मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ पौष १ बुधबार ०७:४०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुन पसलको गोदामबाट ६५ किलो तयारी गहना बरामद

Read Time : < 1 मिनेट
२०७७ पौष १ बुधबार ०७:४०:००

पर्सा प्रहरीले ठूलो परिमाणमा चाँदीका गहना बरामद गरेको छ । मंगलबार दिउँसो २ बजे वीरगन्ज महानगरपालिका–६ गहवाबाट प्रहरीले ६५ किलोभन्दा बढी परिमाणमा चाँदीका तयारी गहना बरामद गरेको हो । 

विशेष सुराकीको आधारमा मर्सस जय नरसिंह ज्वेलर्सको गोदामबाट करिब २० लाख मूल्यका ती गहना बरामद गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पन्तले चाँदीका गहनासहित पसल सञ्चालक दीपक सर्राफलाई नियन्त्रणमा लिइएको जानकारी दिइन् । पसल सर्राफकी श्रीमती सुनीताकुमारी साहको नाममा दर्ता रहेको छ । 

विगत लामो समयदेखि भारतबाट राजस्व छलेर नेपाल भित्र्याई लुकाएर राखिएको चाँदीबाट ती गहना बनाइएको प्रहरीको दाबी छ । प्रहरी नियन्त्रणमा रहेका सर्राफ भारत सितामढी निवासी हुन् । बरामद भएको चाँदी र सर्राफलाई बुधबार बिहान राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने पन्तले बताइन् । 

मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीको गहवा टोलमा छापामारी पर्दा अधिकांश सुनचाँदी पसल बन्द भएका थिए । उक्त टोलमा करिब ५० वटा पसल छन् । तीमध्ये अधिकांश पसलका सञ्चालकले पसल बन्द गरेका थिए । 

राजस्व छलेर भित्र्याइएको गहना पसलको गोदाममा प्रहरीको छापामारी भएपछि ज्वेलर्सका सञ्चालक पसल बन्द गरेर धमाधम फरार भएको पाइएको थियो । स्रोतका अनुसार गहवामा रहेका अधिकांश सुनचाँदी पसलले अवैध काम गरेर बसेका कारण प्रहरीका छापामारी हुँदा अवैध कारोबारी फरार भएका हुन् । गहवामा सुनचाँदीका पसल चलाउने अधिकांश भारतीय नागरिक रहेकाले उनीहरूमध्ये अधिकांशको अवैध कारोबार भएको स्रोत बताउँछ । 

राजस्व छलेर भित्र्याइएका तयारी गहना बरामद गरेपछि प्रहरीले सर्राफलाई नियन्त्रणमा लिएको थियो । तर, उनी प्रहरीको गाडीमा नभई आफ्नै निजी मोटरसाइकलमा प्रहरी कार्यालय गएका थिए । सुरुमा नियन्त्रणमा लिएको प्रहरीले उनलाई निजी मोटरसाइकलमै प्रहरी कार्यालय जान दिएको थियो ।