Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हरिप्रभा खड्गी उपमेयर, काठमाडौं महानगरपालिका
नुनुता राई
२०७५ माघ २६ शनिबार ०९:५७:००
Read Time : > 3 मिनेट
फिचर

मेरो लक्ष्य राष्ट्रपति हो : हरिप्रभा खड्गी

Read Time : > 3 मिनेट
नुनुता राई
२०७५ माघ २६ शनिबार ०९:५७:००

 आफैँप्रति गर्व लाग्छ
ऐनाअगाडि उभिँदा जिम्मेवारीबोध हुनुका साथै अहिलेसम्म गरेका कामको समीक्षा गर्छु । बिहान उठेपछि दिनभरको जिम्मेवारी सम्झेर, योजना बनाएर घरबाट निस्कन्छु । साँझ घर फर्केपछि दिनभर आफूले गरेका काम सम्झन्छु, समीक्षा गर्छु । आफ्नो जिम्मेवारी पूरा गर्नेक्रममा कसैको चित्त पो दुखाएँ कि भनेर सम्झन्छु । 

ऐनाअघि उभिएर आफूले आफूलाई ढाँट्न सकिँदैन । त्यसैले आफ्नो गल्ती सुधार्ने अथवा जिम्मेवारीबोध गराउने भनेकै ऐना हो । भनिन्छ, कुकर्म गर्नेले ऐनाअघि उभिएर आँखा जुधाउन सक्दैन, हाँस्न सक्दैन । सत्कर्म गर्नेले ऐना हेरेर केवल खुसी हुन्छ । कुकर्म र सत्कर्म हामीले हेर्ने ऐनाले बोल्छ । त्यसैले ऐना हरेक मानिसले हेर्नुपर्छ । अनुहारको सुन्दरताभन्दा पनि आत्मिक सौन्दर्य हेर्नका लागि ऐना नै हेर्नुपर्छ । ऐनाअघि उभिएर आँखा जुधाएर भन्न सक्छु, मैले आजसम्म गलत गरेकी छैन । यसमा मलाई आफैँप्रति गर्व लाग्छ ।

 अडान लिन सक्छु
म कुनै पनि निर्णय लिँदा होस् वा काम गर्दा एकदम सोचेर गर्छु, जसका कारण मलाई अडान लिन सक्ने आत्मबल आउँछ । हाम्रो सम्पदाको सूचीमा परेको रानीपोखरी निर्माण आधुनिक तरिकाले गरिँदै थियो । त्यो हाम्रो सम्पदा भएकाले त्यसको मौलिक सुन्दरता संरक्षण गर्नुपर्छ भनेर मैले अडान लिएकै कारण मौलिक सुन्दरताअनुरूप नै निर्माण हुने भएको छ । 

अर्को बौद्घ स्तुपा, जुन धार्मिक महत्व  बोकेको अर्को सम्पदाको सूचीमा परेको ठाउँ हो । त्यहाँ पनि गएर अनावश्यक झिलिमिली नबनाउन अनुरोध गरेँ । त्यो स्तुपा आफैँमा सुन्दर छ । स्थानीयहरूसँग बसेर छलफल गरेपछि ती सबै चिज हटेका छन् । त्यस्तै, पशुपतिक्षेत्रको विश्वरूपामा कंक्रिट र हात्तीपाइला राखिसकिएको थियो । पशुपति विकास कोषका सचिवसँग बसेर छलफल गरेपछि काम रोकिएको छ र त्यहाँको पनि मौलिक सुन्दरता कायम हुने गरी निर्माण गर्ने सहमति भएको छ । सम्पदा संरक्षणमा मेरो विशेष अडान हुने गरेको छ । जनताले मलाई समाजका लागि, देशका लागि, जनताका लागि काम गर्न रोज्नुभएको हो । मेरो बुताले भ्याएसम्म गरिरहेकी छु । यी मात्रै होइनन्, हरेक काममा मेरो सकारात्मक अडान हुन्छ । 

 देशप्रतिको दायित्व पूरा गर्दै छु
जीवनमा खानु–लाउनु ठूलो कुरा हैन । एउटा नागरिक भएर जन्मिसकेपछि देशप्रति निभाउनुपर्ने दायित्व पनि त पूरा गर्नुपर्छ ! धेरै गर्न नसकिएला, तर गर्न सक्नेजति अथवा केही न केही त गर्नैपर्छ भन्ने मान्यता राख्छु । यही मान्यताले एउटा नागरिकको हैसियतले आफ्नो देशप्रतिको दायित्व पूरा गर्न राजनीतिमा लागेकी हुँ । आफू मरेर जाँदा जन्मेको माटोमा केही कर्म गरेर जाऊँ भन्ने सोचले आफूले सक्नेजति काम गरिरहेकी छु । 

 लक्ष्य लिएर अगाडि बढेकी छु
जीवनमा जो–कोही लक्ष्य लिएरै अगाडि बढिरहेका हुन्छन्, लक्ष्यमा पुग्नु–नपुग्नु अलग हो । प्रयास गरिरहने मानिस नै सफल हुने हो । प्रयास नै नगर्ने मानिस न सफल हुन्छ, न असफल । अबको पाँच वर्षपछि महानगरपालिकाबाट निस्कँदा सफल उपमेयर भएर निस्कनु छ, आफूले पाएको अधिकारको प्रयोग गरेर जनता एवं देशको हितका लागि काम गर्छु । 
त्यसपछि भोलिको लक्ष्य भनेको राष्ट्रपति हो । सफल हुन्छु–हुँदिनँ थाहा छैन, तर राष्ट्रपति हुने लक्ष्यका साथ अगाडि बढिरहेकी छु । विभिन्न आन्दोलनमा हातेमालो गर्दै सँगै हिँडेकी दिदी विद्यादेवी भण्डारी राष्ट्रपति बन्न सक्नुहुन्छ भने म किन नसक्ने ? यही विश्वासका साथ राष्ट्रपति हुने सपना बोकेर काम गरिरहेकी छु । 

 ‘एस मेन’ बन्न तयार छैन 
म जनताको अमूल्य भोट पाएर उपमेयर भएँ । म उपमेयरमा ‘एस मेन’ बन्न आएको होइन । अहिलेको संविधानले उपमेयरलाई चारवटा अधिकार दिएको छ । न्यायिक समिति, राजस्व समिति, बजेट तथा तर्जुमा समिति र अनुगमन समितिको नेतृत्व । तर, यी अधिकार पर्याप्त छैनन् । जबसम्म उपमेयरलाई बजेट चलाउने अधिकार दिइँदैन, तबसम्म ‘एस मेन’ बनिरहनुपर्ने अवस्था छ । यसका कारण कतिपय एजेन्डामा काम गर्नुप-यो भने उपमेयरसँग सल्लाह पनि गर्दैनन् मेयरहरू । केही गर्नका लागि प्रस्ताव ग-यो भने ‘तपाईंलाई जे अधिकार दिइएको छ, त्यो मात्र गर्नुहोस्’ भनिन्छ । यदि उपमेयरलाई पनि संविधानले नै पूर्ण अधिकार दिएको भए आफ्नो क्षमताअनुसारको काम गर्थें होला । यो मलाई एकदम खड्केको विषय हो । यो परिपाटी सुधार गरेर सहज तरिकाले जानुपर्छ भनेर बारम्बार भन्दै आएकी छु । 

विभिन्न आन्दोलनमा हातेमालो गर्दै सँगै हिँडेकी दिदी विद्यादेवी भण्डारी राष्ट्रपति बन्न सक्नुहुन्छ भने म किन नसक्ने ? यही विश्वासका साथ राष्ट्रपति हुने सपना बोकेर काम गरिरहेकी छु । 

 महिलालाई ढोका  नाघेर निकाल्ने प्रयास
अहिले पनि महिला आर्थिक रूपमा आत्मनिर्भर नभएकै कारण घरबाहिर निस्कन सकिरहेका छैनन् । यसकारण काठमाडौं महानगरपालिकाले ‘गृहिणी बजेट’ भनेर छुट्याएको छ । यसबाट महानगरपालिकाका हरेक वडाका महिलालाई सीपमूलक तालिम तथा प्रशिक्षण दिइरहेका छौँ । यसले उनीहरूलाई आर्थिक उपार्जन गर्न सहयोग पुग्नेछ । गृहिणी महिला भान्सा गरेर बचेको समयलाई उपलब्धिमूलक बनाउन सक्षम होऊन् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको छ । यो उनीहरूका लागि सुनौलो अवसर हो । सर्टिफिकेट लिएर घरको भित्तामा झुन्ड्याउने महिला होइन कि, त्यो सीप साँच्चिकै आर्थिक उपार्जनको स्रोत बन्न सकोस्, अथवा उद्यमी बन्ने सोचका साथ आउने महिलाका लागि भनेर काम सुरु गरिसकेका छौँ । अहिले हामी महिलालाई ढोका नाँघेर निकाल्ने प्रयास गरिरहेका छौँ, जुन पहल मैले सुरु गरेकी हुँ ।

 इमानदारीका साथ  काम गरिरहेकी छु
छोराछोरी विदेशमा हुने जनप्रतिनिधिले काम गर्दैनन् भन्ने पनि यदाकदा सुन्ने गरेकी छु, जुन एकदम गलत बुझाइ हो । त्यहाँ उनीहरू कति दुःख गरेर बसेका छन् भनेर सबै आमाबुबा अवगत छन् । आफ्ना सन्तान आफूभन्दा टाढा रहेर दुःख गरून् भन्ने कुनचाहिँ नेपाली आमाबुबा होलान् ? उनीहरूलाई फर्काउनका लागि झनै इमानदारीका साथ काम गर्छन् भन्ने लाग्छ । यो मेरो पनि भोगाइ हो । उनीहरूको योग्यताअनुसारको रोजगारी सिर्जना गर्न सक्यौँ भने अधिकांश युवा देश फर्कन्छन् भन्ने लाग्छ । 

मेरा पनि छोराछोरी पढ्न विदेश गएका छन् । उनीहरू फर्कन चाहन्छन् । उनीहरू फर्कने वातावरण बनाउनका लागि मैले इमानदारीका साथ काम गर्नुपर्छ । म मेरा छोराछोरी मात्रै होइन, विविध बाध्यताले बिदेसिएका सबै नेपाली फर्किऊन् भन्ने चाहन्छु । र, अबको स्थायी सरकारले यस दिशामा काम गर्छ भन्ने आशा राख्छु । 

युवाहरू पलायन हुनबाट बचाउनका लागि उद्योग, कलकारखाना सञ्चालनमा ल्याउनुपर्छ । वैदेशिक रोजगारीमा गएका अथवा पढ्न गएका युवालाई फर्काउनका लागि, रोजगारी दिनका लागि हामी जनप्रतिनिधिले इमानदारीका साथ काम गर्नु जरुरी छ । त्यही सोचले म इमादारीका साथ काम गरिरहेकी छु । सबैले आफ्नो जिम्मेवारीप्रति इमानदार भइदिने हो भने सबै नेपालीलाई स्वदेश फर्काउन सम्भव छ । 

तस्बिर : विनोद विष्ट