१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १ बुधबार ०९:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्माणाधीन दुवै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा निगमलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १ बुधबार ०९:४८:००

निर्माणाधीन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको तयारी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई परिपत्र गरेको छ । दुवै विमानस्थलमा निगमलाई नै ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी दिने सरकारको निर्णयसँगै नियामक निकाय प्राधिकरणले यस्तो परिपत्र गरेको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेकाले भौतिक संरचनाको तयारी गर्न परिपत्र गरेको बताए । गत साता बसेको प्राधिकरण सञ्चालक समितिले निगमलाई परिपत्र गर्ने निर्णय गरेको थियो । 

केही महिनाअगाडि हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी दिएपछि विवाद भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उक्त निर्णय खारेज गर्दै निर्माणाधीन विमानस्थलको ह्यान्डलिङको जिम्मेवारीसमेत निगमलाई दिने निर्णय गरेका थिए । 

दुई महिनाअगाडि नै भैरहवा र पोखरामा निर्माण भइरहेका विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा सरकारी स्वामित्वको निगमलाई दिने निर्णय गरेको थियो । ‘हामीले आवश्यक कगजपत्रहरू उपलब्ध गराएर काम सुरु गरेका छौँ,’ निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भने ।

उनका अनुसार प्राधिकरणलाई छुट्टै युनिट भैरहवा र पोखरामा राख्ने गरी प्रस्ताव पेस गरिएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्ड ह्यान्डलिङको काम गरिरहेको छ । यसबाट निगमले वार्षिक ५ अर्बभन्दा बढी आम्दानी गर्दै आएको छ । 

आन्तरिक उडानबाट घाटा व्यहोर्दै आएको निगमले ग्राउन्ड ह्यान्डलिङबाट नाफा आर्जन गरेर संस्था चलाइरहेको छ । सोही कारण पनि निगमका लागि ग्राउन्ड ह्यान्डलिङ आवश्यक रहेको निगमका प्रबन्ध निर्देशक पौडेलले बताए ।   
भैरहवाको विमानस्थलमा भौतिक निर्माणको काम ९३ प्रतिशत सम्पन्न भइसकेको छ । विमानस्थल २०७७ फागुनसम्म सञ्चालनका लागि योग्य हुने अनुमान गरिएको छ ।

सन् २०१८ मै सम्पन्न गर्ने गरी सन् २०१६ मै विमानस्थल निर्माणको जिम्मा ठेकेदार कम्पनी चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको थियो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि आगामी अप्रिलसम्म सम्पन्न गर्ने लक्ष्य छ । पोखराको काम पनि ७० प्रतिशत सम्पन्न भइसकेको छ । सरकारले दुवै विमानस्थलको सञ्चालन एकैसाथ गर्ने गरी प्रक्रिया अगाडि बढाइसकेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ वटा एयरलाइन्सले उडान गर्दै आएका छन् । विगतमा ४० वर्षअगाडिदेखि नै थाई एयरवेज र एयर इन्डियाले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएका छन् । त्यसयता दर्जनौँ एयरलाइन्सले उडान गरे तापनि त्यसको व्यवस्थापन निगमले गर्दै आएको छ । सरकारको निर्णयसँगै दुई विमानस्थलको जिम्मा पनि निगमले लिनेछ । 

विमानस्थल निर्माणमा आवश्यक दक्ष जनशक्ति चीनबाट नआउँदा उपकरण जडानको काम रोकिएको छ । यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि ६५ प्रतिशतभन्दा बढी भइसकेको छ । विमानस्थल निर्माणको काम सक्ने अन्तिम समय २०२१ जुलाई हो ।

तोकिएको समयमा विमानस्थल निर्माणको काम सम्पन्न हुने सरकारी दाबी छ । नेपाल एयरलाइन्सले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउड ह्यान्डलिङ सेवा पनि सञ्चालन गरिरहेको छ । नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ सेवाबाट वार्षिक ४ देखि ५ अर्ब आम्दानी गर्दै आएको छ । तर, आर्थिक वर्ष ०७६/७७ र चालू आर्थिक वर्षको आम्दानी घटेको छ ।