध्ययनले किमोथेरापी वा एन्ड्रोजन डिप्राइभेन थेरापीको सट्टा स्क्यान निर्देशित विकिरण लक्षित गरेर उपचार गर्न सहज वातावरण निर्माण गर्ने अनुमान गरेको छ । सामान्य रगत परीक्षणमा प्रोस्टेट एन्टिजेनको मात्रा देखिएका व्यक्तिमा प्रोस्टेट क्यान्सरको जोखिम भएको अनुमान गर्न सकिने अध्ययनले जनाएको छ । योसँगै बायोप्सीको आधारमा क्यान्सर कोषहरूको सक्रियताबारे पनि जानकारी लिन सकिनेछ । 

पुरुषहरूमा प्रोस्टेट र वरपरको क्याप्सुलहरूको अवस्थाबारे जानकारी लिनका लागि एमआरआई स्क्यान गरिन्छ । यसको आधारमा चिकित्सकहरूले पिएसएको मात्रा पत्ता लगाउँछन् । शरीरमा पिएसएको लेभल जति बढी भयो क्यान्सर फैलिने जोखिम पनि बढ्दै जाने हुन्छ । उपचारपछि पनि केही समयको अन्तरालमा पुनः क्यान्सरका लक्षण देखिएमा क्यान्सरका कोषहरू शरीरको अन्य भागमा पनि रहेको पुष्टि हुन्छ । यी दुवै अवस्थामा चिकित्सकहरूले क्यान्सरका कोषहरू रहेको स्थान पत्ता लगाउनुपर्ने हुन्छ । यसका लागि स्क्यान विधिबाट कोषहरू नष्ट गर्न सकिने विज्ञहरूको अनुमान छ । 
–एजेन्सीको सहयोगमा