मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ पौष १ बुधबार १८:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेसा नै मोटरसाइकल चोरी : पल्सर र एफ–जेड चोरको मुख्य निशाना

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ पौष १ बुधबार १८:००:००

घटना १
ललितपुर लबिम मलस्थित पार्किङबाट मोटरसाइकल हराएको सूचना पटक–पटक आउन थालेपछि प्रहरीले चोर समात्न ‘एम्बुस’ थाप्यो । प्रहरीहरू कोही टिकट विक्रेता त कोही कुचिकारको भेषमा खटिए । नभन्दै ‘एम्बुस’ थालेको केही दिनपछि दायाँ–बायाँ सहयोगीसहित करिब ६ फिट अग्ला युवक पार्किङमा देखिए । कसिलो ज्यानमा मिलाएर लगाएको कपडा देख्दा उनी कुनै सिनेमाका अभिनेताझैँ देखिन्थे ।

उनी मोटरसाइकल चोरीमा संलग्न व्यक्ति भएको पत्याउन सकिँदैनथ्यो । ‘हामीले पनि सहजै ठम्याउन सकेनौँ,’ ‘सेक्रेट मिसन’मा खटिएका एक प्रहरी भन्छन्, ‘तर, गतिविधि नियाल्दै जाँदा उनको हाउभाउ सामान्यभन्दा फरक देखियो, जसले हाम्रो ध्यान तानिहाल्यो ।’ उनका अनुसार त्यसपछि प्रहरीले उनीमाथि निगरानी बढायो, तर गतिविधिमा हस्तक्षेप गरेन । नभन्दै उनी पार्क गरिएको मोटरसाइकलनजिक गए । सहयोगीको झोलाबाट हम्मर र रड झिके अनि मोटरसाइकलको साँचो फुटाउन थाले ।

त्यतिवेलासम्म उनी प्रहरीको घेरामा परिसकेका थिए । प्रहरी जब उनलाई अँठ्याउन अगाडि बढ्यो, ६ फिट अग्ला उनलाई काबुमा ल्याउन निक्कै मुस्किल प¥यो । ‘तीनजना भिडेपछि उनी फलामको बारमा घोप्टिन पुगे, त्यही मौकामा हतकडी लगाउन सक्यौँ,’ ती प्रहरी भन्छन् । उनका अनुसार पक्राउ परेका ती युवक बाराका ३२ वर्षीय हरिशंकर चौधरी भएको अनुसन्धानपछि खुल्यो, जसको पेसा नै मोटरसाइकल चोरी थियो ।

घटना २
काठमाडौंका पार्किङबाट मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि प्रहरीले सम्बन्धित पार्किङमा जडित सिसिटिभी फुटेज अध्ययन ग¥यो । चोरीका करिब पाँच घटनामा संलग्न अभियुक्तको हुलिया मिलेको देखियो । प्रहरीले सर्ट लिस्ट गर्दै अनुसन्धानलाई साँघुरो बनायो । सोही हुलियाका व्यक्ति यसअघि मकवानपुरमा पनि पक्राउ परेको खुलेपछि सिसिटिभी फुटेजमा देखिएका बाराका २७ वर्षीय प्रमोद चौधरी भएको खुल्यो ।

प्रहरीले उनको खोजी तीव्र बनायो । उनी स्वयम्भूआसपास लुकेर बसेको सूचना प्रहरीले प्राप्त ग¥यो । ट्रयाकिङ गर्दै प्रहरी प्रमोदको कोठासम्म त पुग्यो, तर उनलाई पक्राउ गर्न सकिएन । किनकि, प्रहरी पछ्याउँदै कोठामा पुगेको सूचना पाएर उनी फरार भइसकेका थिए । स्वयम्भूबाट उम्किएका उनी हालसम्म फरार छन् ।

घटना ३
यहीबीचमा वसन्तपुरस्थित पार्किङबाट मोटरसाइकल चोरी भएका सूचना पटक–पटक आउन थालेपछि प्रहरीले त्यहाँ पनि एम्बुस थाप्यो । त्यहीक्रममा अस्तव्यस्त हुलियाका एक युवक पार्किङमा छिरे । होन्डा कम्पनीको पुरानो मोटरसाइकलनजिक उनी पुगे । मोटरसाइकल स्टार्ट गरेर हुइँकिँदै सडकतर्फ बत्तिए । शंका लागेपछि प्रहरीले उनलाई फलो ग¥यो । मोटरसाइकल सोह्रखुट्टेतर्फ लाग्यो, प्रहरीले पछ्याउन छाडेन ।

मोटरसाइकल स्वयम्भूतर्फ अगाडि बढ्यो । जंगलनजिक पुगेपछि मोटरसाइकल सडक किनारामा राखेर ती युवक हतारिँदै एउटा घरभित्र छिरे । पछ्याउँदै गएका प्रहरीले उनलाई नियन्त्रणमा लियो । उनको हातमा लागुऔषधको पोको थियो । अनुसन्धानपछि खुल्यो, उनी वसन्तपुरका रुपेश शर्मा (नाम परिवर्तन) रहेछन् । लागुऔषध दुव्र्यसनी उनी डोज रित्तिएपछि अनियन्त्रित बनेका रहेछन् र त्यही सुरमा मोटरसाइकल चोरी गरेका रहेछन् ।

दुईथरी चोर
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले पछिल्ला वर्ष मोटरसाइकल चोरीमा पेसेवर मात्र नभई लागुऔषध दुव्र्यसनीसमेत संलग्न रहेको देखाउँछ । ‘राजधानीमा मोटरसाइकल चोरीका घटना बढेको साँचो हो । अनुसन्धानपछि चोर मात्र नभई मोटरसाइकल पनि बरामद भएका छन्,’ महाशाखा प्रमुख एसएसपी जनक भट्टराई भन्छन्, ‘पेसेवर चोर त सक्रिय छँदै छन्, लागुऔषध दुव्र्यसनीसमेत संलग्न देखिन्छन् ।’

एसएसपी भट्टराईका अनुसार दुईथरीका चोरहरूका उद्देश्य भने फरक छन् । पेसेवर चोरको उद्देश्य पैसा कमाउने देखिन्छ । दुव्र्यसनीको भने लागुऔषध खरिद गर्न रकम जुटाउनु देखिन्छ ।

महाशाखाका अनुसार पेसेवर चोरले चोरीका सामग्री लगेर बेच्ने मात्र नभई प्रहरीको पन्जाबाट बच्ने योजना पनि बनाएको पाइन्छ । तर, दुव्र्यसनीले क्षणिक उत्तेजनामा चोरी गर्ने र उद्देश्य पूरा भएपछि मोटरसाइकल बेवारिसे छाडेर हिँड्ने गरेको पाइएको छ ।

‘दुईथरीका चोरको उद्देश्य फरक छन् । त्यसैले चोरीका प्रकृति र तौर तरिका पनि फरक छन्,’ एसएसपी भट्टराई भन्छन्, ‘एकथरी लगाव पैसासँग देखिन्छ । अर्काथरी लागुऔषध सेवनका लागि चोरी गर्छन् ।’ उनका अनुसार दोस्रो किसिमका चोरले चोरी गरेका मोटरसाइकल बेवारिसे भेटिन्छन् । केहीले भने बिक्री गरेको पनि पाइन्छ । तर, बिक्री गर्नेको संख्या कम रहेको एसएसपी भट्टराई बताउँछन् ।

‘कतिपय दुव्र्यसनीले चोरी गरेको मोटरसाइकल बिक्री गरेर लागुऔषध खरिद गरेको पाइन्छ । कतिपयले लागुऔषधको नसामा पनि चोरी गरेको पाइन्छ,’ उनी भन्छन्, ‘क्षणिक उत्तेजनामा मोटरसाइकल चोरी गर्ने, कुनै साथीले लागुऔषध खान बोलाएको ठाउँसम्म पुग्न पनि चोरी गरेको पाइएको छ । त्यस्ता दुव्र्यसनीले मोटरसाइकल बेवारिसे छाडेर हिँड्ने पनि गरेका छन् ।’

उनका अनुसार काठमाडौंबाट चोरी गरेका मोटरसाइकल पार्टपुर्जा छुट्याएर बाहिरका जिल्लामा पु¥याउने गरेको पनि पाइएको छ । त्यस्ता पार्टपुर्जा बाहिर लगेर बिक्री गर्ने गरेको पाइन्छ । प्रहरीको उपस्थिति बलियो नभएका नाकाबाट सग्लो मोटरसाइकल ग्रामीण क्षेत्रमा लगेर बिक्री गर्ने गरेको पनि पाइन्छ । ‘मोटरसाइकल चोरीका एउटै रूप छैन, विभिन्न शैली अपनाएर चोरी र बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ एसएसपी भट्टराई भन्छन् ।

दैनिक चार मोटरसाइकल चोरी, फेला पर्ने संख्या कम
महाशाखाको तथ्यांकअनुसार काठमाडौं उपत्यकाबाट मात्रै दैनिक औसत चारवटा मोटरसाइकल चोरी हुन्छन् । तीमध्ये अधिकांश काठमाडौं जिल्लाबाट चोरी हुन्छन् । र, ठूला र असुरक्षित पार्किङ तथा सुनसान ठाउँ र घरका बढी मोटरसाइकल चोरी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

महाशाखाको तथ्यांकअनुसार पछिल्ला तीन वर्ष चार महिनामा उपत्यकाबाट मात्रै चार हजार नौ सय ६६ मोटरसाइकल चोरी भए । तीमध्ये आठ सय ५९ वटा मात्रै फेला परे । अर्थात्, चोरी भएका मोटरसाइकलमध्ये प्रहरीले १७ दशमलव २९ प्रतिशत मात्र फेला पार्दै आएको छ । बाँकी ८२ दशमलव ७२ प्रतिशत मोटरसाइकल फेला पर्दैनन् ।

‘चोरी भएका अधिकांश मोटरसाइकल उपत्यकाबाहिरका जिल्लामा पुगेका हुन्छन् । फेला परे पनि त्यहीँकै प्रहरीले तथ्यांक राख्छ । तिनको तथ्यांक हामीसम्म आइपुग्दैन । त्यसैले फेला परेको प्रतिशत कम देखिएको हो,’ एसएसपी भट्टराई भन्छन् ।

भेटिएकामध्ये १२ प्रतिशत मात्रै धनीलाई जिम्मा
प्रहरी तथ्यांकअनुसार तीन वर्ष चार महिनायता उपत्यकाबाट चोरी भएर फेला परेका माटरसाइकलमध्ये एक सय १० वटा मात्रै धनीले बुझेर लगे । अर्थात्, फेला परेकामध्ये १२ दशमलव आठ प्रतिशत मोटरसाइकल मात्रै धनीलाई बुझाइन्छ, बाँकी लिलाममा पठाइन्छ ।

‘फेला परेकामध्ये थोरै मात्रै धनीले बुझेर लैजान्छन् । त्यसको मुख्य कारण बिमा हो । हराउनासाथ पीडित बिमा दाबी गर्न जान्छन् र बिमा कम्पनीबाट रकम बुझेर लैजान्छन् । बिमा रकम बुझिसकेका धनीलाई मोटरसाइकल दिन मिल्दैन,’ एसएसपी भट्टराई भन्छन्, ‘अर्को चोरीका मोटरसाइकल फेला परुन्जेलसम्ममा थोत्रा भइसकेका हुन्छन् । सोहीकारण धनीले बुझ्न मान्दैनन् ।’

चोरी हुने बाइक ९० प्रतिशत पल्सर सिरिजका
प्रहरीको तथ्यांकअनुसार चोरी हुने अधिकांश मोटरसाइकल बजाज कम्पनीको पल्सर सिरिजका छन् । चोरी भएकामध्ये करिब ९० प्रतिशत बजाजका पल्सर नै रहेको प्रहरीको तथ्यांकले बताउँछ । त्यसपछि यामाहाको एफ–जेट छन् । त्यसपछि मात्रै होन्डा र हिरो कम्पनीका मोटरसाइकल चोरी हुन्छन् ।

खासगरी, पल्सर सिरिजका १५०, २०० र २२० सिसीका मोटरसाइकल बढी चोरी हुने गरेको प्रहरीको अभिलेख छ । द्रुत गति र साँचो फोड्न सजिलो हुने भएकाले पनि यो कम्पनीका मोटरसाइकल बढी चोरी हुने प्रहरी अनुसन्धानले देखाएको छ ।